‘म ओरिजिनल माओवादी होइन’

प्रकाशित मिति : २०७६ कार्तिक ८

मोरङ । सत्तारुढ डबल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् ।
डबल नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको प्रसंग निकाल्दै भने, ‘म पनि ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ ।’
दाहालले एकताको कुरा नटुंगिँदै भण्डारीको हत्या भएको बताए । ‘०४६ सालमा तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको थियो,’ उनले भने, ‘पछि हामीले एकीकरणकै एजेन्डा बनाएर छलफल मिति, कार्यक्रम तय गरी खानेकुराको लिस्टसमेत बनाएका थियौं तर दुर्भाग्य उहाँको हत्या भयो र एकता हुन सकेन ।
‘नपत्याउँदो किसिमले ०६४ सालमा जित्दा कसरी धर्ती छाडिँदो रहेछ र अहंकार कसरी आउँदो रहेछ भन्ने राम्रो अनुभव भइसकेको छ, पूर्वएमालेका साथीहरूलाई पनि ०६४ मा नराम्रो तरिकाले हार्दाको अनुभव छ,’ उनले भने, ‘०७० सम्म आउँदा माओवादी कमजोर भएको र अहिले अपत्यारिलो किसिमले झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको अनुभवसहित पार्टी एकता भएको छ ।’

उनले २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवाद दुवै एउटै भएको बताए । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई नेकपाको पुँजी बनाएर अहिलेको राजनीतिक प्रतिवेदन आएको उनले बताए ।