देजमो केन्द्रीय समितिको बैठक : उपनिर्वाचन बहिस्कार गर्ने प्रस्तावमाथि छलफल जारी

प्रकाशित मिति : २०७६ कार्तिक ३

काठमाडौं । शनिबारदेखि ललितपुरको कुपण्डोल कार्यालयमा जारी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बैठकमा मंसिरमा हुने उपनिर्वाचन बहिस्कार गर्ने एजेण्डामाथि छलफल चलिरहेको छ । वर्तमान सत्ता, व्यवस्था र संविधान जनविरोधी र प्रतिगामी भएको, दलाल तथा नोकरशाही पुजीपति वर्ग र साम्राज्यवादी तथा विस्तारवादीहरुको स्वार्थहरुको मात्र रक्षा कवचको रुपमा रहेको पुष्टि भइसकेकोले मंसिरमा हुने उपनिर्वाचन उपयोग गर्नुको कुनै औचित्य नभएकोले उपनिर्वाचन बहिस्कार गरेर जाने विषयमा छलफल चलिरहेको मोर्चाका एक केन्द्रीय सदस्यले बताए ।
बैठकमा अध्यक्ष सीपी गजुरेलले प्रस्तुत गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने जारी रहेको छ । शनिबार दिउसो सुरु भएको बैठक साँझसम्म चलेर स्थगित भएको थियो । आज विहान ८ बजेदेखि बैठक जारी रहने बताइएको छ । बैठक आजै सम्पन्न हुने र बैठकले लिएका निर्णयहरु सोमबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।
वर्तमान सत्ता तथा व्यवस्थाको पश्चगामी चरित्र र सरकारका राष्ट्रघाती तथा जनविरोधी क्रियाकलापहरुको विरोध तथा भण्डाफोरलाई व्यापक बनाएर लैजाने लगायतका विषयमा पनि मोर्चाको बैठकमा छलफल भइरहेको बताइएको छ ।
मोर्चाले यसअघि भएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको ‘क्रान्तिकारी उपयोग’ गरेको थियो । त्यसै क्रममा जनताको घर घरमा पुगेर वर्तमान सत्ता, व्यवस्था र संविधानबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान नहुने बताउँदै नयाँ जनवादी व्यवस्थाका निम्ति संघर्ष अनिवार्य रहेको सन्देश प्रवाह गरेको थियो । मोर्चाले जनताको संविधानका लागि ‘जनगणतन्त्र’ नै अबको राजनीतिक विकल्प रहेको भन्दै त्यसका लागि संघर्षको अपरिहार्यतामाथि जोड दिंदै आएको छ ।