विश्व वैंक, पुँजीवाद र भविष्य

प्रकाशित मिति : २०७६ जेष्ठ ७

- क. वसन्त

 

विश्व बैंकले २०१९को सुरुमै एउटै प्रकृतिका दुईवटा महत्वपूर्ण पुस्तकहरु प्रकाशन गरेको छ । ती दुई पुस्तकहरु मध्ये एउटा विश्व विकास प्रतिवेदन २०१९ (World Development Report 2019) र अर्को वैश्विक आर्थिक संभावनाहरु २०१९ (Global Economic Prospects 2019) शीर्षकमा प्रकाशित भएका छन् । दुवै पुस्तकले विज्ञानको पछिल्लो विकास अर्थात स्वचालन र कृत्रिम प्रज्ञालाई आफ्नो विश्लेषणको मूल आधार बनाएका छन् ।

नाम अनुसार नै पहिलो पुस्तकले प्रविधि–निर्देशित वर्तमान विश्वको अर्थ–सामाजिक चित्र उतार्न कोशिस गरेको छ भने दोस्रोले मूख्यतः आगामी विश्वको दिशा आंकलन गर्ने प्रयास गरेको छ । यी दुई पुस्तकको अध्ययन गर्ने जो कोहीले आजको पुँजीवादी विश्व कहाँ छ र साम्राज्यवादले विश्वलाई कतातिर डोर्याउँदै छ भन्ने बारे मोटामोटी जानकारी प्राप्त गर्न सक्छ । यो लेख उक्त पुस्तकहरु तर्फ पाठकको ध्यानाकर्षण गराउने र नयाँ चुनौतीहरुकोे समाधान कसरी गर्ने भन्ने विषयको सेरोफेरोमा केन्द्रित रहने छ ।

सबैभन्दा पहिला विश्व विकास प्रतिवेदन २०१९ले उठाएका विषयमा प्रवेश गरौं । जम्मा १५१ पृष्ठको यस पुस्तकमा आफ्ना विषयलाई सारांश सहित आठवटा मूल शीर्षक र प्रत्येकका ३/३ वटा उपशीर्षकमा खाँदेर लेखिएको छ । ती सबैको पर्याप्त छलफल यो लेखमा संभव छैन र यो लेखको उद्देश्य पनि त्यो होइन । यहाँ ती मूल शीर्षकहरु र तिनका उपशीर्षकमा समेटिएका विषय वस्तुको संक्षिप्त सारलाई पाठक सामु पु¥याउन कोशिस गरिएको छ । यो निम्न अनुसार रहेको छ ।

 कामको बदलिंदो प्रकृति

पहिलो औद्योगिक क्रान्तिदेखि नै श्रमिकका कामका प्रकृतिहरु फेरिंदै आएका छन् । तर, प्रविधिको विकासले मानिसलाई पुराना प्रकृतिका श्रमबाट विस्थापित गर्र्नेे मात्र होइन यसले रोजगारीको दायरालाई विस्तार पनि गर्दै आएको छ । भूमण्डलीकरण र विकसित प्रविधिको प्रयोगले नयाँ ठाउँहरुमा नयाँ उद्योगहरुको सिर्जना, रोजगारीको विस्तार, उत्पादन लागतमा कमी र बजारको विस्तारलाई सहयोग समेत गर्दछ । तर ती कामहरु भने भिन्न प्रकृतिका हुने गर्दछन् । प्रविधिको पछिल्लो विकासले आजसम्म जानेमानेका कामहरुबाट मजदुरलाई विस्थापन गर्न थालेको छ ।

२०३० सम्ममा विश्वभर ८० करोड कामदारका जागिर रोबोटले खोस्ने छ भन्ने कुरा विभिन्न सञ्चार माध्यमले प्रचार गर्दै आएका छन् । फलतः मानिसले नयाँ प्रकृतिका काम गर्नका लागि तदनुसारको नयाँ शीपको विकास गर्नु अनिवार्य भएको छ । अहिलेसम्म डिजाईन गर्ने, कलात्मक चित्रहरु कोर्ने, अनुसन्धान गर्ने, टिमको व्यवस्थापन गर्ने, बिरामीको रेखदेख गर्ने र सरसफाइ गर्ने जस्ता कामहरुमा रोबोटले मानिससंग प्रतिस्पर्धा गर्न सकेको छैन । यी बाहेक अन्य नियमित कामहरुमा स्वचालन हावी भएको छ । प्रविधिमा भएको विकास अनुसार शीपको विकास गर्नु अहिलेको एउटा प्रमुख चुनौती हो ।

व्यावशायिक फर्महरुको बदलिंदो प्रकृति

विगतमा व्यावशायिक फर्महरु खास देशका सीमाभित्र स्थापित हुन्थे । तर अहिले, भुमण्डलीकरण, स्वतन्त्र व्यापार संझौता र सुधारिएका भौतिक पूर्वाधारका कारण सीमा पारी व्यापार विस्तारको संभावना बढी र खर्च निकै कम हुने गरेको छ । कच्चा मालको र मानवीय श्रमको प्रकृतिका आधारमा एउटा मालका पार्ट–पूर्जाहरु विभिन्न देशमा निर्माण हुने र ती सबैलाई अर्कै एक ठाउँबाट जोरजाम गरी तिनलाई संसारभरी निर्यात गर्ने पुर्वाधारको विकासले व्यापार सहज र नाफामूलक बन्दै गएको छ ।

तर, अर्कोतिर यसले ठूला फर्महरुको स्थापनालाई सहज तुल्याएको छ र तिनले वैश्विक अर्थतन्त्रलाई आफ्नो हैकम भित्र ल्याएका छन् । विश्वका १० प्रतिशत ठूला कम्पनीहरुले कूल नाफाको ८० प्रतिशत रकम आफ्नो कव्जामा पार्छन् भन्ने अनुमान छ । यसले विश्वभरी धनी र गरीवका बीचको आर्थिक खाडललाई अत्यधिक बढाउँदै लगेको छ । ठूला बहुराष्ट्रिय कम्पनीहरुले व्यापक करछली समेत गर्ने गरेका छन् ।

 मानवीय पुँजीको निर्माण

मानवीय पुँजी भनेको मानिसले समाजमा एउटा सक्षम उत्पादक सदस्य बन्नका लागि आफ्नो जीवनकालमा आर्जन गरेको ज्ञान, क्षमता र स्वास्थ्यको समग्रता हो । सरदरमा विश्वभरी नै मानवीय पुँजी बढेको देखिन्छ तर, यसको वितरण भने विकसित, विकासशील र अविकसित देशमा निकै असमान रहेको छ । मानिस शिक्षित र स्वस्थ भए मात्र उसको उत्पादन गर्ने क्षमता धेरै हुने हो ।

तर, विभिन्न देशहरुमा आर्थिक विपन्नताका कारण बच्चाहरु स्वस्थ र शिक्षित हुनबाट बञ्चित हुने गरेका छन् । यसमा सरकारले पर्याप्त आर्थिक लगानी गरेर प्रविधिप्रेमी दक्ष जनशक्ति निर्माण गर्नेे प्रक्रियालाई सहज बनाउनु पर्दछ । यसमा ध्यान नदिने सरकारलाई आवश्यक नीति निर्माणमा हस्तक्षेप गर्नु पर्दछ । यसलाई ध्यानमा राखेर विश्व वैंकले मानवीय पुँजी परियोजनाको सुरुआत पनि गरेको छ ।

जीवनभर सिकिरहने

विज्ञान तथा प्रविधिको विकासले दिनहुँ नयाँनयाँ प्रकृतिका यन्त्रहरु निर्माण भैरहेका छन् । हिजो प्रयोग हुने यन्त्रहरु र तिनलाई सञ्चालन गर्ने विधी आज भिन्न भैसकेको छ । त्यसकारण विज्ञान तथा प्रविधिको विकासका कारण निर्माण हुने स्वचालित मेसिन तथा रोबोटहरुसंग जोडिएर कामगर्ने श्रमिकहरुले आफ्नो शीपलाई अपडेट गर्न अध्ययनलाई निरन्तर जारी राख्नु अनिवार्य भएको छ ।

आवश्यकता अनुसार श्रमिकको शीपको विकास नभए उसले कुनै पनि बेला कामबाट हात धुनु पर्ने, उसले कम गुणस्तर र कम ज्यालाको काम खोज्दै जीवनभर भौंतारिई रहनु पर्ने र अन्ततः बेरोजगार भएर सडकमा फ्याँकिनु पर्ने स्थिति पैदा हुन्छ । यस्तो नहोस् भन्नका लागि उसले जीवनभर सिकीरहनु पर्ने भएको छ र विद्यार्थीले मात्र होईन प्रौढावस्थाका श्रमिकहरुले पनि आफ्नो कार्यक्षेत्रको बाहिर प्रविधि प्रेमी उच्च शिक्षा (Tertiary Education) मा जोडिइ राख्नु पर्दछ ।

 काममा फिर्ता

सामान्यतः शिक्षा स्कुलमा लिइन्छ तर त्यो पर्याप्त हुँदैन । विद्यार्थीहरु काममा जोडिए पछि तिनले मानव पुँजी आर्जन गर्छन् । तर, अविकसित तथा उदीयमान अर्थतन्त्रहरुमा अनौपचारिक क्षेत्र ठूलो हुन्छ र यहाँ काम गर्ने मानिसहरुले उत्पादनशील काम पाउन सक्दैनन् । तिनीहरुले गर्ने कामबाट न त पर्याप्त शिक्षा लिन सक्छन् न त त्यो उनीहरुको स्थायी आम्दानीको श्रोत नै बन्न सक्छ । यो स्थितिमा सरकारले औपचारिक कामहरुको सिर्जना गरेर गरीवहरुलाई कामका अवसर प्रदान गर्नु पर्दछ ।

अर्कोतिर, कामबाट बञ्चित महिलाहरुलाई सरकारले उचित कामको व्यवस्था गर्नु पर्दछ । कृषि क्षेत्रमा रोजगारीको विस्तार गरेर पनि मानव पुँजीको निर्माण तथा त्यसको विकास गर्न सकिन्छ । सरकारले नागरिकलाई काममा पठाएर मानवीय पुँजीको विकासमा जोड दिनु पर्दछ ।

सामाजिक सुरक्षाको सुदृढिकरण

मूख्यतः गरीवहरुका बीचमा मानवीय पुँजीको विकासका लागि सामाजिक सुरक्षालाई सुदृढ गर्नु पर्दछ । यसका लागि तीनवटा विधि उपयुक्त हुन्छन् । ती हुन्ः सामाजिक सहयोग, सामाजिक विमा र मजदुरप्रेमी श्रमनियम । यी विधिको प्रयोगले मानवीय पुँजीको निर्माण गर्ने काममा सहयोग पुग्दछ ।

 सामाजिक समावेशीकरण

सामाजिक समावेशीकरणको अर्थ समाजमा सबैलाई समान अवसर प्रदान गर्नु हो । समावेशी समाज त्यस्तो समाज हो जहाँ सरकारले समाजका हरेक सदस्यलाई आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्नका लागि समान अवसर प्रदान गर्दछ । यो सरकारको दायित्व हो । समावेशीकरण एउटा देशमा मात्र होइन यो विश्वव्यापी हुनु पर्दछ, यसले नयाँ सामाजिक सम्बन्ध निर्माण गर्नु पर्दछ र यसका लागि आर्थिक लगानी समेत गर्नु पर्दछ ।

माथि सात बुँदामा जे कुरा उल्लेख गरियो ती यो पङ्क्तिकारका आफ्ना भनाई होइनन् । ती उक्त प्रतिवेदनमा समावेश गरिएका सात मूल शीर्षकमा व्यक्त विषयवस्तुका साराँश हुन् । विश्व बैकले गरेको वर्तमान परिस्थितिको विश्लेषण र त्यसका आधारमा गरिएको संश्लेषण यी सात बुँदामा अभिव्यक्त भएका छन् । यी बुँदामा पुँजीवादी विश्वका चुनौती र साम्राज्यवादले अगाडि सारेका समाधान बारे पनि व्यापक चर्चा गरिएको छ ।

यस पुस्तकले निकालेको अन्तिम र मूल निस्कर्ष के हो भने विज्ञान तथा प्रविधिको विकासका कारण मानिसले आजसम्म गर्दै आएका अधिकांश कामहरु धरापमा परेका छन्, विकसित प्रविधिले सिर्जना गर्ने नयाँ कामका लागि आजको परंपरागत शिक्षा उपयुक्त छैन र त्यसका लागि शिक्षामा गुणात्मक परिवर्तन गरी त्यसलाई प्रविधि प्रेमी बनाउनु जरुरी छ ।

विश्व बैंकले प्रकाशन गरेको अर्को पुस्तक वैश्विक आर्थिक संभावनाहरु २०१९ भन्ने हो । यसमा जम्मा ४ वटा अध्याय रहेका छन् र यो २६४ पृष्ठको ठूलो ठेली हो । यस पुस्तकमा विभिन्न उपशीर्षक अन्तर्गत वर्तमान विश्व परिस्थितिको विश्लेषण र संश्लेषण गरिएको छ । पहिलो अध्यायको शीर्षक नै विश्वको भविष्य : आकाशमा कालो बादल मडारिंदै Global Outlook : Darkening Skies भन्ने रहेको छ । क्षेत्रीय भविष्य (Regional Outlooks) शीर्षक दिइएको दोस्रो अध्यायमा पूर्वी एशिया तथा प्रशान्त क्षेत्र, युरोप तथा मध्य एशिया, ल्याटिन अमेरिका तथा क्यारिवियन क्षेत्र, मध्यपुर्व तथा उत्तर अफ्रिका, दक्षिण एशिया र अफ्रिकी सहारा क्षेत्रको क्षेत्रगत अध्ययन गरिएको छ ।

तेस्रो अध्यायको शीर्षक ओझेलमा बृद्धि : अनौपचारिकताका चुनौतीहरु (Growing in the Shadow: Challenges of Informality) भन्ने रहेको छ र पुस्तकको अन्तिममा दुईवटा समसामयिक विषय केन्द्रित निवन्धहरु राखिएका छन् । ती मध्ये पहिलो कम आयवाला देशहरुमा ऋण : विकास प्रक्रिया, प्रभाव र उपचार शीर्षकमा र दोस्रो खाद्यान्नको मूल्य र नीतिको धक्का गरीवि भन्ने शीर्षकमा लेखिएका छन् ।

समग्रमा यो पुस्तकमा पुँजीवादको आसन्न सङ्कट तथा धनी र गरीवका बीचको गहिरिंदै गएको खाडल बारे चिन्ता व्यक्त गरिएको छ ।
उपरोक्त शीर्षकहरुमा गरिएको विश्लेषणलाई यस पुस्तकको प्रकाशक मण्डलले नै संश्लेषण पनि गरेको छ । त्यसको कार्यकारी सारांश (Executive Summary) नामको उपशीर्षकमा स्पष्टसंग लेखिएको छ, “वैश्विक अर्थव्यवस्थाका लागि भविष्यको चित्र अंध्यारो देखिन्छ ।

विश्वमा आर्थिक लगानिका शर्तहरु कस्सिएका छन्, औद्योगिक उत्पादन मध्यम छ, व्यापारिक तनाव चर्कंदो छ र उदीयमान केही ठूला बजार तथा विकासशील अर्थतन्त्रहरुले अत्यधिक चर्को आर्थिक तनावको अनुभुति गर्न थालेका छन् । हावाका यी झोंक्काहरुको सामना गरिरहेका ती बजार र अर्थतन्त्रहरुले त्यसमा सुधार गर्ने आफ्नो सामथ्र्य गुमाएका छन् । नकारात्मक जोखिमहरु अझ बढेका छन् र ती जोखिममा वित्तीय बजारमा आउने अव्यवस्थित उथलपुथल र व्यापारिक विवादमा हुने बृद्धि आदि पर्दछन् ।

उदीयमान बजार तथा विकासशील अर्थतन्त्रहरु र विशेषतः कम आयवाला देशहरुमा ऋणको जोखिम अझ बढेको छ । वारंवार आईपर्ने मौसम सम्बन्धी गंभीर परिघटनाहरुका कारण अन्तर्राष्ट्रिय बजारमा गरीविलाई अझ गहिर्याउने गरी खाद्यान्नको मूल्यले ठूलो छलाङ्ग मार्ने संभावना बढेको छ ।” यो आगामी विश्वको यथार्थ चित्रण हो ।
अब आफ्ना कुरा

विश्व बैंक भनेको पुँजीवादी विश्व व्यवस्थाको आर्थिक मेरुदण्ड हो । यसमा दुई मत छैन । यसले साम्राज्यवादका नाईकेहरुका लागि आर्थिक नीतिहरु निर्माण गर्ने काममा निर्णायक भुमिका खेल्दछ । पुँजीवादको वैचारिक आधार नवउदारवाद क्रमशः असफल बन्दै गएको र त्यसको विकल्पमा नयाँ विचार पनि स्थापित नभैसकेको वर्तमान सङ्क्रमणकालिन अवस्थामा विश्व बैंकले विश्वको भविष्य अन्धकार देखेको छ ।

बुर्जुवा चिन्तकहरु (Think Tanks) पुँजीवादी व्यवस्थाको रक्षाका लागि नयाँ उपायको खोजीमा भौंतारिइ रहेका छन् । यी दुवै पुस्तकहरु यसैका परिणाम हुन् । यहाँ उनीहरुले एउटा उपाय सुझाएका छन् त्यो हो प्रविधिको कमाण्डमा कामगर्न “सक्षम” मानवीय पुँजी निर्माण गर्ने शिक्षा प्रणालीको स्थापना र त्यसै अनुरुप आर्थिक प्रणाली तथा संरचनाहरुको निर्माण । यसलाई साम्राज्यवादीहरुले सङ्कट मोचनको उपयुक्त हतियार ठानेका छन् ।

यहाँ उनीहरुले प्रविधि अनुरुपको शीप विकास गर्ने जुन उपाय सुझाएका छन् त्यो चेतनालाई प्रविधिले कमाण्ड गर्ने उल्टो बाटो हो । चेतना र प्रविधिको द्वन्द्वमा चेतनाले प्रविधिलाई निर्देशन तथा नियन्त्रण गर्नु पर्दछ प्रविधिले चेतनालाई होइन । साम्राज्यवादीहरुले अत्यधिक मुनाफा आर्जन गर्नका लागि प्रविधिलाई अनियन्त्रित रुपमा छाडा छोडेका छन् ।

यसले प्रविधिको भरपुर उपयोग गरेर देश र जनतालाई समृद्ध बनाउने तिर होइन, बरु पुँजीपतिहरुको एउटा सानो हिस्सालाई प्रविधिको मालिक बनाएर अथाह सम्पत्ति आर्जन गर्ने बाटो अझ फराकिलो पारिदिने र बाँकीलाई बेरोजगार बनाएर सडकमा मिल्काई दिने कुरा छर्लङ्ग छ । वस्तुतः यो सङ्कट मोचन गर्ने उपयुक्त विधि नभएर पुँजीवादी विश्व व्यवस्थामा थप सङ्कट थोपर्ने हतियार हो । पुँजीपतिले निर्माण गर्ने सबै वस्तुहरु अन्ततः पुँजीवादका मलामी हुन् भनेर कम्युनिस्ट घोषणापत्रमा मार्क्स र एङ्गेल्सले भन्नु भएको यसै भएर हो ।

सर्वहारा वर्गले शिक्षाको विकासको कहिल्यै विरोध गर्दैन । तर कुन प्रयोजन र कसका लागि शिक्षाको विकास, यसमा भने सर्वहारा वर्गले गहिरो चासो राख्ने गर्दछ । सर्बहारा वर्गले देश र जनताको सामुहिक भलाइका निमित्त प्रविधिको समयानुकुल विकास र प्रयोग गर्न शिक्षा प्रणालीमा फेरबदल गरिराख्नु पर्दछ भन्ने कुरामा जोड दिन्छ ।

तर यसका लागि सर्बहारा वर्गको नेतृत्वमा वैज्ञानिक समाजवादको स्थापना अनिवार्य छ र अनि मात्र प्रविधिलाई श्रमजीवि वर्गको सामुहिक सम्पत्ति बनाउन र त्यसलाई देश र जनताको समृद्धिका पक्षमा प्रयोग गर्न सकिन्छ । पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको नेतृत्वले प्रविधिलाई सर्बहारा वर्गको हितमा प्रयोग गर्दैन, पुँजीपति वर्गको हितमा काम गर्दछ । प्रविधिको आफ्नै भन्ने वर्ग हुँदैन । जुन वर्गले प्रविधिको नेतृत्व गरेको छ त्यसले त्यसैको सेवागर्ने हो ।

अहिले पुँजीवाद गंभीर सङ्कटमा छ । यो विश्व सर्बहारा क्रान्तिको विकासका निमित्त अत्यन्त अनुकुल परिस्थिति हो । यो स्थितिमा विश्वभरका सबै क्रान्तिकारी कम्युनिस्टहरुले आआफ्नो देशमा आन्दोलनको विकास गरेर र “संसारका मजदुर एक हौं !” भन्ने नाराका आधारमा अन्तर्राष्ट्रिय एकता निर्माण गरेर समाजवादको स्थापनाका लागि अगाडि बढ्नु जरुरी छ ।

पुँजीवादको अन्त र वैज्ञानिक समाजवादको स्थापना अब धेरै टाढा छंैन । १९३०मा जोहन मेनार्ड केनिसले प्रविधिको विकासका कारण आउने १०० वर्षमा मानवजाति प्रतिदिन तीन घण्टा काम गरेर पुग्ने फुर्सद र प्रचुरताको युगमा प्रवेश गर्ने छ र त्यतिबेला श्रम मन बहलाउने साधन बन्ने छ भनेका थिए ।

प्रविधिको विकासले उनको त्यो कल्पनालाई आज संभव बनाएको छ । तर, त्यो पुँजीवादी व्यवस्था अन्तर्गत होइन वैज्ञानिक समाजवादमा मात्र संभव छ । वैज्ञानिक समाजवादको स्थापना पछि श्रमिक वर्गको नेतृत्वमा हुने प्रविधिको समुचित प्रयोगले जोहन मेनार्ड केनिसको कल्पनालाई व्यवहारतः सत्य साबित गर्ने छ ।