काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले शैक्षिक माफियाहरुका विरुद्ध प्रतिरोध संघर्ष गर्ने निर्णय गरेको छ । माघ ७ र ८ मा सम्पन्न संगठनको केन्द्रीय समितिको बैठकले शिक्षा क्षेत्रमा भएका तमाम विकृति र शैक्षिक माफियाहरुका विरुद्ध प्रतिरोध संघर्ष गर्ने निर्णय गरेको संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलको विशेष उपस्थितिमा बसेको बैठकले पार्टीको चार महिने अभियानसँगै जोडेर संगठन विस्तार तथा प्रतिरोधको आन्दोलनलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ ।
राष्ट्रिय स्वाधीनता र शैक्षिक माफिया विरुद्धको आन्दोलनलाई सँगसँगै अगाडि बढाउँदै संगठन सुदृढिकरण तथा विस्तारलाई पनि जोड दिने निर्णय गरेको बताइएको छ ।
भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ताको मागसहित एमसीसी खारेजीको अभियान तथा आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुने निर्णय गरेको छ ।
बेठकले फागुनमा हुुने स्ववियु निर्वाचन पनि उपयोग गर्ने निर्णय गरेको छ ।