माओ दिवसमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी :  ‘ कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्नै सक्तैैैन”

‘सच्चा माओवादीहरुले संशोधनवादलाई नांगेझार नपारी विश्व सर्वहारा क्रान्तिको विकास असम्भव

प्रकाशित मिति : २०७६ पुस १०

“कथित कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ दृढताकासाथ अगाडि बढ्नुमा नै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ ।”

काठमाडौं । १२७ औं माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले सार्वजनिक वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले बिहीबार एक वक्तव्य जारी गरी सच्चा माओवादीहरुले संशोधनवादलाई नांगेझार नपारी विश्व सर्वहारा क्रान्तिको विकास सम्भव नरहेको उल्लेख गरेका छन् ।

माओ दिवसको अवसरमा विश्व तथा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय, सम्पूर्ण समर्थक तथा शुभचिन्तकप्रति पार्टीको तर्फबाट लालसलाम अर्पण गर्दै महासचिव किरणले आज कनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्नै नसक्ने दाबी गरेका छन् ।

महासचिव किरणले यस ऐतिहासिक अवसरमा विशेष उत्सवका रुपमा माओविदस मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन सबै पार्टीका कमरेडहरुसित अनुरोध गर्दै वक्तव्यमा लेखेका छन्, “यतिबेला नेपालमा साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको छ र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय विस्तारवादले आफ्नो नक्सामा पारेर नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि सिधा हस्तक्षेप गरेको वर्तमान सन्दर्भमा कम्युनिस्ट नामको वर्तमान प्रतिक्रियावादी सरकारले कालापानीबाट भारतीय सेना हटाउन र लिम्पियाधुरा, सुस्ता लगायतका अतिक्रमित भूभाग फिर्ता गर्नका लागि कुटनीतिक पहल बढाउनुको साटो अतिक्रमणको देखावटी विरोध गरेर वास्तवमा भारतीय विस्तारवादको चाकडी गर्न गएको छ भने अर्कोतिर अमेरिकी सैन्य रणनीतिको अंश रहेको एमसीसीलाई सदनबाट पारित गर्ने दुष्प्रयाश गर्दै अमेरिकी साम्राज्यवादका सामु लम्पसार पर्न गएको छ ।
आज विश्वभरि दक्षिणपन्थी संशोधनवादीहरु प्रतिक्रियावादमा पतन भएर नवउदारवादका पक्षपोषक बन्न गएका छन् । यो बेला सच्चा माओवादीहरुले संशोधनवादलाई नाङ्गेझार नपारी विश्व सर्बहारा क्रान्तिको विकास संभव छैन । यस स्थितिमा कथित कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ दृढताकासाथ अगाडि बढ्नुमा नै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ ।”