राष्ट्रिय स्वाधीनता र सांस्कृतिक आन्दोलन
– हिरामणि दुःखी

हार्दिक शुभकामना !

आरम्भ ः
यतिखेर देशको राष्ट्रिय स्वाधीनता अझ बढि गम्भीर संकटबाट गुज्रिएको छ । नागरिकहरूको सर्वोच्चतामाथि बलात् आक्रमण गरिएको छ । शान्तिपूर्ण तरिकाले सभा, जुलुस र नाराबाजी गरेर सरकारका गलत कृयाकलापका विरुद्धमा सडकमा उत्रेका निहत्था जनतामाथि लाठि र बुट बर्साएर सरकारले निरङ्कुसतन्त्र प्रदर्शन गरेको छ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतामाथि कडा कानून बनाएर जनताको मौलिक हक खोस्दै छ । यसले पञ्चायती निरङ्कुशताको स्थान ग्रहण गर्दै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र सामाजिक फासिवादमा रूपान्तरित भएको छ । कम्युनिस्ट नामको सरकारले किसानलाई भोकै र नाङ्गै तड्पाई तड्पाई मृत्युतर्फ धकेल्छ र दलाल, माफियाखोर किसानका श्रम पसिना लुटेर डकारेका उद्योगीहरूलाई संरक्षण दिन्छ, अनुदान दिन्छ । राष्ट्रिय उद्योग तथा ब्यापारिक संस्था ०४६ पछिका सरकारहरूले कमिसन खाएर दलालहरूलाई बेचेर समाप्त पारेकै थिए । कथित कम्युनिस्टको सरकारले कम्तिमा रोजगार सिर्जना गरेर लाखौँ युवाहरूलाई श्रममा लगाउनुको साटो अझ नयाँ नयाँ देशमा श्रमसम्झौता गरेर दिनहुँ हजारौँ युवाहरूलाई विदेश लखेटेर समृद्धिको डिँग हाँक्छ । अर्थतन्त्रको मुख्य हिस्सा उत्पादनलाई बनाउनु पर्नेमा पर्यटनलाई बनाएर बीसलाख पर्यटक भित्र्याएर देशको अर्थतन्त्र उकास्ने स्वैरकल्पनामा रमाउँछ । साँच्चिकै पर्यटक भित्र्याउने हो भने राष्ट्रको पहचिानलाई पर्यटक आगमन हुने देशमा गएर प्रचारप्रासर गर्ने र आकर्षण पैदा गर्नु पर्नेमा करोडौँ ढुकुटी रित्याउँदै भोज भण्डारा लगाएर पर्यटनवर्षको उद्घटन गर्छ ।


एकातिर भारतीय विस्तारवादले देशको सीमा मिचेर भूगोल नै आफ्नो नक्सामा पारेर स्वाधीन नेपालको सीमा कब्जा गर्दा पनि सरकार चुपचाप सहेर बस्छ र जनस्तरबाट त्यसको विरोध हुँदा बिरोध गर्नेहरूलाई प्रहरी दमन गरेर झुट्ठा मुद्दा लगाएर जेल कोच्दै विस्तारवादको भाक्तिभाव देखाउँछ । साम्राज्यवादी अमेरिकाले हाकाहाकी भविश्यमा सैन्य अखडा राख्ने नियोजित उद्धेश्य सहितको योजनालाई संसदबाट पास गराएरै छाड्ने घोषणा सरकार र सरकारी पार्टीले गरेको छ । यसरी पर्दापछाडिबाट विस्तारवादी र साम्राज्यवादी नङ्ग्राले सिंहदरवार, बालुवाटार, धुम्बाराही हेडक्वार्टरलाई मुट्ठीभित्र गजेटेर राखेको छ । सरकार कथित राष्ट्रवादको दौरासुरुवाल र टोपीमा सजिएर प्रभुहरूको मिसन पूरा गर्न ज्यान फालेर कस्सिएको छ । तात्कालिन राजा महेन्द्रले २०१७ सालको शाहीकाण्ड मञ्चन गरेपछि भारत सरकारले राजाको कदमलाई वैधता दिएर पञ्चायत स्वीकारिदिनु पर्ने र नेपालले कालापानीमा भारतीय सेनाको चेकपोष्टका लागि जमिन उपलब्ध गराउने सहमति बमोजिम तैनाथ भएको भारतीय सेनाले नेपाली भूमि कहिल्यै छोडेन र त्यस यता परिवर्तन भएका भनिएका नेपाली सरकार कसैले पनि कालपानीबाट भारतीय सेना फिर्ता गराउन भारत सरकारसँग पहल नै गरेनन् । बरु भारतीय सरकारको तावेदारी गर्ने, दलाली गर्ने राष्ट्रिय स्वाधीनतालाई नै दाउमा राखेर आफ्नो कुर्सी बचाउने खेलमा लागि नै रहे ।

हामीले धेरै ठूलो बलिदानी गरेर राजतन्त्र त ढाल्यौँ तर यतिबेला श्रीपेच बिनाका नयाँ राजाहरू जन्मिन थालेका छन् । गाउँगाउँमा नयाँ जिमुवाल, मुखिया र सामन्तहरू पैदा भएका छन् । उनीहरूले जनतालाई फेरि सैनिक बुटमुनि कुल्चेर शासन गर्न चाहन्छन् । विगतमा जनताले त्यति ठूलो त्याग र बलिदानी गरेर सङ्घर्ष गर्नुको तात्पर्य नयाँ सामन्त र नयाँ राजा जन्माउनलाई थिएन ।

उता भारतीय शाषकवर्गबाट दिनदिनै सीमा मिचिएको मिचियै छ । जङ्गे पीलरहरू दिनदहाडै भत्काइन्छन् र माथिमाथि सारिन्छन् । हाम्रो राष्ट्रिय अस्मितामाथि विस्तारवादले दाह«ा नङ्ग्रा गाडेको गाड्यै छ । दिनहुँ चिथोर्छ र हाडमासु लुछिरहन्छ । सीमाक्षेत्रमा बसेका जनताले सीमा रक्षार्थ ज्यानको बाजी लगाएर दिनहुँ अतिक्रमणकारीहरूको आक्रमण, लुट, डकैतीको सामना गर्नु परिरहेको छ । राष्ट्रिय स्वाधीनताको विषय सीमामा मात्रै सीमित छैन र हुँदैन । देशको राजनीति, भाषा, संस्कृति, अर्थनीति, विकासका पूर्वाधार, देशको नियम कानूनसँग पनि जोडिएको हुन्छ । अमेरिकी योजना एमसिसि पनि यतिवेला राष्ट्रिय स्वाधीनताकै विषयसँग जोडिएर आएको छ । यो पृष्ठभूमिमा राष्ट्रिय स्वाधीनताको लडाइँसँग सांस्कृतिक आन्दोलनको अर्थ र औचित्य प्रष्ट पार्नु आवश्यक छ ।

राष्ट्रिय स्वाधीनताको प्रश्न ः
हरेक देशका निम्ति स्वाधीनताको प्रश्न अत्यन्तै जटील र संवेदनशील बनेको हुन्छ । स्वाधीनताको विषयलाई कार्ल माक्र्सले यसरी प्रस्ट्याउनुभएको छ– ‘कुनै प्राणीले स्वयम् आफूलाई स्वाधीन त्यो वेला ठान्दछ जब ऊ आफ्नै खुट्टामा उभिएको हुन्छ । ऊ त्यो वेला आफ्नो खुट्टामा उभिएको हुन्छ, जब ऊ स्वयम् आफ्नो अस्तित्वप्रति स्वनिर्भर रहेको हुन्छ । त्यो मानिस जो अरूको कृपाद्वारा जीवित रहेको हुन्छ त्यसले आपूm स्वयम्लाई पराधीन ठानेको हुन्छ ।’ अहिले हाम्रो देशको स्थिति ठिक यही भनाइसँग तादात्म्यता राखेको छ । हामीले आफ्नो सरकार र सत्ता सञ्चालन आफ्नै बलबुता र आफ्नै वुद्धिद्वारा चलाउन किन सकिरहेका छैनौँ ? यहाँसम्म कि हामीले आफ्नो देशको संविधान समेत आफ्नै स्वतन्त्र पहलमा निर्माण गर्न सकिरहेका छैनौँ । अन्तरिम संविधान निर्माण गर्नेवेला संविधानका धाराहरूमा के के राख्ने ? कहाँ कहाँ कमा वा पूर्णविराम राख्ने भन्नेसम्मका कुराहरूमा भारतीय शासकवर्गको कुटनीतिक दवावको सामना गर्नु प¥यो । आखिर त्यसो किन भयो ? किनकि नेपालका सबै संसदवादी राजनीतिक दलहरूमा भएको भारतीय विस्तारवादी शासकवर्गप्रतिको आत्मसमर्पणवादी रबैयाको कारण थियो ।

संविधान भनेको राष्ट्रिय राजनीति र संस्कृति निर्माणको मेरुदण्ड हो । त्यसैले संविधान कस्तो बनाउने, कुन वर्गीय संस्कृतिअनुरूप बनाउने, कस्तो राजनीतिक एवम् सांस्कृतिक सत्ता निर्माण गर्ने चरित्रको बनाउने भन्ने कुराले नै हाम्रो राष्ट्रिय स्वाधीनताको प्रश्न हल गर्दछ । कथित संविधानसभाबाट लेखिएको संविधान पनि नेपालका जनताको संविधान बन्न सकेन । सत्तासीन वर्गका सीमित नेताहरूको सत्तास्वार्थ अनुसारको बन्यो । यथास्थितिवादी, पश्चगामी तथा दलाल नोकरशाही वर्ग र कम्युस्टि क्रान्तिकारीहरूका बीच भएको अहिलेको सङ्घर्ष ठिक यही विन्दुमा आएर चलेको छ । यदि नेपाली जनताले माओवादीको नेतृत्वमा भएको जनयुद्ध र त्यसैको जगमा भएको १९दिने जनआन्दोलनहरूमा बगाएको दसौँ हजारको वलिदानी, त्याग र उत्सर्गको प्रतिफलमा जनताले स्वाधीन बन्ने जनसंविधान निर्माण गर्न पाएनन् ।

हामी स्वाधीन रूपले अघि बढ्न नसक्नुको मुख्य कारण भनेको हाम्रो राष्ट्रमाथि थोपरिएको सबै असमान सन्धि सम्झौताहरू हुन् । हाम्रो देश सुगौली सन्धिदेखि नै पराधीन बनेको छ । जुन सन्धिका कारण हाम्रो विशाल नेपालको भू–भाग नै गुमेको छ । यही सन्धि र यसपछिका सबै सन्धिहरूमा हाम्रा नदीनाला, वनजङ्गल, खानि खनिज लगायतका प्राकृतिक साधन श्रोतहरूको निर्वाध रूपमा हामीले उपभोग गर्न नपाउने कुरा उल्लेख हुनुले हामी पराधीन बन्न गएका हौँ । त्यसैगरी हाम्रो राष्ट्रिय सुरक्षासमेत भारतीय विस्तारवादको पोल्टामा रहनुले हामी असुरक्षित पनि त्यत्तिकै छौँ । हामीले आफ्नो देशमा ठूला ठूला राष्ट्रिय औद्योगिक प्रतिष्ठानहरू खोल्नेदेखि प्राकृतिक साधनश्रोतहरूको उपयोग गर्नका लागि पनि भारतको अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै राष्ट्रको सुरक्षाका निम्ति केही गर्नु प¥यो भने पनि भारतको स्वीकृति विना केही गर्न पाउँदैनौँ । यस्तो भएपछि हामी कसरी स्वाधीन बन्न सक्छौँ ? यो सबै हाम्रो आफ्नै देशका शासकवर्ग र राजनीतिक दलहरूको आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा भएको हो । हाम्रा सत्ताधारीवर्गले आफ्नो सत्ता टिकाउन आफ्नो राष्ट्रलाई नै बन्दकी राखे । सुगौलीसन्धि तात्कालिन शासकहरूले आफ्नो कुर्सी बचाउका लागि हजारौँ जनताले वृटिश कम्पनी सरकारको हस्तक्षेपका विरुद्ध बगाएको रगत–पसिना, त्याग, वलिदानको अवमूल्यन थियो । जब हाम्रो मुलुकले यो सन्धिमा आफ्नो राष्ट्रियता गुमाउनु प¥यो त्यसपछि अहिलेसम्म पनि भारतीय शासकवर्गको नेपालप्रति कूदृष्टि रहिआएको छ । नेपाल–भारतबीच भएका सबै सन्धि सम्झौताहरूमा नेपालले आफ्नो राष्ट्रिय अश्मिता गुमाउँदै आएको छ ।
२००७ साल अघि नेपाली जनताले गरेको विद्रोह तात्कालिन निरंकुश सत्ताका विरुद्ध मात्र केन्द्रित भयो । त्यस यता जब नेपालमा विधिवत रूपमा राजनीतिक पार्टीहरू खुले र उनीहरूको नेतृत्वमा सङ्घर्षको थालनी भयो तब राष्ट्रियता र जनतन्त्रको विषयमा मतभेदहरू देखा प¥यो । राष्ट्रियताको मुद्दा उठाउँदा राजतन्त्रको समर्थन गर्न पुग्ने र जनजीविकाको कुरा उठाउँदा भारतीय विस्तारवादको चाकडि गर्न पुग्ने स्थिति देखा प¥यो । यसले नेपालका वामपन्थी पार्टीहरूलाई पनि अछुतो राखेन । नेपाली काङ्ग्रेस त झन् भारतीय शासकहरूको छत्रछायाँमा हुर्केको र उसैबाट निर्देशित भएकाले यो पार्टी विशेषतः भारतीय दलाल नै हो । नेपाली काङ्ग्रेस किन पनि भारतीय दलाल हो भने यो पार्टीका नेताहरूले नेपालका ठूला नदीहरूलाई भारतलाई सुम्पनुले पुष्टि गर्दछ । जस्तो कि मातृका कोइराला प्रधानमन्त्री हुँदा कोशी बेचे, विपि कोइराला प्रम हुँदा गण्डकी बेचे भने गिरिजाले महाकाली बेच्न पुगे । यी तीनै जना नेपाली काङ्गेसका शिर्ष नेता भएरै प्र.म. भएका थिए । यसरी राष्ट्रियता र जनतन्त्रलाई एकअर्काबाट अलग राख्ने प्रवृत्तिले गर्दा हाम्रो स्वाधीनता झन्झन् खतरामा पर्दै गयो । कम्युनिस्ट नामको तात्कालिन एमाले, माओवादीको प्रचण्ड बाबुराम गुट हुँदै अहिले यी दुबै पार्टी मिलेर बनेको डबल नेकपा समेत राष्ट्रघातमा सामेल भयो ।

कार्ल माक्र्सले भन्नुभएझैँ हामी स्वाधीन हुन नसक्नुको कारण हामीले आफ्नै खुट्टामा उभिएर आफ्नो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिरहेका छैनौँ । हामी आत्मनिर्भर हुन यसकारण सकिरहेका छैनौँ कि हाम्रा देशका अहिलेसम्मका सत्ताधारी वर्ग (जसमा राजतन्त्र पनि)मा सत्ता स्वर्थका निम्ति विदेशी शक्तिहरूको दलाली गर्ने संस्कृति मौलायो । नेपालका सबै राजनीतिक पार्टीहरूमा विशेषतः भारत र अमेरिकी शासकवर्गको कृपामा वाँच्ने प्रवृत्ति रह्यो ।
अहिले नेपालमा राजनीतिक सत्ताको उपरी संरचना वदलिएको छ । तर यसको आधार जस्ताको तस्तै छ । त्यो आधार भत्काउनका लागि हामीले सचेततापूर्वक नयाँ क्रान्तिको दून्दूभि फुक्नु परेको छ । यतिवेला त्यही राष्ट्रिय मिसनमा हामी सङ्घर्षरत छौँ । फेरी पनि हामीले हाम्रो साम्राज्यवादसँग लडेको र विभिन्न समयमा घरेलु प्रतिक्रियावादसँग लडेको वर्गसङ्घर्षको संस्कृतिलाई अघि बढाउनु पर्ने आवश्यकता छ ।

के हो सांस्कृतिक आन्दोलन ?
समाजमा जहिलेसम्म शोषक–शासकवर्ग र शोषित–शासितवर्ग रहेसम्म वर्गसङ्घर्ष निरन्तर चलिरहन्छ । यो एउटा वर्गले अर्को वर्गलाई पूर्णरूपेण निषेध नगरेसम्म जारी रहन्छ । शोषक–शासकवर्गले आफ्नो सत्तालाई बचाइराख्न चाहन्छ भने शोषित–शासितवर्गले त्यसबाट मुक्त भएर सुन्दर, सभ्य र समुन्नत समाज निर्माण गर्न चाहन्छ । यही आन्दोलन नै सांस्कृतिक आन्दोलन हो । मानिसले संस्कृतिको निर्माण आफ्नो समाजको श्रमकार्यमा आधारित सामाजिक शिक्षा, सङ्घर्ष र अनुभवबाट गर्दछ । त्यसैले सांस्कृतिक आन्दोलनले मात्र समाजमा रहेको पुरानो संस्कृतिको अन्त्य हुन्छ । यो लामो प्रयत्नबाट र निरन्तर सङ्घर्षको प्रकृयाबाट मात्र सम्भव हुन्छ । किनभने संस्कृतिको निर्माण नै मानिसले गरेको श्रमकार्यको लामो प्रकृयाको शिक्षा, सङ्घर्ष र अनुभवबाट गरेको हुनाले त्यसलाई भत्काएर नयाँको पुनस्र्थापना गर्न पनि एउटा लामो प्रकृयाको आवश्यकता हुन्छ । यद्यपि विज्ञान, प्रविधि, शिक्षा, चेतना र विकासको तीव्रताले गर्दा रूपान्तरणको गति पनि तीव्र हुन जान्छ । तथापि त्यसले एउटा निश्चित प्रकृया भने पुरा गर्नै पर्दछ ।

सांस्कृतिक आन्दोलनको अर्थ र औचित्य ः
सांस्कृतिक आन्दोलनको कुरा गर्नुभन्दा पहिले हामीले संस्कृतिको अर्थ बुझौँ । संस्कृति भनेको मानिसको त्यस्तो सचेतन र सामुहिक कृयाकलाप हो, जसले समाजका एउटा ठूलो हिस्साका मानिसद्वारा प्रकृतिका हरेक वस्तुहरूमाथि सोद्देश्य नियन्त्रण कायम गर्दछ । यसर्थ संस्कृति भनेको मानिसको सामुहिक कृयाकलापद्वारा प्रकृतिमाथिको उद्देश्यपरक नियन्त्रण भनेर बुभ्mनु पर्दछ । यहाँ मानिसको श्रमकार्य सन्निहित छ । जहाँ श्रमकार्य छैन त्यहाँ संस्कृतिको निर्माण पनि हुँदैन । यसरी हरेक समाजका मानिसले उत्पादनका साधनहरूमार्फत् उत्पादनसम्बन्धको विकास गर्दछ । र, श्रमकार्यद्वारा विज्ञान, प्रविधि, कला, विचार, आचार, व्यवहार, मूल्य र मान्यताको विकास गर्दछ । त्यो नै उसको संस्कृति बन्दछ । संस्कृतिलाई मानव निर्मित दोस्रो प्रकृति पनि भनिन्छ । यो सङ्घर्षबाट पैदा हुन्छ । स्वाधीन हुन सङ्घर्ष अनिवार्य शर्त हो । यही संस्कृतिका माध्यमबाट त्यो समाजको रूपान्तरण गरिन्छ ।

अब हामी समाज परिवर्तनको कुरा गरौँ । समाज परिवर्तन गर्नासाथ सम्पूर्ण समाज वदलिने वा रूपान्तरण हुने हुन्छ कि हुँदैन ? समाज परिवर्तनको तात्पर्य के हो ? यस विषयलाई बुभ्mनको लागि हामीले समाजका बारेमा बुभ्mनु जरुरी हुन्छ । माथि नै भनि सकिएको छ कि समाज भनेको व्यक्तिको सामूहिक कृया हो । अर्थात् यो उसको सामूहिक जीवन पनि हो । त्यसैले असङ्ख्य मानिसहरू समाजमा एकअर्कामा अन्तरसम्बन्धित भएर रहन बस्न आवश्यक हुन्छ । जस्तो कि मानिसलाई जीउनका लागि खाना, कपडा र बासको न्यूनतम आवश्यकता हुन्छ । त्यसपछि सभ्यताको विकासअनुरूप शिक्षा, स्वास्थ्य र रोजगारको जरुरत पर्दै जान्छ । एकथरी मान्छेले अन्न फलाउँछन् अर्काथरीले पशुचौपाया उत्पादन गर्दछन् । त्यसैगरी एकथरी मान्छेले मानवीय आवश्यकताका अनेकौँ वस्तु उत्पादन गर्छन् भने त्यही समाजका अर्काथरी मान्छेले विनिमय र वितरणको काम गरिरहेका हुन्छन् । यसरी हरेक मानिसको उत्पादनकार्यको सम्वन्ध त्यसको उपभोगसँग जोडिएको हुन्छ । यसरी नै हरेक मानिसको जीवन सञ्चालन भएको हुन्छ । यही सामूहिक रूपबाट हुने मानवीय कृयाकलाप नै संस्कृति बन्दछ ।

समाजमा वस्तु उत्पादनको प्रकृया र उपभोगको प्रकृयाका बीचबाट समाजमा वर्गहरूको जन्म हुन्छ । सामूहिक उत्पादन प्रणालीसँगै सामूहिक उपभोगको प्रणाली विकास भयो भने त्यो समाज उन्नत र वर्गविहीन बन्दछ । जब सत्ताको आडभरोसा लिएर सत्ताका साधनहरू सरकार, सेना, पुलिस, कर्मचारीतन्त्र, अड्डा अदालत र जेल आदिको प्रयोगद्वारा एउटा समुहले अर्को समुहमाथि उपभोग्य वस्तुको वितरणमा भेदभाव कायम गर्दछ तब समाजमा वर्ग जन्मन्छ र त्यो वर्गसँगै संस्कृति पनि दुई वर्गमा विभक्त हुन्छ । एउटा वर्गले लुटेर खाने संस्कृतिको विकास गर्दछ भने अर्को लुटिने वर्गले त्यसबाट मुक्त भएर सामूहिक र समानुपातिक वितरण प्रणालीको विकास गर्न चाहन्छ । यो उसको संस्कृति बन्दछ । यसलाई सर्वहारा संस्कृति भनेर माक्र्स–एङ्गेल्सले परिभाषित गर्नुभएको छ । यसरी दुई भिन्न वर्गको जन्मसँगै संस्कृति पनि दुई भिन्न वर्गीय संस्कृति बन्न पुग्दछ र यो सँगसँगै वल प्रयोगको संस्कृति जन्मन पुग्दछ । त्यसैले अग्रगामी समाज रूपान्तरणका लागि प्रतिगामी र प्रतिकृयावादी वर्गको समाज र संस्कृतिलाई निषेध गर्नु आवश्यक पर्दछ । यतिबेला वैदेशिकहस्तक्षेपका साथसाथै घरेलु शासकवर्गको पराधीन संस्कृतिका विरुद्ध स्वाधीनताको लडाइँ प्रमुख मुद्दा बनेर आएको छ ।
२०७६÷०९÷१७ काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर