झर्रोटर्रो : सरखारको शत्रु

झर्रोटर्रो : सरखारको शत्रु

नेपाल मण्डलको सरखारलाई यतिखेर शत्रुले सताएको छ । शत्रु पनि महाशत्रु भएर उदाएको छ । अजङ्गको शत्रु बनेर सरखारकै अगाडि ठिङ्ग उभिएको छ । मानौ कि यो शत्रुले सरखारलाई भष्म खरानी पारोस् । सरखार शत्रुदेखि आतङ्कित छ । भयभित छ । त्रसित भएर लुगलुग काँपिरहेको छ । यस्तो उखरमाउलो गर्मी याममा पनि पुसमाघको ठिहीले कठ्याङ्ग्रीएर काँपेझैँ काँप्ने बनाएको छ शत्रुले । शत्रु निकै ज्याद्रो छ । प्रेतकालदेखि प्रेतपिचासले चोरऔँलो ठड्याएर सरखारको अड्डा अगाडि मूलगेटैमा उभिएर खबरदारी गरे जस्तै गरेर अहिले सरखारको शत्रु दख्खिन ढोका थुन्न उभिएको छ । यसरी सरखार र सरखारी मनुवाहर्को हुर्मत लिने शत्रुलाई ठाउँका ठाउँ ठिक पार्नु सरखारको मुख्य काम हो । अधिकार र दायित्व पनि हो । नत्र सरखारलाई शत्रुले निल्न के बेर ?

यसरी सरखारलाई सताउने शत्रुको नाउँ हो पत्रकार । यो पत्रकार नाउँको जिनिसले आपूmलाई सम्विधानको चौथो अङ्ग हुँ भन्दै डुक्रिन्छ । तर सम्विधानको कुनै पनि धारमा यसलाई चौथो अङ्ग भनेर लेखेको यो कैलुब्राहले देखेको पनि छैन । हजार पटक दोहो¥याएर रटना लाउँदा पनि चौथो अङ्ग हो है भनेको कुरो भेट्टाउन्न । कागले आफ्नो नाउँ आफैँ काडेझैँ यो पत्रकारले आपूmलाई चौथो अङ्ग हुँ भनेर स्वघोषणा गरेको मात्रै हो । सम्विधानमा राष्टपति अड्डा, सरखार, मान्नेहर्को अड्डा, अदालती अड्डा, नोकरी लाउने अड्डा, भ्रष्टाचारी तह लाउने अड्डा, चुनाउ गराउने अड्डा, मनुखेको अधिकार खोज्ने अड्डा आदि इत्यादीलाई सम्विधानको अङ्ग भनेर त सम्विधानमा लेखेकै छ तर यो पत्रकारलाई सम्विधानको कुनै पनि पाना र धारामा लेखेकै छैन । त्यत्तिकैमा आफैँले आफैलाई सम्विधानको अङ्ग भनेर धाकधक्कु लाउँच । अझ सरखार, मान्ने र अदालत पछि आपूmलाई चौथो स्थानमा राखेर धक्कु लाउँदै हिँड्छ । सम्विधानमा नलेखेकै कुरामा त धाकधक्कु लाएर हिँड्नेले सरखारलाई कति सता’को होला ? अनुमान लाउने कुरो भयो । सरखारी पाटीका नेताहर्ले पालेका डन भन्दा पनि खतरनाक डन पो हो त बाबै यो पत्रकार भन्ने जन्तु त । पत्रकार हो कि पत्रुकार हो यो ? जे होस् अहिले नेपाल मण्डलमा सरखारको महाशत्रू भएर देखिएको छ यो पत्रकार नाउँको जिनिस ।

यो पत्रकारले सरखार र सरखारी नेताहर्लाई कम्ता खेदो खनेको छ ?! आम्मामामा । हुर्मतै लिन थाल्यो त बाबै । त्यै भएर त यसलाई शत्रु भनिएको हो । सरखारले भ्रष्टाचार पनि गर्न नपाउने अरे, कमिशन पनि खान नपाउने अरे । मन्तरीहर्ले विकासे फाइँफुट्टी पनि लाउन नपाउने अरे, पर्धानमन्तरीले उखानटुक्काको विकास पनि गर्न नपाउने अरे । विदेश भर्मन गरेर ढिकुटी रित्याउन पनि नपाउने अरे । आफ्ना पाटीका, पाटीभित्र पनि आफ्नै सहोदर गुटका कार्यकर्ताहर्लाई सरखारी नियुक्ति पनि दिन नपाउने अरे । सरखारलाई हानिपजनी हुनेगरी सडकमा जुलुस लाएर सरखारको विरोध गर्नेलाई सरखारले भ्mयालखानामा कोच्न, मुद्दा लाएर अदालतमा ठिँगु¥याउन, तिनका दललाई पर्तिबन्ध लाउन पनि नपाउने अरे । यी पत्रकारहर्ले हात्तीटाउके अक्षरमा लेखेर छापिहाल्चन् । गाउँगाउँमा च्याउजस्ता उम्रिएका रिरि स्टेसनबाट फुकि हाल्चन् । अझ ऐले त हातहातमा भएका मोविलमा आउने गरी सामाचार, फुटा र बोलीचाली समेत हालेर सरखारको विरोध गर्चन् । सरखारले आफ्ना पाटीका हनुमानहर्लाई सरखारी ढिकुटी बाँड्न पनि नपाउने अरे । चुनाउमा जिउ ज्यान दिएर, खालि पेटमा रक्सी मासु मात्रै हालेर खाइ नखाइ गरेर आपूmलाई बाक्साका बाक्सा भोट खसाल्दिने कार्यकर्ताहलाई सरखारी ढिकुटी बाँड्न पाउनु त सरखारको अधिकारकै कुरा त हो नि । त्यै गर्दा पनि यी पत्रकार हुन् कि पत्रुकार हुन् तिनले हुर्मतै लिएर समाचार छापेर, सुनाएर नेतालाई नाङ्गेझार पार्ने यी पत्रकार व्ययीमान हैनन् त ? हो, त्यसैले यी पत्रकार सरखारका सोरै आना शत्रु हुन् । यिनलाई जति सक्यो छिटो तह लगाई जिन्दगीभर पत्रकार बन्ने छैन भन्ने गराएर भ्mयालखानामा कोच्नै पर्च सरखार । यो कैलुब्राहको पनि घोर समर्थन छ । छिटो कानून बनाएर कोच्न प¥यो ।
यो पत्रकार भन्ने जिनिस जता सरखार गयो उतै पछि लाग्च । नेताहर्को पछि पछि पनि यै दगुर्च । मान्ने मन्तरीका दैलो सुँघ्दै हिँड्च । त्यसो गरेपछि त तिनले खाएको, हिँडेको, डुलेको सोमरसमा झुलेको र आची गरेको पनि देखिन्च । अनि त्यसैलाई समाचार बनाएर छापिदिएपछि सरखार र नेताहर्लाई रिस नउठे कस्लाई उठ्च त ? केके जाति अन्तरबार्त सन्तरर्बार्ता लिने भनेर बोलाउनी र चाहिँदा नचाहिँदा प्रश्न सोधेर अन्ठसन्ठ पारेर हैरान खेलाउनी पनि यिनै पत्रकार । यस्तालाई ढाड भाँचिने गरी जरिबाना तोकेर आजिवन भ्mयालखानामा सडाउने कानून बनाएर ठिक नपारी हुन्न । घरघरै बिजुली पत्रकारिताका उद्योग चालाउने, टोलैपिच्छे पत्रिका छाप्ने सबैलाई तिनले त्यो काममा ज्यान गएनी हात हाल्न नसक्ने गरी तिनका उद्योग सुकाइदिन पर्च । तिनका बिजुली पत्रकारका कारखाना, झोले पत्रपत्रिका, टोले एफएम रिरिबाजा सबै बन्द गराइदिन पर्च । त्यसपछि राजधानीमा दुइचारोटा ठूला ठूला कर्पोरेटहर्ले चलाएका मिडिया मात्रै राखेर सरखारले आफ्नो भजन गाउन लगाउन पर्च । बरू तिनलाई आफ्नो भजन किर्तन गाए बापतमा सरखारी ढिकुटीबाट दुईचारोटा सुटकेशको कलो फालिदिन पर्च । यसो नगरे यो दुइत्याईको सरखारलाई सुखमन खान लाउन दिन्नन् यी साइँद्वाहर्ले ।
नेता हुन कम्ता गारो छ ? अझ सरखारैमा पुग्न झन् कति गारो छ कति ? सगरमाथा चड्न त के गारो छ र ? नेता हुन र सरखारमा पुग्न कम्ता गारो छ । सगरमाथामा त एउटै मनुखे तेइस चौबीस चोटी पुगेका छन् । सगरमाथा चढेजस्तै सजिलो भए त सरखारमा पनि तेइसचोटी त के पचासचोटी पनि पुग्ने थिए नेता । आमाको पेटबाट फुत्त निस्कने बित्तिकै नेता भैहाल्ने र सरखारमा पुगिहाल्ने कुरो हो र ? स्कुले विद्यार्थीकालदेखि नै कत्रो दुःख, कष्ट बेहोरेर, जेलनेल खाएर, भागदौड गरेर, भूमिगत भएर, पुलिसका बुट थाप्लामा बजार्न दिएर, विरोधी पाटीसित लडेर, शरीरभरि टाटाटुटी बनाएर, अर्धअपाङ्ग बनेर, सम्पत्ती रित्याएर, बाउआमा, स्वास्नी, छोराछोरी, सासूससुरा र इष्टमित्रको गाली खाएर, अलिअलि पढेर बल्ल्ल्ल नेता हुन पर्च । त्यसरी बनेको नेताले चुनाउमा गुण्डा पालेर, लाखौँ करोडौँ खर्च गरेर चुनाउ जित्न पर्च । त्यति गरेर पनि अझै सरखारमा पुग्दा विदेशी प्रभुहर्को पाउ मलेर, दूतहर्को ढोका चाहारेर, नदीनाला, बनजङ्गल, खानी खनिज, ढुङ्गा गिट्टी दिम्ला भनेर कबुल गरेर बल्ल्ल्ल्ल्ल सरखार बनाउन पर्च । यस्तो चौरासी जुनी बिताएर बनेको सरखारलाई यी पत्रकारले नानाभाँती लेख्ने, छाप्ने, टिभि र रिरिबाट फुक्ने र सरखारलाई उडाउने गर्न पाइन्च ? यो के चाला हो ? त्यसैले यी पत्रकार भनेका सरखार, सरखारी र सरखारवादी पाटीको नेताहर्को शत्रु नै हुन् । शत्रु मात्रै हैन महाशत्रु, घोरशत्रु पो हुन् । पख तिम्लाई मिडिया कानून मात्रै मान्नेहर्ले पास गरुन् त ? के हुनी रैच हेर्दै जाउला ।
५ जेठ २०७६