वैदेशिक हस्तक्षेपका विरुद्ध आठ दल र पाँच संघ–संस्थाको विरोधसभा सम्पन्न (फोटोफिचर)

प्रकाशित मिति : २०७६ माघ १०

- अनु निरौला


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालसहित आठ दल र पाँच संघ संस्थाले वैदेशिक हस्तक्षेपका विरुद्ध विरोध सभा सम्पन्न गरेका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा मसाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, नेकपा (संयुक्त), सर्वहारा नेकपा (माओवादी) र संघ संस्थाहरुमा एमसीसी सम्झौता खारेज अभियान, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय पुनर्जागरण अभियान, राष्ट्रिय जागरण परिषद् नेपाल, कर्णाली बचाउ अभियानले संयुक्त रुपमा आयोजना गरेको सभालाई आयोजक दल र संघ संस्थाका नेताहरुले सम्बोधन गरेका थिए ।

नेपाली भूमि कब्जाको विरोध तथा एमसीसी सम्झोता खारेजी निम्ति आयोजना गरेको सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले)का महासचिव सीपी मैनाली, नेकपा (माके)का अध्यक्ष गोपाल किराती, नेकपा (संयुक्त)का नेता चन्द्रदेव जोशी, एमसीसी खारेज अभियानका संयोजक नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, राष्ट्रिय जागरण परिषद् नेपालका नेता हेमन्त सेढाई, कर्णाली बचाउ अभियानका भरतबहादुर शाही, सर्वहारा नेकपा (माओवादी)की संयोजक भावना विद्रोही लगायतले भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका अतिक्रमित भूमि फिर्ता गराउनुपर्ने तथा राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नेपालमा हस्तक्षेप बढेर गएको भन्दै वक्ताहरुले राष्ट्रिय स्वाधीनताको लागि दलभन्दा माथि उठेर वृहत् राष्ट्रिय एकता कायम गरी वृहत् राष्ट्रिय राजनीतिक आन्दोलन उठानका निम्ति जोड दिएका थिए । नेता चन्द्रदेव जोशीको अध्यक्षतामा सम्पन्न भएको विरोध सभाको सञ्चालन नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले गरेका थिए ।