चैतन्य : सङ्कल्प र सङ्घर्षका उदाहरणीय व्यक्तित्व

ऋषिराज बराल

प्रकाशित मिति : २०७६ जेष्ठ २५

हृदयचन्द्रसिंह प्रधानजस्ता सामाजिक चिन्तकका नाममा स्थापित पुरस्कार मार्क्सवाद र क्रान्तिकारी रूपान्तरणका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आउनुभएको मोहन बैद्य चैतन्यलाई प्रदान गर्ने निर्णय ‘साहित्य सदन’ ले गरेकोमा साहित्य सदन परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र पुरस्कृत व्यक्तित्व चैतन्यलाई बधाइ दिन चाहन्छु ।

देशकाल परिस्थिति र सङ्घर्षका विभिन्न मोर्चाको आवश्यकता अनुसार चैतन्य विभिन्न नामले परिचित हुनुहुन्छ । यस्ता थुप्रै नाममध्ये मोहन बैद्य, किरण, चैतन्य, अगम बढी चर्चित र स्थापित नामहरू हुन् । दर्शनका क्षेत्रमा मोहन बैद्य, राजनीतिमा किरण र सौन्दर्यशास्त्रका क्षेत्रमा चैतन्य वहाँका स्थापित नामहरू हुन् ।

पोख्ररेल परिवारमा प्युठान जिल्लाको कुसुमारुखमा विसं २००३मा जन्मिनु भएको मोहन बैद्य नव्य न्याय दर्शनमा शास्त्री र नेपालीमा स्नातकोत्तर हुनुहुन्छ । विक्रमको २० को दशकमा पार्टी सदस्यता लिनु भएको मोहन बैद्य नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (मशाल) को महामन्त्री, नेकपा (माओवादी) का वरिष्ठ नेता, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष र नेकपा–माओवादीको अध्यक्ष हुँदै हाल नेकपा (क्रान्तिकारी माओवादी) को महासचिव हुनुहुन्छ । मार्क्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएर राष्ट्रिय स्वाधीनता र जनतन्त्रका पक्षमा निरन्तर सङ्घर्षरत मोहन बैद्य नेपालको राजनीतिक क्षेत्रमा वैचारिक निष्ठाप्रति समर्पित, क्रान्तिकारी आदर्शप्रति प्रतिबद्ध, इमानदार र स्वाभिमानी नेताका रूपमा परिचित र स्थापित हुनुहुन्छ । मार्क्सवादी साहित्य तथा सौन्दर्यशास्त्रको क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत वहाँ विभिन्न पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित हुनु भएको छ ।

वहाँका अहिलेसम्म निम्न लिखित पुस्तकहरू प्रकाशित भएका छन् ः
१) लाहुरेको रहर (२०३७), २) मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४), ३.सङ्घर्षको दर्शन (२०६०), ४. नेपाली समाज र संस्कृति (२०६१), ५. क्रान्ति र सौन्दर्य (२०६४), ६. समीक्षा र सौन्दर्य (२०६५), ७. मार्क्सवाद र संस्कृति (२०६६), ८. क्रान्ति र सिद्धान्त (२०६७), ९.मार्क्सवादी सौन्दर्य्चिन्तन (२०६७), १०.मार्क्सवादी दर्शन (२०६७) र ११. हिमाली दर्शन (२०७४) ।

माथि उल्लेख भएका पुस्तकहरूबाहेक फुटकर रूपमा दर्शन, राजनीति र साहित्यिक विषयमा केन्द्रित वहाँका थुप्रै रचनाहरू प्रकाशित भएका छन् । यहाँ मैले मोहन बैद्य ‘

चैतन्य’को साहित्यिक तथा सौँन्दर्यशास्त्रीय पाटोमा सङ्क्षिप्त प्रकाश पार्नु आवश्यक ठानेको छु ।

चैतन्यले कविताबाट साहित्यिक यात्राको थालनी गरेको भए पनि वहाँको विशेष क्रियाशीलता र विशिष्ट योगदान सौन्दर्यशास्त्र तथा समालोचनाका क्षेत्रमा रहेको छ । एक हिसाबले नेपाली समालोचना त्यसमा नेपाली माक्र्सवादी समालोचनाको क्षेत्रमा चैतन्य नाम ‘वरिष्ठ सौन्दर्य चिन्तक’ को पर्यार्य बनेको छ ।

बनारसबाट प्रकाशित हुने दङ्गाली विद्यार्थीहरूका प्रकाशनमा विक्रमको २० को दशकमै उहाँका समालोचनाहरू प्रकाशित हुन थालेको भनिए पनि उहाँको उपलब्ध पहिलो समालोचनात्मक रचना चाहिँ राप्ती प्रवाह १ (२०३५) मा प्रकाशित ‘पारिजातको क्रमिक विकासको मोडमा तोरीवारी बाटा र सपनाहरू’ हो । आरम्भमा चेतन आले नामले समालोचना लेख्ने मोहन बैद्यले चैतन्य नामले लेखेको पहिलो रचना वेदना ६ स् १६ (२०३७) मा प्रकाशित ‘प्रगतिशीलताको सन्दर्भमा पर्खालभित्र र बाहिर’ हो । त्यसपछि वहाँले यसै नामबाट समालोचना लेखनलाई निरन्तरता दिनुभएको छ ।
सङ्ख्याभन्दा गुणमा जोड दिने चैतन्यको पहिलो समालोचना सङ्ग्रह मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४) हो । यो सङ्ग्रहले वहाँलाई सही विचार, तर्कपूर्ण विश्लेषण र अध्ययनको गहिराइप्रति विश्वास राख्ने माक्र्सवादी समालोचकका रूपमा परिचित र स्थापित गरायो । सरसरती हेर्दा समालोचक चैतन्य सैद्धान्तिक समालोचनामा बढी जोड दिने समालोचकका रूपमा देखिए पनि व्यावहारिक समालोचनामा पनि वहाँको कलम उत्तिकै मात्रामा चलेको छ । विधागत दृष्टिले कविता र उपन्यास समालोचनामा वहाँको कलम बढी चलेको छ ।
नेपाली साहित्यमा मार्क्सवादी समालोचना, प्रगतिवादी समालोचना अझ त्यसमा पनि प्रगतिवादी समालोचना पदावलीको प्रयोग बढी भएको पाइँन्छ । सौन्दर्यशास्त्रीय कोणबाट साहित्यिक कृतिको अध्ययन गरेर मार्क्सवादी सौँन्दर्यशास्त्र पदावली र मान्यतालाई नेपाली सन्दर्भमा परिभाषित र स्थापित गर्ने काम चैतन्यबाट नै भएको हो । सौन्दर्यशास्त्रको परिभाषा, यसका पुर्वीय तथा पाश्चात्य रूपहरू, मार्क्सवादी सौँदर्यशास्त्रका आधारभूत पक्ष, यसका प्रवर्गहरू र सौन्दर्यशास्त्रका क्षेत्रमा मार्क्सदेखि वर्तमानसम्म भएको विकासका बारेमा विस्तृत अध्ययन र विश्लेषणा गर्ने काममा चैतन्यको अग्रणी भूमिका रहेको छ । जसरी आजको मार्क्सवाद भन्दा मार्क्सदेखि माओसम्मले स्थापित र विकसित गरेका दार्श्निक, वैचारिक तथा राजनीतिक मूल्यमान्यता जोडिन्छन्, त्यसै गरी आजको मार्क्सवादी सौँदर्यशास्त्रको कुरा गर्दा सौन्दर्यशास्त्रको क्षेत्रमा माक्र्सदेखि माओसम्मले स्थापित गरेका मूल्यमान्यता र अवधारणा गाँसिन्छन् । अहिलेको सन्दर्भमा नेपाली मार्क्सवादी सौन्दर्य्चिन्तन सारतः माओवादी सौँन्दर्य चिन्तन नै हो भन्ने सत्यतथ्यलाई परिभाषित र स्थापित गर्ने काम चैतन्यबाट नै भएको हो ।
चैतन्यका समालोचनात्मक तथा सौँन्दर्यशास्त्रीय आलेखहरूमा तर्क र विश्लेषणको सघनता, शोधपरकता, क्रान्तिकारी आशावाद र समाजवादी यथार्थवादप्रतिको प्रतिबद्धताको सबल स्वरूप पाइन्छ । चैतन्यको सौन्दर्यशास्त्रीय चेतको सबैभन्दा महत्वपूर्ण र ओजपूर्ण पक्ष भनेको वैचारिक सङ्घर्ष नै हो । मार्क्सवादी सौन्दर्यशास्त्रका आधारभूत प्रस्थापनाहरूलाई नेपाली समाजमा विकसित वर्गसङ्घर्ष र सौन्दर्यचेतसित जोडेर अध्ययन गर्नु सौन्दर्य्चिन्तन सम्बन्धी वहाँको विशिष्ट पक्ष हो । समालोचना लेखन तथा सौँन्दर्य्चिन्तनलाई वहाँले वैचारिक मोर्चाका रूपमा आत्मसात गर्नुभएको छ । सही विचारको जगमा उभिएर तर्कपूर्ण अभिव्यक्तिमार्फत समालोचनाका क्षेत्रमा देखा परेका सबै किसिमका विकृति, विसङ्गति र विचलनहरूका विरुद्ध वहाँले आफूलाई उभ्याउनु भएको छ । उदाहरणका रूपमा ‘उत्साहको सम्पादकीय चिन्तनहरूबारे एक समीक्षा’ लाई लिन सकिन्छ । मार्क्सवाद र लेखकीय प्रतिबद्धताको विरोधमा ‘उत्साह मण्डली’ ले अघि सारेको अराजकतावादी–विसर्जनवादी चिन्तनका विरुद्ध चैतन्यको यस रचनाको एतिहासिक महत्व रहेको छ । वैचारिक सङ्घर्षका सन्दर्भमा यो आलेख नेपाली मार्क्सवादी साहित्यिक चिन्तनको क्षेत्रमा कोशेढुङ्गा साबित भएको छ ।
नेपाली राजनीतिमा वामपन्थी, कम्युनिस्ट पार्टी आदि नाम राखेका, तर मार्क्सवादका आधारभूत मान्यताबाट विचलित भएर संसदवादमा पतन भएका राजनीतिक पार्टीहरू भएझैँ मार्क्सवादी समालोचनाका क्षेत्रमा पनि यस किसिमको प्रवृत्ति पाइन्छ । साहित्यिक क्षेत्रका यस किसिमका विचलनकारी प्रवृत्तिहरू २०१४÷१५ सालदेखि नै देखा पर्दै आएका हुन् र खासखास समयका माक्र्सवादी समालोचकहरूले त्यस किसिमका विचलनकारी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । यस सन्दर्भमा विक्रमको २०को दशकमा पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पाटी सम्बद्ध सांस्कृतिक मोर्चाले विचलनका विरुद्ध गरेको वैचारिक सङ्घर्षले अहम् महत्व राख्दछ । विक्रमको ४० को दशकपछि यो प्रवृत्ति नयाँ किसिमले विकसित भयो र विचलन विरुद्धको वैचारिक सङ्घर्षलाई तीव्र बनाउँदै समाजवादी यथार्थवादी मोर्चालाई नयाँ गति र दिशा दिने काममा पनि चैतन्यको महत्वपूर्ण भूमिका रह्यो । यस सन्दर्भमा चैतन्यको रचना ‘नेपाली सौन्दर्य्चिन्तन स् ’’मार्क्सवाद र बहुलवाद’ को अहम् महत्व रहेको छ । चाहे मार्क्सवाद र प्रगतिवादका नाममा संशोधनवादको पुर्पक्ष गर्ने विचलनवादी प्रवृत्ति होस् चाहे नयाँका नाममा शून्यवादको पुर्पक्ष गर्ने ‘उत्तर–वादी’ प्रवृत्तिहरू— उत्तरआधुकितावाद र उत्तर(मार्क्सवादी प्रवृत्तिहरू हुन्, दुवै क्षेत्रमा सक्रिय वैचारिक सङ्घर्ष चलाएर माक्र्सवादी सौन्दर्य्चिन्तनका पक्षमा दृढताका साथ उभिनु चैतन्यको चिन्तनको विशिष्ट पक्ष हो ।
नेपाली समाज र संस्कृतिको ऐतिहासिक पक्ष, धर्म, संस्कृति र संस्कारका क्षेत्रमा पनि चैतन्यको विशिष्ट अध्ययन–चिन्तन रहेको छ । यस क्रममा वहाँको पुस्तक नेपाली समाज र संस्कृति महत्वपूर्ण कृति हो । चैतन्यमा मार्क्सवादी सौन्दर्यशास्त्रका साथै पूर्वीय साहित्यशास्त्रको पनि गहन अध्ययन छ भन्ने कुरा तुलनात्मक अध्ययनमा आधारित उहाँको आलेख ‘रस सिद्धान्त, साधारणीकरण र मार्क्सवाद’ लाई लिन सकिन्छ । यही कुरा वहाँको पछिल्लो कृति हिमाली दर्शनका सन्दर्भमा पनि भन्न सकिन्छ ।
हिमाली दर्शनले वहाँलाई दर्शनको एउटा विशिष्ट अध्येताका रूपमा परिचित गराएको छ । दर्शनको उत्पत्ति र विकासमा यस क्षेत्रको ऐतिहासिक भूमिका र गरिमालाई अगाडि राखेर वहाँले पुर्वीय दर्शन नभनेर हिमाली दर्शन भन्नु भएको छ । यहाँ मौलिक पहिचान र स्वत्तलाई जोड दिने काम भएको छ । धेरैले पुर्वीय दर्शन र पाश्चात्य दर्शनका बारेमा लेखेका छन् । परन्तु, पाश्चात्य दर्शन र हिमाली दर्शनको तुलनात्मक अध्ययन गरेर हिमाली दर्शनको महत्व र गरिमाको चर्चा गर्ने काम थोरै मात्रामा भएको छ । यस कार्यमा चैतन्यको महत्वपूर्ण भूमिका रहेको छ ।
हिमाली दर्शनमा यस क्षेत्रमा भौतिकवाद र द्वन्द्ववादको विकास र विशेषताको चर्चाका साथै यसका सीमाको पनि चर्चा गरिएको छ । दर्शनको अध्ययन समाजको व्याख्या तथा दुनियाँ बुझ्नका लागि मात्र नभएर “ मुख्यतः दुनियाँ बदल्नका लागि हुनुपर्दछ” भन्दै यो कार्य मार्क्सवादी दर्शनले मात्र गर्न सक्तछ भन्ने कुरामा चैतन्यको जोड रहेको छ र वहाँको सौन्दर्य्चिन्तनको सारतत्व पनि यसैमा निहित छ ।
समग्रमा हेर्दा शब्द र कर्म, विचार र जीवनशैलीबीच एकरूपता चैतन्यको विशेषता हो । नेपालको राजनीतिक आन्दोलनमा थुप्रै मान्छेहरू नेता बनेर अगाडि आए, तर अपेक्षित उद्देश्य पूरा नहुँदै व्यक्तिगत स्वार्थमा लिप्त भएर तिनले विचलन, पलायन र गद्दारीको बाटो अँगााले । जुन उद्देश्य र मूल्यका लागि लामो लडाइँ लडियो, वलिदानको त्यो उदात्त इतिहाससित गाँसिएको उद्देश्य पूरा नहोउन्जेलसम्म निरन्तर लडिरहनुपर्छ भनेर नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता, अटुट विश्वास र क्रान्तिकारी आशावाद राजनीतिक क्षेत्रमा मोहन बैद्य ‘किरण’ को विशिष्ट पक्ष हो । त्यसै गरी मार्क्सवादी सौन्दर्य्चिन्तन र समाजवादी यथार्थवादका मूल्यप्रति प्रतिबद्ध रहेर साहित्य तथा कलाको क्षेत्रलाई वैचारिक मोर्चाका रूपमा आत्मसात गर्नु उहाँको विशिष्ट पक्ष हो । वास्तवमा सङ्कल्प र सङ्घर्षको अर्को नाम चैतन्य हो ।
माक्र्सवादी सौन्दर्यशास्त्र र समालोचनाका क्षेत्रमा चैतन्यले दिएको योगदान उच्च प्रकृतिको छ र अहिलेसम्म पनि यस क्षेत्रमा वहाँको भूमिका अगुवाको रूपमा रहेको छ । यस किसिमको पात्रलाई पुरस्कारका लागि चयन गरेकोमा साहित्य सदन परिवारलाई पुन धन्यवाद दिन चाहन्छु । मार्क्सवादी सौन्दर्य चिन्तक चैतन्यको आस्था, निष्ठा र प्रतिबद्धताको यात्रा अझ गुणात्मक र सघन बन्दै अघि बढोस् भन्ने कामना पनि गर्न चाहन्छु । धन्यवाद ।
जेठ २५, २०७६
(प्रस्तुत आलेख कमरेड चैतन्यलाई साहित्य सदनले प्रदान गरेको सम्मान कार्यक्रममा डा. बरालद्वारा चैतन्यको व्यक्तित्वका सन्दर्भमा व्यक्त भनाइको पूर्ण अंश हो)