नेवाः समुदायलाई संघर्षमा लाग्न सफलता मिलोस् भन्दै नेवाः मोर्चाले दियो नेपाल सम्बतको अवसरमा शुभकामना

नेवाः समुदायलाई संघर्षमा लाग्न सफलता मिलोस् भन्दै नेवाः मोर्चाले दियो नेपाल सम्बतको अवसरमा शुभकामना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेपाल सम्बत्लाई राज्यले व्यवहारिक रुपमा राष्ट्रिय सम्बत्को सम्मान र मर्यादा नदिएको भन्दै शासकहरुमा ब्रम्हाणवादी र दास मानसिकता हावी रहेको आरोप लगाएको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले ११४० औं नेपाल सम्बत्को उपलक्ष्यमा शुभकामना वक्तव्य जारी गर्दै भनेका छन्, “ आज नेवाः जाति सबैभन्दा उत्पीडित जातिको रुपमा रहेको छ । आज पुनः उत्पीडनका विरुद्धको आन्दोलन अपरिहार्य बनेको छ । त्यसैले नयाँ वर्ष ११४० को शुभ अवसरमा सबै न्याय तथा समानता प्रेमी जनसमुदाय तथा विशेषतः नेवाः जनसमुदायमा आफ्नो अधिकारका लागि संघर्षमा लाग्न सफलता मिलोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछ ।”

वक्तव्यमा भनिएको छ, “एक सर्वसाधारण नेपाली जनता शंखधर साख्वाःबाट ११४० वर्ष अगाडि तात्कालिन नेपालमा उनले सबै जनताका ऋण तिरेर जनतालाई ऋणबाट मुक्त गरिएको शुभ उपलक्ष्यमा नेपाली धर्तीमा कार्तिक शुक्लप्रतिपदाका दिन सुरु भएको यस सम्बत्को गरिमा ठुलो छ । यसबाट हामी सबैले सिक्न जरुरी छ । यस्तो गौरवपूर्ण नेपाल सम्बत्लाई नेवार जातिको सम्बत् भन्ने आँखाले हेर्नु साम्प्रदायिक र नेपालकै अपमान गर्नु हुनेछ । सरकारले यस सम्बत्लाई राष्ट्रिय सम्बत् र यसका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति भनेर घोषणा गरेको थुप्रै वर्ष भइसक्दा पनि सरकारको यस सम्बत् प्रतिको व्यवहारले राष्ट्रिय सम्बत्को सम्मान र मर्यादा दि छैन । बरु उही चन्द्र शमशेरले शुरु गरेको विक्रम सम्बत्लाई राष्ट्रिय सम्बत्को सम्मान दिइरहेको छ । यो ब्रम्हाणवाद र दास मानसिकताको उपज हो ।”

वक्तव्यमा अगाडि भनिएको छ, “नेपाली जनताको त्याग र बलिदानका वावजुद आज पनि उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ र समुदाय यथावत उत्पीडनमा रहेका छन् र त्यसै गरी देशको राष्ट्रियता, राष्ट्रिय सम्पदा र राष्ट्रिय सम्बत् अपहेलित तथा अपमानित अवस्थामा रहेका छन् । उत्पीडनको पहिचानसहितको संघीतामाथि विश्वासघात गरिएको छ । आज नेवाः जाति सबैभन्दा उत्पीडित जातिको रुपमा रहेको छ ।”
अध्यक्ष श्रेष्ठले नेपाल सम्बत्को अवसरमा नेपाल र नेपाली भाषामा एउटै व्यहोराको छुट्टाछुट्टै वक्तव्य जारी गरी शुभकामना दिएका छन् ।