झर्रोटर्रो : नेपाल दलाल महासङ्घ पाटी

प्रकाशित मिति : २०७६ जेष्ठ २५

- कैलुब्राह ([email protected])


नेपाल मण्डलमा अव दलालहर्को पाटी बनाउनु पर्ने भयो । त्यो पनि महासङ्घीय ढाँचाको बनाउनु उपयुक्त हुने देखिएको छ । यो दलालहर्को पाटी बनायो भने सबै भन्दा ठूलो पाटी यही हुने र यसको विकल्पमा कुनै पनि दल अगाडि आउन सक्ने छैनन् । यो सदाकालका लागि बलियो पाटी हुने छ । यो पाटीको वैचारिक दर्शन सर्बदर्शन हुने छ भने राजनीतिक कार्यदिशा पुँजीवाद हुने छ । यसमा राजावादीदेखि रङ्कवादीसम्म, धार्मिक पण्डादेखि कर्मकाण्डी झण्डासम्म माक्र्सवाद–लेनिनवाददेखि विपिवाद, पुष्पलालवाद, रायमाझीवाद, मदनवाद, केपीवाद, पर्चण्डवाद, लिनप्याओवाद, बामदेववाद, माकुनेवाद, काजीसाववाद, देउवावाद, रामचन्द्रवाद, कोइरालाखेमावाद, खुमबहादुरवाद, गच्छदारवाद, फोरमवाद, नयाँशक्तिवाद हुँदै राजपावाद, राप्रपावाद तथा नागार्जुनवाद र रोल्पाली बाबुसाववादसम्मलाई मिलाउन पर्च । यी सबैलाई एउटै थलोमा राखेर आआफ्ना गुटीय विचारलाई स्वतन्त्र ढङ्गबाट चलखेल गर्न सकिने र दिइने गरी पाटी बनाउनु पर्च । त्यसैले यस पाटीको विचारलाई सर्बदर्शन भनिएको हो । किनकी यी सबै विचारधाराका पक्षमा खटनपटन भएकाहर्ले कुनै न कुनै प्रकारका दलाली सङ्गठनमा क्रियाशील भएर लागेका छन् । सबै क्षेत्रबाट प्रतिनिधित्व गराउन सकिने भएकाले यो पाटीको विचार सर्वदर्शन राख्नु उचित हुन्च । र, सबैको राजनीतिक लक्ष्य जसरी हुन्च पैसो कुम्ल्याउनु रहेकाले राजनीतिक कार्यदिशा पुँजीवाद हुनु उपयुक्त हुन्च । धन पैसो पर्सस्त कमाउन सकेपछि चुनाउ जित्न र मुलुकलाई समृद्ध बनाउन सकिन्च ।

पत्रकार महासङ्घ, किसान महासङ्घ, जनजाति महासङ्घ, सांस्कृतिक महासङ्घ, ट्रेडयुनियन महासङ्घ, उद्योग बाणिज्य महासङ्घ आदि इत्यादि भएजस्तै दलालहर्को पनि महासङ्घ हुन सक्ने भएकाले यस पाटीको नाउँ नेपाल दलाल महासङ्घ पाटी राख्न यो कैलुले प्रस्ताव गरेको हो । यो दलाल महासङ्घ पाटीमा आवद्द हुने विभिन्न सङ्घहरू निम्न प्रकारका रहने छन् ।

म्यानपाओर दलाल पाटी :  यो नेपाल मण्डलको पुरानो पाटी हो । यो पाटीले मनुखेको ब्यापारबट्टो गर्च । ओसारपसार गर्च । यो भूमिगत र खुल्ला दुबै प्रकारले सञ्चालित छ । यसमा उपर्युल्लिखित वादवाला पाटीका नेता कार्जेकर्ता सङ्लग्न छन् । यो पाटी पैला काठमाण्डु खाल्डोमा मात्रै केन्द्रित थ्यो, ऐले त देशका सतहत्तरै जिल्लामा पैmलेको छ । सात समुन्द्र पारी खैरेहर्का देशतिर भूमिगत तरिकाले पठाउनेदेखि खाडीतिर पैसो कमाउन पठाउने सम्मका काममा मनुखे पठाउने काम यो पाटीले गर्दै आएको छ । बम्बैका कोठीदेखि खाडीतिरका कोठीसम्म हाम्रा चेलीबेटी पठाएर यो पाटीले बेरोजगारलाई उद्दार गरेको छ । ऐले त यसमा पर्धानमन्तरी, विदेश मन्तरी र श्रमरोजगार मन्तरीसम्मको आकर्षण यो पाटीमा छ । त्यै भएर उनीहर्ले विदेशमा गएर आर्को देशका मन्तरी, पर्धानमन्तरी राष्टपतिसँग हार गुहार गरेर हाम्रा मनुखेलाई जागिर दिन परो भनेर भिख मागेका छन् । यो नेपाल मण्डलको सबै भन्दा ठूलो सङ्घ हो ।

जग्गा दलाल पाटी : अर्को दल भनेको जग्गा जमीनको कारोबारी दल हो । ऐले मुलुकका कुनाकाप्चासम्म यो दलले साम्राज्य जमाएको छ । तराइका खेतबारीदिख पाहाडका गाउँबस्तीसम्म पैmलिएको यो भूमाफिया दल बालुवाटारका सरकारी जग्गासम्म बेचबिखन गर्न पुगेकोले यो दललाई पनि महासङ्घमा सामेल गर्न पर्च ।

हस्पताल दलाल पाटी : यो दल पनि नेपाल मडलमा निकै शक्तिशाली छ । यसले त सरकारलाई समेत आफ्नो प्रभावमा पारेको छ । यसका बारेमा एकजना डाक्टरले सत्र अठार पटक भोक हडताल गर्दा पनि सरखार डेग चलेन । यसको सङ्गठन कति बलियो रैच ।
शैक्षिक दलाल पाटी ः ऐलेको जमाना भनेको पढ्न लेख्न पनि किनबेच गर्नु पर्ने जमाना हो । त्यै भ’र सरखारले पनि आफ्ना स्कूल कलेज जति सबै बन्द गराउँदै माफिया दलहर्ले खोलेका स्कूल कलेजमा मान्ने मन्तरीले आफ्ना छोराछोरी पढाउँचन् । चुनाउका बेला चन्दा लिन्चन् । यो दल पनि नेपाल मण्डलमा निकै फस्टाएको र बलियो भएको दलाल पाटी हो ।

घरभाडा दलाल पाटी : यो दलाल पाटी सहर बजारमा ब्यापक रूपमा विकास भएको छ । यसलाई पनि महासङ्घमा सामेल गरेर पाटी खोल्नु उचित हुन्च ।

नेता भेटघाट गराउने दलाल पाटी : मान्ने मन्तरीलाई भेट्नु परो भने तिनका पाटीका जिल्ला नेतालाई भन्न पर्च । जिल्ला पाटीका पनि कुन गुटलाई भेट्दा माथि सम्पर्क हुन्च भन्ने शुत्र पत्तो लाएर मात्रै भेट्न पर्च । त्यसपछि तिनले केन्द्रका नेता भेठाउँचन् । नेतामार्फत् मान्ने मन्तरीका पिएका पनि पिएसित भेट गराउँचन् । र ति पिएका पिएले बल्ल मान्ने मन्तरीका पिएसित भेट गराई दिन्चन् । यस्तो हुन्च यो दलालको सञ्जाल ।

यसरी नेपाल मण्डलमा जताततै दलालै दलालको माकुरे जालो फैलिएको छ । मालपोत कार्यालयमा दलाल । पालिका सरखारदेखी पर्देश र केन्द्र सरखारसम्म जताततै दलालहरूको जालो पैmलिएको छ । त्यसैले दला महासङ्घ पाटी बनाएर त्यसले देश चलाएमा स्थाई सरखार बन्ने र देश छिटै समृद्ध हुने भएकाले यो कैलुको विशेष जोड छ, अब दलाल पाटी बनाएर अगाडि बढेमा ऐलेका पाटी सबै धुलिसाथ भएर हराउने छन् । सरोकारवालालाई चेतना भया ।
२४ जेठ २०७६