एकता र संघर्षबाट रुपान्तरण हुन नसकी फुट भयो भने ‘नयाँ आधारमा नयाँ एकता’ नै उत्तम क्रान्तिकारी विकल्प हो

एकता र संघर्षबाट रुपान्तरण हुन नसकी फुट भयो भने ‘नयाँ आधारमा नयाँ एकता’ नै उत्तम क्रान्तिकारी विकल्प हो

अप्रिल २२, अर्थात् २००६ साल बैशाख १० गते भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको विषयलाई लिएर केही विवाद पनि हुने गरेका छन् । यसबारेमा केही स्पष्ट हुन जरुरी पनि छ ।

स्थापना दिवसका बारेमा कतिपयले २२ अप्रिल त कतिपयले १५ सेप्टेबरलाई मनाउने गरेको देखिन्छ । यो झट्ट हेर्दा त्यति ठूलो बिबाद त होइन, तर नेपाली कम्युनिष्टहरुकै बीचमा आफ्नै पार्टीको स्थापना दिवसलाई लिएर विवाद नै खडा हुनु राम्रो कुरा मान्न सकिदैन ।

नेपाली बिक्रम सम्बतअनुसार कम्युनिष्ट पार्टीको पहिलो पर्चा निस्किएको छ बैसाखको दोस्रो हप्तामा । बैसाखको दोस्रो हप्ता २२ अप्रिल भन्दा पछाडि नै आउँछ । पार्टीको स्थापना नै नभएपछि पहिलो पर्चा कसरी निस्कन्छ, त्यो पनि पार्टीको नाममा । पहिलो पर्चा निस्कनु नै पार्टी स्थापना २२ अप्रिलमा भएको हो भन्ने पहिलो प्रमाण र आधार हो । यसले आशंकाको निवारण गरिदिएको छ ।

१५ सेप्टेम्बरमा कम्युनिष्ट पार्टीको घोषणा पत्र निकालियो र तात्कालीन राजनीतिक ब्युरो तथा केन्द्रीय समितिको बैठक बोलाइयो । १५ सेप्टेम्बरको ऐतिहासिक महत्व यसैमा रहेको छ । पार्टी स्थापना भने २२ अप्रिलमा नै हो ।

नेपाली कम्युनिष्ट आन्दोलन २००६ सालबाट सुरु भएर अहिलेसम्मआउँदा नेपाल कम्युनिष्ट पार्टीले ७० वर्षको उमेर पार गरिसकेको छ । यो उमेर एक सामान्य मानिसको जीवनभरको समय हो । तर जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने लक्ष्य बोकेको एउटा कम्युनिष्ट पार्टीका लागि यो ७० वर्षको समय सुरुआतिकै समय हो । पार्टीको जीवनमा यो थोरै समय हो ।

यो समयसम्म हाम्रो नेपाल कम्युनिष्ट पार्टीले के के गर्यो त ? भनेको, चिताएको र सोचेको जति त पुगेको छैन, तर यति छाटो अबधिमा यसले केही राम्राराम्रा कामहरु पनि गरेको छ । यस अबधिमा पार्टी निकै उतारचढावको प्रक्रियाबाट गुज्रदै अघि बढिरहेको छ ।

विश्वका कम्युनिष्ट पार्टीहरु जस्तै यसको प्रक्रिया पनि उस्तउस्तै रहन गएको छ । यो आत्मगत र वस्तुगत दुवै कारणले हने गर्दछ । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो इतिहासको निकै वस्तुवादी मूल्यांकन गरेर यसको इतिहासलाई एकता–संघर्ष–रुपान्तरण मात्र नभई एकता–संघर्ष–फुटको उतारचढावको संश्लेषणसहित एकता–संघर्ष–फुट र नयाँ आधारमा नयाँ एकता भनेर संश्लेषण गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले गरेको महत्वपूर्ण संश्लेषण भनेको पार्टीका फुुट हुन सक्छ, तर गल्ती र कमी कमजोरीको समीक्षा गर्दै फेरि क्रान्तिकारीहरु नयाँ आधारमा नयाँ एकता आउने गर्दछन् । कम्युनिष्ट अन्तर्राष्ट्रियतामा पनि यही हुँदै आएको छ र यही नै लागू भएको छ ।
हामी नेपाली र हाम्रो नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास पनि यो कुराबाट अछुतो रहन सकेन र सक्दैन पनि । नेपालको पनि र विश्वका पनि पार्टीको जीवन्तता यसैमा देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको इतिहासलाई सर्सर्ती केलाएर हेर्ने हो भने २००६ साल देखि २०१० सालसम्म महासचिव पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी शानदार रुपमा अघि बढेको पाइन्छ । यो अबधि पार्टी स्थापनादेखि पहिलो अधिवेशनसम्मको अवधि हो । २०१० सालपछि वा पहिलो अधिवेशन पछि नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा टुटफुट, विभाजन र अवसरवादको घुसपैठ सुरु हुन्छ । बिसं. २०१० देखि २०१९ सालसम्म वा तेस्रो महाधिवेशनसम्मको याो अवधि उतारचढावको अवधि रहेको छ ।

के हो संशोधनवाद भनेको ? नयाँ जनवाद र संशोधनवाद एकै ठाउँमा रहन पुगे । अन्तरसंघर्ष चर्कन पुग्यो । पार्टी अन्तर संघर्षमा पुष्पलाल फेरि अघि सर्नुभयो । २०३१ सालसम्म पार्टी राम्रो गरी चल्यो । यसबेलाका उपलब्धीका रुपमा हामीले अध्ययन गर्ने भनेको २०२५ को राष्ट्रिय सम्मेलन, २०२८ सालको झापा बिद्रोह र २०३१ सालको चौथो महाधिवेशन नै हुन् ।

यति बेला सापेक्षतामा क्रान्तिकारी र परिवर्तनकारी धारा अघि बढेको थियो । यसको सिधा अर्थ थियो कि पार्टीभित्र क्रान्तिकारी धारा यति बेलाको समयमा हाबी थियो र विजयी धाराको रुपमा अघि बढिरहेको थियो । मोहनविक्रम सिंह लगायतका नेतृत्व हामी त्यही थियौं ।
त्यसपछि नेताहरुका व्यक्तिगत सनकहरुले पनि काम गरेका छन् । पार्टीमा छलफल, बहस, र विचार संश्लेषणभन्दा पनि टुटफुटहरु आएका छन् । नेताहरुका कारणले विचार गौण भए झैं हुने अवस्था यतिबेला रहन गयो ।

टुटफुटको अवस्था २०४६ सालपछि क्रमशः एकतामा रुपान्तरित हुन थाल्यो । मालेहुँदै एमालेमा मिसिएर संशोधनवादी धारा बन्न पुग्यो । अर्कातिर चौथो महाधिवेशन तथा पुष्पलाल अदि मिलेर क्रान्तिकारी धारा निर्माण हुँदै गयो । एकता केन्द्रमा पनि विचारका हिसाबले निकै बहस चल्यो । एकता, संघर्ष रुपान्तरणको सट्टा फेरि फुट भयो । तर फुट पछि पनि बहुमत हिस्सा महान् दीर्घकालीन जनयुद्ध थालनी गरेर अगाडि बढ्यो । २०५२ देखि २०६२, ०६३ को बीचमा क्रान्तिकारीहरु बीच ध्रुबीकरणको प्रक्रिया तिब्र भयो र क्रान्तिकारी धाराले निकै गति लियो ।

तर २०६२, ०६३ को दोस्रो जनआन्दोलनमा पुग्दा जनयुद्ध भताभुङ्ग भयो र संशोधनवादी तथा संसदवादीहरुसँग सहकार्य अघि बढ्यो, शान्ति प्रक्रियाका नाममा । जनयुद्धको एक कालखण्डमा देश र जनताका पक्षमा राम्रो भूमिका निर्वाह गरेका नेता तथा कार्यकर्ताहरु शान्ति प्रक्रियाको अर्काे काल खण्डमा आउँदा बिग्रिएर गए । हालको अवस्थामा प्रतिक्रियावादउन्मुख दक्षिणपंथी संशोधनवादी र नवसंशोधनवादीहरु बहुमत हिस्सामा छन् भने क्रान्तिकारीहरु अल्पमत र सानो हिस्सामा रहेका छन् ।

देशको यस्तो वस्तुगत र आत्मगत स्थितिलाई मध्यनजर गरेर एकता, संघर्ष, फुट र पलायनको वर्तमान अवस्थामा नयाँ आधारमा नयाँ एकता मार्फत् ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउन युक्ति संगत तथा वस्तुसंगत दुवै हुन्छ । विगतको ध्रुवीकरणलाई फर्केर हेर्ने हो भने केही नेताका ‘सनक’ले पनि काम गरेका छन् । २०४८ सालको ध्रुवीकरणमा मोहनविक्रम सिंह ध्रुवीकरणको प्रक्रियामा आएनन् ।

अहिलेको २०७५/०७६ सालको ध्रुवीकरणको प्रक्रियामा पनि केही नेताहरुको ‘सनक’ को छनक देखिन्छ । मोहनविक्रमको हालको दस्तावेजमा नयाँ जनवाद र दीर्घकालिन जनयुद्धको बाटो भनि व्याख्या गरेको पाइन्छ । तर विचार बहसमा खुलेर अगाडि आउन सकेको देखिदैन । तथापि, क्रान्तिकारी ध्रुवीकरणको प्रक्रिया भने अगाडि बढि रहेको छ । हाल यसको नेतृत्व क्रान्तिकारी माओवादीले गरिरहेको छ ।

कम्युनिष्ट अन्तर्राष्ट्रियहरु तथा देश विशेषका आन्दोलनहरु संसारभर यही प्रक्रियामा छन् । फुट्ने मात्र होइन, जुट्ने र अघि बढ्ने कुरा एउटा क्रान्तिकारी पार्टीको जीवनको प्रक्रिया हो । क्रान्ति भनेको रेलको यात्रा जस्तै हो । रेल चलिरहन्छ, यात्रुहरु चढ्ने र झर्ने गरिरहन्छन् ।

तर एक कुशल र प्रतिबद्ध क्रान्तिको चालक भने अन्तिम गन्तव्यमा नपुग्दासम्म रेलको इञ्जिनलाई चलाइरहन्छ । अब क्रान्तिकारी माओवादी पार्टीले अबलम्बन गरेको कार्यदिशा अनुसार संघर्षलाई अघि बढाउँदै वचारलाई थप विकसित र समृद्धीकरण गर्दै लेनिनका बारेमा बढी पढ्न र बुझ्न आवश्यक रहेको छ ।