काठमाडौं । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादी शक्तिले नेपालको राष्ट्रिय स्वाधीनतामाथि ठाडो हमला गरिरहेको चर्चा गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले त्यसका विरुद्ध सशक्त प्रतिरोधमा उत्रन सच्चा देशभक्त तथा क्रान्तिकारी शक्तिलाई सार्वजनिक आव्हान गर्नुभएको छ । देशभक्त जनणतान्त्रिक मोर्चा, नेपाल लगायत ८ दल र पाँच विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा शुक्रबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो आव्हान गर्नुभएको हो ।

भारतीय विस्तारवादले नेपालको ७१ ठाउँमा सीमा अतिक्रमण गरेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष गजुरेलले भन्नुभयाे, “भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र गाभिनु नेपालको नेपालको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो हमला हो ।” लामो समयदेखि भारतीय विस्तारवादले गरिरहेको हस्तक्षेपका कारण संकटमा पर्दै आएको नेपालको राष्ट्रिय स्वाधीनता अमेरिकी साम्राज्यवाद नेपालमा सैन्य क्याम्प नै खडा नै गर्ने योजनाका साथ एमसीसी लिएर आएपछि स्वाधीनतामाथि गम्भीर संकट उत्पन्न हुन पुगेको विश्लेषण गर्दै अध्यक्ष गजुरेलले भन्नुभयाे, “एमसीसी सदनबाट पास गरियो भने नेपाल रणभूमिमा परिणत हुन्छ, नेपाल नै नहरने स्थिति पैदा हुन सक्छ ।” नेता गजुरेलले एमसीसी कुनैपनि हालतमा पास गर्न नदिन पनि सांसदहरुलाई आव्हान गर्नुभयाे ।

नेपालै नरहे हामी कहाँ रहन्छौं भन्ने गम्भीर प्रश्न गर्दै अध्यक्ष गजुरेलले नेपालका दलाल शासकहरुका कारण नेपालै गुम्ने खतरा पैदा भएकोले देशको स्वाधीनता रक्षाका लागि सच्चा देशभक्त तथा क्रान्तिकारी शक्तिहरु एकजुट भएर सडकमा उत्रनु पर्ने आवश्यकतामाथि जोड दिनुभयाे । नागरिक स्तरबाट समेत नक्सा जारी गरेर सरकारलाई आफ्नो देशको नक्सा जारी गर भनेर दबाब दिंदा पनि सरकारले नक्सा जारी नगरेको प्रसंग कोट्याउँदै नेता गजुरेलले भन्नुभयाे, “आफ्नो देशको नक्सा समेत जारी गर्न नसक्ने कस्तो लाछी र दलाल सरकार हो यो ?। देशको जमिनको रक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिक अधिकार छैन ।”

विरोधसभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरुले पनि राष्ट्रिय स्वाधीनताका लागि एकताबद्ध भएर प्रतिरोध आन्दोलन उठाउन गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका दिनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार