राजनीतिक जीवन नै सर्वोत्कृष्ट जीवन हो

राजनीतिक जीवन नै सर्वोत्कृष्ट जीवन हो

पूरै जीवन कम्युनिष्ट पार्टीमा बिताउनु भयो । पार्टी जीवनमा प्रवेशबारे केही बताइदिनोस् न ?

मेरो किशोर अवस्थासँगै म भारतमा गए । त्यहाँको मजदुर आन्दोलनबाट म निकै प्रभवित भए । त्यसमा सहभागी पनि भए । पाँच वर्षसम्मको मेरो मजदुरसँगको बसाइँ र कुराकानी तथा व्यवहारले ल्याएको परिवर्तन सोच र अपेक्षा भिन्न बनाइदिइसकेको थियो । गरीब, निम्न वर्ग र निम्नमध्यम वर्गका किसानहरु समेटेर भारतकै मजदुर आन्दोलन जस्तो आन्दोलन गाउँघरमा चलाउने इच्छा थियो । किसानहरुलाई एक ढिक्का बनाएर आन्दोलनको उठान गर्नुपर्छ भन्ने कुरा मनमा खेलिरहन्थे । नेपालमा परिवर्तन कम्युनिष्ट पार्टीले मात्र ल्याउनसक्छ भन्ने कुरामा म ढुक्क थिए ।

म असारको महिनामा घर फर्किएर आएको थिए । गाउँको पुरानो व्यवस्था जस्ताको तस्तै थियो । गाउँघरमा सामन्तहरुको बिगबिगी थियो । पुरानो रुढीग्रस्त संस्कारले सामन्तहरुको रजाइँमा निकै बल पुर्याएको थियो । त्यसम कत्ति पनि परिवर्तन नभएको देखेर मलाई आश्चर्य लागेर आउँथ्यो पनि । पुरानै खालका दण्ड व्यवस्थाहरु यथावत् थिए । डाँडमार निकै गरिन्थ्यो । एउटा असल कम्युनिष्ट पार्टीको सदस्य बन्नुपर्छ भन्ने भित्रैदेखि लागिरहेको थियो । त्यहाँबाट अधययन गर्न आउने विद्यार्थीहरु सबै मजदुर किसान संगठनमा आवद्ध हुँदै गए । हाम्रो त्यहाँ रंगनाथ भन्ने एकजना मानिस हुनुहुन्छ, उहाँ रुसमा पढेर सुन्तला खेतीको विशेषज्ञतासहित नेपाल फर्कनु भएको हो । उहाँ सदरमुकाममा बस्नुहुन्थ्यो ।

गाउँमा मेरो विचारसँग स्थानीय सामन्तहरुको विमति सुरु हुन थालेपछि यसलाई मार्नुपर्छ, लखेट्नु पर्छ भन्न थालेपछि म सदरमुकाम जाने रंगनाथसँग भेट हुने र घर पर्कने गर्दथे । उहाँसँग कम्युनिज्मका बारेमा निकै कुराकानी हुन्थे । उहाँ निकै अध्ययनशील भएकाले राम्राराम्रा छलफलहरु हुने गर्दथ्यो ।

हामीले रुसमा पुगेको मान्छे पूरै कम्युनिष्ट भएर आउनु भएको होला भन्ठान्थ्यौं तर उहाँ आफ्नो पढाइको सिलसिलामा त्यहाँ पुग्नु भएको थियो । तथापि उहाँमा कम्युनिष्टका बारेमा केही राम्रा ज्ञान र जानकारीहरु थिए । उहाँले भित्रभित्रै विद्यार्थीहरुका माझ संगठन बनाउनु पनि हुन्थ्यो ।

जनताका बीचमा जान कस्ता व्यवधानहरु आइपरे, त्यतिबेला ?

मलाई जनताका बीचमा कसरी जाने भन्ने साच्चिकै चिन्ता थियो । केही र कोही माध्यम पनि थिएन । यसका लागि सानो औषधि पसल खोल्ने र प्रारम्भिक चरणका औषधि तथा साना किराना सामानहरु राखेर काम सुरु गर्ने जुक्ति आयो । मानिसलाई त्यहाँ जम्मा गरेर जनताका बीचमा जाने सोच मैले बनाए । सम्बन्ध बिस्तारको क्रम बढ्दै गयो । म सदरमुकाम गएका बखत रंगनाथजीलाई भेट्थे र उहाँले दिएका समाचारहरु नेपालगञ्ज जाँदा लिएर त्यहाँ रेका यमलाल चुके भन्ने मानिसलाई दिने गर्दथे । मातृभूमि भन्ने एउटा पत्रिका निस्कन लाग्यो । भण्डारी थरका एकजना हुनुहुन्थ्यो त्यसको सम्पादक । उहाँसँग पनि हाम्रो चिनजान भयो ।

हामीहरुले संगठन सम्पर्क तथा कामहरु विस्तारै अघि बढाउन थाल्यौं । कालीकोटको डिल्लीकोटमा हामीले माक्र्सवादी अध्ययन मण्डल निर्माण गर्यौं । जुम्ला, हुम्ला, कालिकोट, दैलेख र सुर्खेत सम्मका साथीहरु त्यसमा आवद्ध भयौं । बेलाबेलामा मिटिङ बोलाउने र पत्रपत्रिका तथा पुस्तकहरु खेरेर अध्ययन गर्ने पनि गर्दथ्यौं । ‘कमकर’ भन्ने एउटा पत्रिका पनि प्रकाशन गरेका थियौं । अर्को दैलेख भन्ने पत्रिका पनि प्रकाशनमा थियो । यी पत्रपत्रिका देखि मार्क्सको घोषणापत्रसम्मको अध्ययन गर्ने गर्दथ्यौं । यतिबेलासम्म मजदुर किसान पार्टीको संगठन युवाहरुमा निकै अघि बढिसकेको थियो ।

केन्द्रीय राजनीतिक घटनाक्रम केही थिए त्यतिबेला?

२०३३ देखि बहुदलवादीहरुको चहलपहल सुरु भएको थियो । नेपाली कांग्रेसले त्यसको नेतृत्व गरिरहेको थियो । पछि २०३६ सालमा आनदोलनको वातावरण बन्न गयो । त्यो आन्दोलनमा हामीहरुको अलि भिन्न तरिकाले जाने निधो भयो । यसले कम्युनिष्टभित्र विभाजन ल्याइदियो । एउटा धार यो चुनावलाई उपयोग गर्नुपर्छ भन्ने र अर्कोधार बहिस्कार गरेर जानुपर्छ भन्ने । हामी उपयोग गरेर जानुपर्छ भन्ने पक्षमा पर्यौं । मजदुर किसान संगठनले पनि यही निर्णय गर्यो । तर अरु कम्युनिष्ट पार्टीहरुले त्यसो गर्दा धोखा हुन्छ भनी बहिस्कार गरेर गए । कांग्रेसहरुमा पनि उपयोग र बहिस्कारका कुरा निकै चलिरहेका थिए ।

यही प्रचारको क्रममा हामी अलि बढी र व्यापक हुँदै जनताका बीचमा पुग्यौं । हामीले प्रतिक्रियावादी सत्ताका भित्र गएर जनताका आवाजहरु उठाउने निधो गर्यौं । प्रचार पनि त्यसरी नै गर्यौं । म पहिलो पटक त्यहाँ विजय पनि भए । दैलेखमा चारजना विजय भयौं । एकजना उदयजंग शाही, एउटा म, एउटा मणिराम तिवारी, अर्को एकजना मेलतोडीको साथी हुनुहुन्थ्यो । हामी चारजना जितेर आएपछि दैलेखको जिल्लासभा थर्कमान हुन थाल्यो । विचारले निकै ठूलो काम गर्दो रहेछ भन्ने हामीहरुलाई प्रत्यक्ष अनुभूत भयो । त्यतिका धेरै थिए पञ्चहरु तर हामी चारजनाबाट सबै थर्कमान थिए ।

कसरी प्रस्तुत हुनु भयो त्यो भिन्न विचारको राज्यसत्ता भित्र कम्युनिष्ट विचार लिएर ?

त्यति बेला गाउँफर्क राष्ट्रिय अभियानले शोषणरहित समाजको सिर्जना गर्ने परिकलपना अघि सारेको थियो । त्यो हाम्रा लागि निकै उचित हतियार थियो । हामीले त्यही कुराहरुलाई उठाएर त्यहाँका महापञ्चहरुलाई धूलोपीठो पार्दथ्यौं । पञ्चहरुकै घोषणाहरुबाट हामीले हाम्रा अनुकूलका बुँदाहरुलाई उचित हतियारका रुपमा प्रयोग गर्दथ्यौं । दुस्मनले बनाएका भौतिक हतियार जस्तै तिनै दुस्मनले बनाएका र घोषणा गरेका प्रतिबद्धताहरुलाई पनि उनीहरुका विरुद्धको हतियारका रुपमा प्रयोग गर्यौं ।

पार्टी निकै कडा खालको भूमिगत थियो । अहिलेको जस्तो बहुदलीय व्यवस्थाको अवस्था होइन त्यो । यति भएपछि उनीहरु पनि हाम्रा विरुद्धमा आए । उनीहरुले यी चारजना कम्युनिष्टहरु हुन्, यिनका नजिक पनि नजानु र यिनले बोलेक कुराहरु पनि नसुन्नु भनेर प्रचारमा उत्रिए । यसमा त्यति बेलाका पञ्चहरुले सकेजति बल लगाएका थिए । हामीले हामी कम्युनिष्ट हौं भनेर त्यति ठूलो प्रचार अभियान बनाएर जनताका बीचमा गएको भए करोडौं रुपैयाँको बजेटले पनि धान्ने थिएन । तर उनीहरुले त्यति ठूलो प्रचार गरिदिए । उनीहरुले तयो निःशुल्क गरिदिए । जनताले आफ्ना वर्गका मानिसहरु चिने । जनताले यिनीहररु कम्युनिष्ट हुन् अरे । के कस्तो गर्दा रहेछन् ? पञ्चहरुले भने झैं बदमासीहरु गर्दारहेछन् कि के गर्दा रहेछन् भनेर निकै गहिरो गरी नियालिरहँदा रहेछन्

हामी त भावुक पनि हुने । आत्मैदेखि लागेर पनि होला । विचार जनता कसरी जोड्ने भन्ने चिन्ता पनि निकै थियो । केही नयाँ गर्न पाए भन्ने पनि थियो । जनताको सेवा ने हाम्रो लक्ष थियो । हाम्रो कार्यशैली पञ्चहरुको भन्दा धेरे वैज्ञानिक, निकै आत्मीय र सुमधुर थियो । धेरै जनसेवी थियो । अब त जनताका बीचमा कमयुनिष्ट भन्नेहरु त असल मानिसहरु रहेछन् । यी असल मानिसहरु आए पछि पञ्चहरुको खाइपाइ आएको व्यवस्था खोसिन्छ भनेर नै यिनीहरुलाई ‘कम्युनिष्ट भनेका बदमास हुन्छन्’ भनेर प्रचार गरिएको होला भन्ने जनताले थाह पाउँदै र आफैमा कुरा गर्दै भ्रममुक्त हुँदै पनि गए ।

यसले दैलेखमा हाम्रो पार्टीको संगठन त पूरै बिस्तार भयो । जिल्लाव्यापी रुपमा असाध्यै बाक्लो संगठन निर्माण भयो । हामी जहाँ पुग्छौं, त्यहाँ मानिसहरु जम्मा हुने र संगठित भइहाल्ने गर्नथाले । त्यति बेला भिन्न मोर्चा त बनाएनौं, तर त्यतिबेलाको चुनाव उपयोगको कार्यनीतिले दैलेखमा संगठन बिस्तार गर्न हामीलाई निकै सहयोग पुर्यायो । हामी मजदुर किसान संगठनकै नामबाट लडेका थियौं । पछि ३ प्रतिशत थ्रेसहोल्डको कुरालाई लिएर म पछि राष्ट्रिय पञ्चायतमा पनि चुनाव लडे, २०४३ सालमा ।

यो उपयोगको निरन्तरता कति लामो समयसम्म रह्यो ?

२०४६ सालपछि पनि पार्टी चुनावमा रहिरह्यो । हामी चुनावमा लड्न तयारी भयौं पनि । तर तात्कालिन सरकारले थ्रेसहोल्डको निहु बनाएर हामीलाई चुनाव चिन्ह दिन पनि निकै आनाकानी गर्यो । पछि मात्र बल्लतल्ल दियो । प्रशान्त महाजंग चुनावमा उत्रिए । थ्रेसहोल्डको कुरा निकै उठ्यो । यदि यो थ्रेसहोल्डको सीमा रहिराख्यो भने राजनीतिक पार्टीहरुलाई पाखा त लगाउने भयो भन्ने बहस पनि चल्यो । त्यति बेला पनि ठूलै बहस र लडाइँ चलेको हो । हामीले पञ्चायत फालेर फेरि पञ्चायत ल्याउनु हुँदैन भनेर बहसको थालनी गर्यौं । यसले सत्तासिन पार्टीलाई निकै अप्ठेरोमा पुर्यायो ।

बहुदल आएपछि धेरै विस्तार भयो हाम्रो संगठन । त्यसो त २०३६ सालमा आम माफि पाएर पनि धेरै देशभित्र आएका थिए । विनोद शाह पनि आम माफीमा परेर फर्किए । उनी नेपाली कांग्रेसका हुन् । तथापि राजनीतिक वातावरण केही खुकुलो भएपछि संगन निर्माण र विस्तारको माहैल पनि बन्दै गयो । विनोद शाहले कांग्रेसको एउटा पर्चा बोकेर ल्याएका थिए, त्यसमा राजाविना देश बच्दैन भन्ने लेखिएको थियो । यो शायद वीपीको मेलमिलापको नीतिमा आधारित थियो ।

मैले उनलाई यो त गलत कुरा ल्याउनु भएछ भनेर सम्झाए पनि । उनले प्रश्न पनि गरे– किन भनेर ? मैले तत्काल भनिदिए जनताविना पो देश रहँदैन त । राजा नभएका देशहरु कति छन् म तपाइँलाई गनेर देखाइदिन सक्छु भने । राम्रो ठाउँमा बसेको मानिसले त राम्रो सन्देश लिएर पो आउने हो, यो त ठूलो गल्ती भयो भनेर सम्झाए । उनी भरिया मात्र भएका थिए । यसको प्रस्तोता त अरु नै थिए । इन्डियामा पढेका र त्यो पनि साइन्स पढेका मानिसले यसो गर्न भनेर सम्झाए । उदाहरण दिंदै मैले भने हेर्नोस् न भारतमा राजा छन्, न त चीनमा । हुनसक्छ कुनै जमानामा त्यहाँ पनि राजा थिए होलान् त्यो भिन्न कुरा हो । अहिले विश्वमा कति देशहरुमा राजा छन् त ? अधिकांशमा छैनन् भनेर सम्झाए पनि ।

गाउँको सामाजिक काम केही सम्पन्न गर्नुभयो ?

म ०३८ तिर प्रधानपञ्च पनि थिए । गाउँमा हाइस्कुल बनाउने काममा लागि परेको थिए । मानिसहरु त्यतिबेला झारा तथा श्रममा काम गर्ने गर्दथे । यसलाई जनश्रमदान भनेर नाकमाकरण गरिएको थियो । त्यतिबेला एउटा अन्तरविरोध आइदियो । त्यो थियो स्कूलका हेडमास्टरलाई जनताले मन नपराउने तर हामीले भनिसके पछि जनता फेरि श्रमदानमा आइदिने । ओल्लो गाउँ र पल्लो गाउँको झाराश्रम चल्ने गर्दथ्यो । तर हेडमास्टरका कारण गाउँलेहरु कोही पनि विद्यालयमा नजुट्ने समस्या रहन गयो ।

एकजना जिम्मेवार मानिस गलत भयो भने यसो पनि हुँदो रहेछ । यो पनि सार्वजनिक व्यक्ति र ठाउँमा । हाइस्कुलको दारपात जंगलबाट ल्याउनु थियो । समस्या परेपछि मैले वरपरका गाउँहरु सबैलाई श्रम गर्नका लागि सुचना गरे । सबै गाउँलेहरु आएर त्यो काम एककै दिनमा पूरा गरे । तर त्यही कुरा हेड माष्टरले भनेपछि नहुने भएको थियो । सार्वजनिक व्यक्तिहरुले मनपरी र जनतालाई नपच्ने कुरा कहिल्यै पनि गर्नु हुँदैन ।

मानिसहरुले विचारका आधारमा कसरी भेद पाउने र व्यवहार गर्न थाले ?

मानिसहरुले जीवन शैली, व्यवहार, बोली र काम गराइको तरिका हेर्दा रहेछन् । हामीले बोलेका कुरा पुरा गर्ने गर्दथ्यौं । तर अरुले वचन दिने र बिर्सने गरेका हुन्थे । यसमा सबैभन्दा बढी कांग्रेसहरु नै पर्दथे ।

म, पदम बहादुर, उदयजंग शाही त्यहाँका पुराना कार्यकर्ताहरु थियौं । रंगनाथजी पुरानो मानिस, उहाँ कर्मचारी हुनुहुन्थ्यो । तर उहाँ पनि जिल्ला कमिटीमा हुनुहुन्थ्यो । अर्को एकजना रत्नबहादुर खड्का गरी ५ जनाको कमिटी थियो । रत्नबहादुर खड्का अहिले पनि दैलेखको मेयर हुनुहुन्छ ।

त्यति बेलाको स मयमा पनि हामीहरुले दैलेखमा, जुम्लामा पनि जितेका थियौं । कालीकोटमा थोरै मतले मात्र हारियो । २०४७ सालमा राष्ट्रिय सम्मेलनपछि म निरन्तर मजदुर किसान पार्टीको केन्द्रीय समितिमा रहिराखे ।

तपाईलाई नेपाली राजनीतिमा अनौठो लागेको कुरा केही छ ?

नेपालमा महाकली सन्धिपछि एक अनौठो लहर आयो । यसले नेपाली राजनीतिमा अनौठो तरंग पैदा गर्यो । त्यो थियो हरेक पार्टीमा फुट । एमाले फुटेर एमाले र माले भयो । कांग्रेस फुटेर कांग्रेस र प्रजातान्त्रिक कांग्रेस बन्न गयो । राप्रपा पनि फुट्यो, अन्य वाम पार्टीहरु पनि फुटे । यो अनौठो संयोग थियो वा प्रायोजित थियो, खोजीको विषय बनेको छ ।

२०५२ सालको महाकाली सन्धिले यो विग्रह पैदा गरिदियो । एउटा पत्रिकाले रविन्द्रनाथ शर्माले रोहितको मजदुर किसान पार्टीलाई एमालेको पोल्टामा हालिदिने भनेर लेख्यो । यसले मजदुर किसान पार्टीमा एउटा तरंग नै ल्यायो । रोहितलाई प्रधानमनत्री बनाउने चर्चा पनि चल्न थाले ।

केशरजंग रायमाझी, सुरेन्द्र नेवाहरु दरवारिया रहेछन् । साना पार्टीका पनि प्रधानमन्त्री बनेका छन् भनेर दरवारमा उल्का हालिदिने गरेका रहेछन् । त्यो रोहितलाई पचाउने नियतले रहेछ । त्यो उल्का रोहितको मजदुरकिसान पार्टीको ओज, गरिमा र विश्वासमा धमिरा लगाइदिनु थियो । रोहितले भनेका थिए जनताले हामीलााई म्यान्डेट दिएको छैन, म्यान्डेट दिएपछि जाने न हो ।

त्यसपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले सरकारका जाने भन्ने कुरा आयो । खेल चलेको रोहितलाई फसाउने, तर कुरा बन्न गयो चन्दएमाले सरकार बनाउने । रोहित बाहिर बसेर आलोचना गर्नथाले, उनलाई फसाउनु पर्छ भन्ने योजना पनि कम थिएन । रोहितको पार्टीको मत निर्णायक थियो । केवल चार मत नै निर्णायक थियो । त्यसैले त्यो कारणले रोहितलाई सत्तामा लैजाने कुरा चलिरहको थियो ।

रोहितले हामी निर्णायक होइनौ भनेर भनिरहेका थिए । उता एमालेमा भने चन्दको नेतृत्वमा सरकारमा जान निकै नै हानथाप भइरहेको थियो । वामदेव पनि आए, माधव नेपाल पनि आए, राधाकृष्ण मैनाली र मनमोहन पनि आए । निकै फकाए । तर रोहितले उनीहरुलाई पत्याएनन् । लोभी देखेर रोहितलाई मन पर्दोरहेनछ । रोहित निकै सूचना लिएर खेल्ने मानिस हुन् ।

(क. हर्कबहादुर शाहीसँग उहाँको निधन हुनुपूर्व मूलबाटो डटकमले लिएको अन्तरवार्ताको केही अंश)