एनआरएनएको अध्यक्षमा कुमार पन्त, महासचिवमा हेमराज शर्मा विजयी

प्रकाशित मिति : २०७६ कार्तिक १


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् भने महासचिवमा हेमराज शर्मा विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ पदाधिकारीको चयन गरेको हो । बिहीबार भएको मतदानमा उनले प्रतिद्वन्द्वी कुल आचार्यलाई हराउँदै विजयी भएका हुन् । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले पन्त विजयी भएको जानकारी दिएका छन् ।

यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् भने महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् । यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् । निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो । ४१ पदाधिकारीको लागि भएको मतदानमा ७५ जना चुनावी मैदानमा उत्रिएका थिए ।

कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो। निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेकाअनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो ।