देजमोले उपनिर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने

प्रकाशित मिति : २०७६ कार्तिक ३


काठमाडौं । कात्तिक २ र ३, २०७६ मा सम्पन्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय समितिको बैठकले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनलाई सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ । मोर्चाको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा सम्पन्न बैठकले वर्तमान सत्ता, व्यवस्था र संविधान जनविरोधी र प्रतिगामी भएको र यो दलाल तथा नोकरशाही पुजीपति वर्ग र साम्राज्यवादी तथा विस्तारवादीहरुको स्वार्थहरुप्रति मात्र बफादार रहेकोले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको मोर्चाका नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा १, प्रदेश सभा ३ र स्थानीय तह ४६ गरी ५० वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको मोर्चाका सचिवालय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए । उनका अनुसार बैठकले जनघात र राष्ट्रघातका विरुद्ध देशव्यापी भण्डाफोर कार्यक्रमसँगै संगठन सुदृढीकरण तथा विस्तारका कार्यक्रमलाई व्यापक बनाउने निर्णय गरिएको छ । मोर्चाले बैठकले गरेका समग्र निर्णयलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले यसअघि पार्टीको पोलिटब्यूरोको बैठकलले गरेको निर्णय अनुरुप बहिस्कार गर्ने निर्णय गरेको हो । पार्टीको असोज १७ को स्थायी समितिको बैठकले बहिस्कार आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो ।

वर्तमान सत्ता तथा व्यवस्थाको पश्चगामी चरित्र र सरकारका राष्ट्रघाती तथा जनविरोधी क्रियाकलापहरुको विरोध तथा भण्डाफोरलाई व्यापक बनाउने, निर्वाचन हुने स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा केन्द्रीत सभाहरु गर्ने, नगरपालिका, गाउँपालिका तथा वार्ड तहका प्रतिनिधिहरुको निर्वाचन हुने ठाउँहरुमा सम्बन्धित जिल्लाहरुले जिल्ला, नगर, गाउँ वा वार्ड स्तरीय विभिन्न जनसभाहरुको आयोजना गर्ने, पर्चा, पोस्टर भित्तेलेखन, घरदैलो लगायतका कार्यक्रमहरु सम्पन्न गर्नका लागि आवश्यक व्यवस्थापन तथा जनपरिचालन गर्ने लगायतका निर्णयहरु समेत मोर्चाले गरेको छ ।

बैठकले वर्तमान सरकारद्वारा भइरहेका राष्ट्रियता, जनतन्त्र तथा जनजीविका विरोधी क्रियाकलाप, महङ्गी, भ्रष्टाचार, विभिन्न खाले विकृति तथा विसङ्गति लगायतका विषयलाई लिएर सशक्त विरोध प्रदर्शन गर्ने लगायतका निर्णयहरु गरिएको मोर्चा बताइएको छ ।

बैठकले एक प्रदेश एक कार्यक्र गर्ने, त्यसमा विशेष कार्यक्रम कास्की २ निर्वाचन क्षेत्रमा गर्ने र मोर्चाको केन्द्रीय मुखपत्र ‘जनगणतन्त्र’ अविलम्ब प्रकाशन गर्ने समेत निर्णय गरिएको मोर्चाका केन्द्रीय सदस्य तथा कार्यालय सचिव खगेन्द्र छन्त्यालले जानकारी दिए ।

मोर्चाले यसअघि भएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको ‘क्रान्तिकारी उपयोग’ गरेको थियो । त्यसै क्रममा जनताको घर घरमा पुगेर वर्तमान सत्ता, व्यवस्था र संविधानबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान नहुने बताउँदै नयाँ जनवादी व्यवस्थाका निम्ति संघर्ष अनिवार्य रहेको सन्देश प्रवाह गरेको थियो । मोर्चाले जनताको संविधानका लागि ‘जनगणतन्त्र’ नै अबको राजनीतिक विकल्प रहेको भन्दै त्यसका लागि संघर्षको अपरिहार्यतामाथि जोड दिंदै आएको छ ।

भ्रष्टाचार, अनियमितता, महंगी, कालोबजारी, बेरोजगारी, तस्करी, हत्या, हिंसा, बलात्कार, कर वृद्धि लगायतका समस्याहरुबाट आक्रान्त बनेका जनताले विकल्प खोजिरहेको अवस्थामा मोर्चाले आफूलाई वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गर्दै आएको छ ।