राज्यका खम्बाहरु खाँदै सरकारी माफिया

जानकी मन्दिरको परिसर सरकारी माफियाको हातमा

प्रकाशित मिति : २०७६ बैशाख १९

काठमाडौं । काठमाडौंमा बढेको सरकारी माफियाको एउटा स्वरुप भूमाफिया प्रदेश नम्बर २ को ऐतिहासिक, सांस्कृतिक तथा विश्व सम्पदाको सूचीमा रहेको जानकी मन्दिरको परिसर खान पुगेको छ । जानकारका अनुसार प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय ठूला दलका नेता र कर्मचारीहरुको सहभागिता, भागबण्डा र आशिर्वादमा यी भू माफियाको बिगबिगी बढेको छ ।

पत्रकार तथा अनुसन्धानकर्ताहरुका अनुसार जानकी मन्दिरमा पसेको भूमाफियाको स्वरुप त यति ठूलो छ कि यसले बालुवाटार जग्गा प्रकरणलाई समेत पछि पारेको छ । स्थानीय जनता भने जनकपुरको जानकी मन्दिर परिसरमा भएको यो अतिक्रमणकारी भूमाफियाहरुलाई नछोड्ने अठोट लिएर बसेका छन् ।

बालुवाटारको प्रधानमन्त्री निवास नै हडपेर व्यक्तिको निजी नाममा नाम सारी रहेको कुरा प्रकाशमा आइरहँदा उता धनुषामा पनि जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब पारिएको बताइएको छ । भूमाफियाले यस अतिरिक्त उपमहानगरपालिका क्षेत्रभित्रको अर्बौं रुपैयाँ मूल्यबराबरको ९१ बिघा १८ कट्ठा ८ धुर गुठी जग्गा समेत् अतिक्रमण गरेको छ । निकै पेचिलो प्रयास र खिचातानी पछि पनि उक्त जग्गा मन्दिरको नाममा फिर्ता गराउन सकेको छैन ।

पोखरी, मन्दिर तथा गुठीको जग्गा अतिक्रमणमा परेर नासिँदै गएको पहिले देखि नै हो, तर ओली सरकारको पालामा भने थोरै चिनोसमेत नरहने गरी भूमाफियाको हातमा पुगेको छ ।

त्यहाँ हाल काठमाडौंको टुँडीखेलमा झैं टहराहरु निर्माण गरी भाडामा चलाइएको छ । कतिपय जानकी मन्दिर परिसरको जग्गामा त व्यक्तिगत घर र सटर बनाई अतिक्रमणकारीहरु बसिरहेका छन् ।

त्यहीं बस्दाबस्दै भूमाफियाहरुले मन्दिरको आधिकारिक स्रेस्ता नै गायब पारिसकेका छन् । कुरा त यतिसम्म पनि बिकराल बनिसकेको छ कि उक्त जग्गाको आधिकारिक पत्र, साइनबोड र आधिकारिक कागजातमा महन्थको निजी सम्पत्तिका रूपमा दर्ज गरिएको छ ।

हाल त्यही जग्गा अनाधिकृत कागज बनाई बेचबिखन चलिरहेको छ । ती सबै कागजमा महन्तद्वारा किर्ते हस्ताक्षर गरिएको छ ।