क्रान्तिकारी माओवादीको ‘काठमाडौं मार्च अभियान’ पूर्वी महानगर क्षेत्रमा

क्रान्तिकारी माओवादीको ‘काठमाडौं मार्च अभियान’ पूर्वी महानगर क्षेत्रमा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भदौं १ गतेबाट सुरु गरेको ‘काठमाडौं मार्च अभियान’ दशै सकिएलगत्तै फेरि जारी राखेको छ । कात्तिक १ गतेबाट क्रान्तिकारी माओवादी काठमाडौंले महानगरको पूर्वी क्षेत्रमा अभियान सञ्चालन गरिरहेको छ । अभियानको क्रममा निष्क्रिय नेता कार्यकर्ताहरु, सहिद तथा वेपत्ता परिवारसँग भेटघाट, पार्टी सदस्यता नवीकरणका साथै संगठन र संघर्षको आधार तयार गर्ने कार्यलाई तीव्रता दिइएको छ ।
शुक्रबार बंशीघाट त्रिपुरश्वर क्षेत्रमा चलाइएको अभियान शनिबार बुद्धनगर क्षेत्रमा सञ्चालन गरियो भने आइतबार बत्तिसपुतली एरियामा सञ्चालन गरिने बताइएको छ ।
पार्टीकी केस तथा काठमाडौं जिल्ला सचिव सरुका अनुसार अभियानको क्रममा जोरपाटी, बसुन्धरा र असन चोकमा सन्देश सभा सम्पन्न गरिएको छ ।
पूर्वी संयुक्त नगरकमिटि (गोकर्णेश्वर, मनोहरा कागेश्वरी, शंकरापुर), पश्चिम संयुक्त नगरकमिटि (टोखा, तार्केश्वर, बुढानिलकण्ठ), पश्चिम महानगर कमिटि (१६ वटा वडा) र पूर्वी महानगर कमिटि (१६ वटा वडा) को आयोजनामा ती क्षेत्रमा सहिद तथा वेपत्ता परिवारहरुसँग भेटघाट, पार्टीका तथा अन्य राजनीतिक पार्टीका निष्क्रिय नेता कार्यकर्ताहरुसँग भेटघाट छलफल, पार्टी सदस्यता नवीकरणका सँगै पार्टी, देजमो तथा जबस मोर्चाका कमिटिहरु निर्माण गरिएका छन् ।


प्राप्त जानकारी अनुसार अभियानको क्रममा पार्टी सम्बद्ध विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)का ६ वटा इकाई कमिटि निर्माण गरिएका छन् । त्यसैगरी महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का २ वटा संगठन र अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ सम्बद्ध ४ वटा संगठनहरु निर्माण गरिएका छन् । पूर्वी महानगरमा सम्पन्न भएपछि उत्तर दक्षिण महानगरमा अभियान सञ्चालन गरिने बताइएको छ ।