जनयुद्धका सहिदहरुको स्मृति

सम्पादकीय

प्रकाशित मिति : २०७६ भाद्र २३

‘दशवर्षे जनयुद्ध’ नेपाली सर्वहारावर्गका लागि मात्र होइन, विश्व सर्वहारावर्गका निम्ति पनि एउटा महत्वपूर्ण परिघटना थियो । २१ औं शताब्दीको पहिलो दशकमा नेपालमा सञ्चालित महान जनयुद्धले विश्व सर्वहारावर्ग तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समेत एउटा उत्प्रेरणा र उर्जा प्रदान गरेको थियो । र, नेपाली सर्वहरावर्गको राज्यसत्ता स्थापनाको सम्मुखमा पुगेको थियो । अर्थात् जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणको दोस्रो योजनासम्मको प्रक्रियाबाट स्थानीय सत्ता कब्जा गर्दै केन्द्रीय सत्ता कब्जाको दिशामा अगाडि बढिरहेको थियो । विचार, राजनीतिका साथै फौजी हिसाबले पनि नेपाली जनयुद्ध विजयी रुपमा अगाडि बढिरहेको थियो । यस पृष्ठभूमिमा मूल नेतृत्वले गरेको धोका र गद्दारीका कारण जनयुद्ध पराजित हुन पुग्यो । र, समाजको आमूल परिवर्तनको प्रक्रिया अबरुद्ध बन्न पुग्यो । तथापि, जनयुद्धकै बलमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता (नाम मात्रको भएपनि), समोवेशी, समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दाहरु स्थापित हुन पुगे । यद्यपि दोस्रो संविधानसभाबाट बनेको संविधान र त्यसयता गरिएको सत्ता अभ्यास, पात्र र प्रवृ ित्तहरुलाई हेर्ने हो भने जनयुद्धको बलमा स्थापित राजनीतिक उपलब्धि पनि सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको कब्जामा पुगेको छ र सारतः यो सत्ता, व्यवस्था र संविधान प्रतिक्रियावादमा रुपान्तरण भएको छ । परणामतः श्रमजीवी सर्वहरावर्गको मुक्तिका निम्ति फेरि मुलुकमा अर्को लडाइँको अपरिहार्यता बढेर गएको छ । फेरि पनि जनताको गणतन्त्र, नयाँ जनवादी सत्ता, नयाँ जनवादी क्रान्तिको चर्चा नेपाली कम्युनिस्ट आन्दोलनको वृतमा सघन बन्दै गएको छ ।


जनयुद्ध, नीति र नेतृत्वलाई स्थापित गर्न र सत्ता कब्जाको नजिकसम्म जनयुद्धलाई पु¥याउने हैसियत प्रदान गर्नमा जनयुद्धमा जीवन बलिदान गर्ने सहिदहरुको महत्वपूर्ण भूमिका रह्यो । जनयुद्धको तयारीको क्रममा जीवन बलिदान गर्ने महान सहिद रामवृक्ष यादवदेखि जनयुद्धको प्रक्रियामा बलिदान गर्ने पार्टीका पोलिटब्यूरो सदस्य सुरेश वाग्ले ‘बासु’ले उत्प्रेरक र चालकको भूमिका खेले । जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गर्दै गर्दा पार्टीका केसद्वय विशाल र कुमार लगायतका नेताहरुको बलिदानले पनि जनयुद्धलाई उर्जा प्रदान ग¥यो । जनयुद्धमा भएको गौरवपूर्ण बलिदानको महानतालाई न्यूनिकरण गरिनु हुन्न । जनयुद्ध र बलिदानलाई जति धेरै स्थापित ग¥यो, नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई त्यसले उर्जा र उत्प्रेरणा दिन्छ । यस विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले विशेष ध्यान पु¥याउन जरुरी छ ।

संयोग । रामवृक्ष यादव (भदौं २), सुरेश वाग्ले (भदौं २३), विशाल–कुमार (भदौं २०)ले भदौं महिनामै सहादत प्राप्त गरेका थिए । जनयुद्धमाथि गरिएको धोका र गद्दारीका कारण तत्कालीन माओवादी जनयुद्धको नेतृत्व गरेको पार्टी टुट, फुट, विभाजनबाट गुज्रिदा जनयुद्धका सहिदहरुको स्मृति, महत्व ओझेलमा पर्दै गएको छ । जनयुद्धको नेतृत्व गरेको पार्टीको मूल नेतृत्वसहितको ठूलो हिस्सा दलाल प्रतिक्रियावादी संसदीय व्यवस्थामा पतन भएर गएपछि अहिले जनयुद्ध र जनयुद्धमा भएको बलिदानको औचित्यको विषयमा प्रश्न गर्न थालिएको छ । अहिले नेपालको कम्युनिस्ट तथा माओवादी आन्दोलनमा मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाहेक अन्य पार्टीहरुले जनयुद्ध र बलिदान तथा सहिदहरुको प्रतिरक्षा गरेको पाइन्न । क्रान्तिकारी माओवादीले जनयुद्धको मुख्य उद्देश्यको रुपमा रहेको नेपालमा नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्ने मुख्य मुद्दा अहिले पनि प्रमुख रुपमा उठाएको छ । र, नयाँ जनवादी क्रान्तिको लागि नेपाली विशिष्टतामा आधारित सशस्त्र विद्रोहको कार्यदिशामार्फत् आफ्ना विचार, राजनीति, संगठन र संघर्षसँग सम्बन्धित गतिविधिहरुलाई अगाडि बढाइरहेको छ ।

यस पृष्ठभूमिमा फेरि पनि जनयुद्धमा बलिदान गर्ने महान सहिदहरुको योगदानलाई स्थापित गर्ने, उर्जा र उत्प्रेरणाको रुपमा शिक्षा लिने र जनयुद्धमा जीवन बलिदान गर्ने सहिदहरुको मूल सपनाको रुपमा रहेको ‘नयाँ जनवादी क्रान्ति’को कार्यभार पूरा गर्ने ऐतिहासिक भूमिका निर्वाह गर्ने दायित्व र जिम्मेवारी क्रान्तिकारी माओवादीकै काँधमा आएको छ । जनयुद्ध र बलिदानलाई भँजाएर आफ्नो स्वार्थपूर्ण अभिष्ट पूरा गर्ने अवसरवादीहरुले गर्ने नौटंकीका कारण सहिद परिवार र आम जनसर्वसाधारणमा समेत भ्रम पैदा भइरहेको अहिलेको अवस्थामा सहिदहरुको स्मृति र स्मृति दिवस मनाउनुको सार्थकताका बारेमा क्रान्तिकारी माओवादीको सिंगो पार्टीपंक्तिले विशेष ध्यान पु¥याउन जरुरी छ ।