आज १२७ औं माओ दिवस : क्रान्तिकारी माओवादीले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै

प्रकाशित मिति : २०७६ पुस १०


आज अर्थात् विश्व सर्वहारा वर्गका महान् नेता माओत्सेतुङको जन्म दिन– २६ डिसेम्बर । आज संसारभरका सर्वहारावर्ग तथा कम्युनिस्ट क्रान्तिकारीहरुले विभिन्न कार्यक्रम गरी कमरेड माओलाई सम्झने र माओले देखाएको बाटोमा हिड्ने प्रण गर्दछन् । विश्वभरि नै आज १२७ औं माओ दिवस मनाइएको छ र नेपालमा पनि नेकपा (क्रान्तिकारी माओवादी) लगायत विभिन्न कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरी माओ दिवस मनाउँदैछन् । क्रान्तिकारी माओवादीले काठमाडौं उपत्यका, चितवन लगायत ७ वटै प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी माओ दिवस मनाइरहेको छ ।

माओ त्सेतुङको २६ डिसेम्बर, १८९३ मा चीनको हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाउँ साओ साङचुङमा भएको थियो । माओत्सेतुङले एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको रणनीति र कार्यनीतिको निक्र्यौल गरे । माओले चिनियाँ समाजको वर्गविश्लेषण, ग्रामीण वर्गसङ्घर्षको सिद्धान्त, माक्र्सवाद, लेनिनवादलाई सिर्जनात्मक रूपले चिनियाँ भूमिमा प्रयोग गरे । र माक्र्सवादको तेस्रो र उच्च चरण (माओवाद)को विकासमा युगान्तकारी योगदान गरे ।
उनले लालसेनाको निर्माण, छापमार युद्ध, गाउँदेखि शहर घेर्ने दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गरे । पार्टी, सेना र संयुक्त राजनीतिक मोर्चालाई क्रान्तिकारी तीन जादुमयी हतियार भन्ने संश्लेषण गरे । क्रान्ति बन्दुकको नालबाट निस्कन्छ भन्ने निष्कर्षसहित चिनियाँ नयाँ जनवादी क्रान्तिको नेतृत्व गरे । मजदूर–किसान एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नुपर्दछ र क्रान्तिको चरित्र नयाँखाले पूँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको नाम दिए र चीनमा सन् १९४९ मा माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।
माओत्सेतुङले माक्र्सवादको तीववटै संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा सार्वभौम सिद्धान्तको विकास गरे । जसलाई ‘माओवाद’को रुपमा रहेको छ । उनका प्रमुख सिद्धान्तहरूमा अन्तरविरोध निरन्तरताबारेको सिद्धान्त, जनयुद्धको धारणा, संयुक्त मोर्चा सम्बन्धी सिद्धान्त, क्रान्तिको साधन, जनताको भूमिकाबारेको विचार, निरन्तर क्रान्तिको सिद्धान्त, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विचार, नौलो जनवादको अवधारणा, दीर्घकालीन जनयुद्ध प्रमुख रहेका छन् ।
विपरीत तत्वको एकताको नियमलाई द्वन्द्ववादको आधारभूत नियमका रूपमा विश्लेषण गरेर उनले माक्र्सवादी दर्शनको क्षेत्रमा द्वन्द्ववादको विकासमा नयाँ आयाम थपेका थिए । उनले पदार्थ र गतिको अन्योन्याश्रित सम्बन्धमाथि भिन्नता र एक अर्कोमा रूपान्तरण हुने तथ्य अगाडि सारेका थिए । हरेक चीजमा विपरीत तत्वको अस्तित्व मात्रै हुने नभएर देश, काल र परिस्थिति अनुसार ती एक अर्कोमा रूपान्तरित हुने कुराबारे जोड दिएका थिए । अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुकहरूमा नयाँ विकसित परिस्थितिको सन्दर्भमा साम्राज्यवादविरोधी र सामन्तवादविरोधी जनवादी क्रान्ति हुने कुराको निक्र्यौल गरेका थिए । उनले त्यसलाई नयाँ जनवादी क्रान्ति भनेका छन् । उनले किसानको क्रान्तिकारी भूमिकालाई पहिचान गरी क्रान्तिमा सफलतापूर्वक प्रयोग र आम जनसमूहको बीचमा रहेर जनयुद्धको सञ्चालन गर्ने नियमको समेत विकास गरेका थिए ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चीनको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा लागू गरेर सर्वहारा वर्गको नेतृत्वमा, मजदूर–किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवादविरोधी विभिन्न वर्ग, तह र तप्कका जनसमुदायको संयुक्त मोर्चा निर्माण गरेर नयाँ जनवादी गणतन्त्रको स्थापना गरेका थिए । माओले प्रगतिशील भूमिसुधार, सहकारी आन्दोलन, महान् फड्को, जनकम्युन सञ्चालन गर्दै समाजवादी क्रान्ति र समाजवादी निर्माणको कार्यलाई अगाडि बढाएका थिए । माओले तेश्रो विश्वको सिद्धान्त प्रतिपादन गरी विकासोन्मुख मुलूकलाई तेश्रो विश्वको मान्यता स्थापित गरेका थिए ।
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । चीन–जापान युद्धपछि चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष नेतृत्व माओका हातमा आयो । चिनियाँ कम्यनिष्ट पार्टीले च्याङकाइसेकका विरुद्ध जनवादी क्रान्तिको नेतृत्व मात्र गरेन, सन् १९३१ देखि १९४५ सम्म जापानका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व पनि गर्यो । माओकै नेतृत्वमा चुनौतिपूर्ण लम्बे अभियान पनि चल्यो ।
माओले सन् १९६० को दशकमा क्रान्तिकारी विचार र समाजवादका पक्षमा रुससँग महान् बहस गरे । सन् १९५६ मा रुसमा ख्रुश्चेभ नेतृत्वमा आएपछि शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण विकास र सहअस्तित्वको एजेण्डा अघि सारे । माओले त्यसको वैचारिक प्रतिवाद गरे । माओका अनुसार माक्र्सवाद र साम्राज्यवाद एकापसमा मिल्न सम्भव नै छैन, एकले अर्कोलाई निलेर मात्र यसबाट निकास निस्कन्छ ।
सन् १९२१ को जुलाईमा संघाइमा माओ लगातार १२ जनाले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । माओ आजीवन चिनियाँ कम्युनिष्ट पार्टीकै सदस्य रहे । माओले दीर्घकालीन जनयुद्धको नेतृत्व गर्दै जापानविरोधी गृृहयुद्ध र च्याङकाइसेक विरुद्धको युद्धपछि सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गरे । सन् १९५६ देखि १९७६ सम्म सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गरे । ९ सेप्टेम्बर १९७६ मा ८२ वर्षको उमेरमा माओको निधन भयो ।