काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) लगायत नाै दलले देशव्यापी रुपमा राष्ट्रिय स्वाधीनताकाे संघर्ष चर्काउने सहमति गरेका छन् । राष्ट्रिय स्वाधीनताकाे मुद्दामा कार्यगत एकताकाे घाेषणा गर्दै नाै दलले आगामी माघ २४ गते काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने घाेषणा गरेका छन् । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने समेत जनाइएकाे छ । बैठकले कार्यगत एकतासम्बन्धी आचार संहिता समेत बनाएकाे जनाइएकाे छ ।

शनिबार नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेकाे बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न जारी गरिएकाे संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएकाे छ । वक्तव्यमा घोषित सङ्घर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील समेत गरिएकाे छ ।

यस्ताे छ वक्तव्यकाे पुर्णपाठ

संयुक्त प्रेस वक्तव्य

१. भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापनी, लिपुलेक क्षेत्र समेतको भूमि अतिक्रमण भएको र अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध सङ्घर्ष भइरहेको स्थितिमा उक्त सङ्घर्षका कार्यक्रमहरूलाई व्यापक र सशक्त बनाउन २०७६ माघ ११ गते तपशीलमा उल्लेखित राजनीतिक दलहरूको बैठक नेकपा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहको अध्यक्षतामा बस्यो । यो बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ । घोषित सङ्घर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील गर्दछौँ ।
२. नेपाल–भारत सीमा क्षेत्रमा भारतले कैयौँ ठाउँहरूमा नेपाली भूमि अतिक्रमण गरेको छ । पछिल्लो समयमा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको क्षेत्र भारतले आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा जारी गरेको छ । त्यसका विरुद्ध देशका सबै राजनीतिक शक्ति, सङ्घ–संस्था र जनसमुदाय समेतले राष्ट्रिय एकता प्रदर्शन गरी उक्त अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई आह्वान गरे । तर, सरकारले उक्त भूमि फिर्ता गराउन प्रभावकारी कदम चालेन र अतिक्रमित भूमिलाई समावेश गरी नेपालको नक्सा जारी गर्न समेत सकेको छैन । उक्त अतिक्रमित भूमि फिर्ता गराउनका लागि व्यापक र सशक्त सङ्घर्ष गर्न हामी सहमत भएका छौँ ।
३. अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अङ्गको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध छ । उक्त सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्दछौँ । उक्त सम्झौतालाई संसदबाट अनुमोदन नगर्न आह्वान गर्दछौँ । सबै देशभक्त जनसमुदायहरूलाई उक्त एमसीसी सम्झौताको विरुद्ध राष्ट्रिय एकताको लागि सङ्घर्ष गर्न आह्वान गर्दछौँ ।
४. सङ्घर्षको कार्यक्रम ः आगामी माघ २४ गते हरेक प्रदेशका – काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय भएको छ । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने छ ।
५. बैठकले यो कार्यगत एकतासम्बन्धी आचार संहिता पनि निर्माण गरेको छ ।
सम्बद्ध राजनीतिक दलहरू
१. मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा. (मसाल)
२. मोहन बैद्य (किरण), महासचिव, ने.क.पा. (क्रान्तिकारी–माओवादी)
३. सीपी मैनाली, महासचिव, ने.क.पा. (माले)
४. चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५. सी.पी. गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६. ऋषि कट्टेल, अध्यक्ष, ने.क.पा.
७. गोपाल किराती, अध्यक्ष, ने.क.पा. (माओवादी केन्द्र)
८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
९. महेन्द्र शर्मा, सहसंयोजक, राष्ट्रिय जागरण परिषद्

प्रतिक्रिया

सम्बन्धित खवर