ओली सरकारले दुईतिहाईको दम्भमा गरिरहेको देश, जनता र जनविरोधी कामका विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (ऋषि कट्टेल), नेकपा (माओवादी केन्द्र) एक भई संंयुक्त संघर्ष अघि बढाउने गरी गरेको सहमति र निर्णय स्वागतयोग्य छ । क्रान्तिकारी माओवादीको पार्टी कार्यालय बुद्धनगरमा पाँच पार्टीबीच सौहार्द्रपूर्ण छलफलपश्चात् ६–बुँदे सहमति भएको प्रेसविज्ञप्ति मार्फत् प्रकाशमा आइसकेको छ ।
६ बुँदे साझा सहमतिमा ‘जन्म वा वंसजका आधारमा नागरिकता वितरणमा रोक, नक्कली नक्साको खारेजी, विप्लवद्वारा नेतृत्व गरिएको नेकपामाथिको राजनीतिक प्रतिबन्धको खारेजी, वाइडबडी जहाज खरिद प्रकरणको छानबिन, बालुवाटारको सरकारी जग्गा हिनामिना गर्नेमाथि कारबाही, निर्मलापन्तको बलात्कार पश्चात भएको हत्याको निष्पक्ष छानबिन, हराएको भनिएको ३३ किलो सुनको खोजी’ आदि प्रकरणबारे जनताका माझमा स्पष्ट गर्न ओली सरकारलाई कडीकडाउ गरिने भएको छ ।
यी सबैको क्रियात्मक संघर्षको अभिव्यक्तिका रुपमा बैशाख २७ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा संयुक्त विरोधसभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ । यो निर्णयले पहिलेपहिले पनि यी पार्टीहरुबीच हुने र गरिने गरिएका केही निर्णयहरु र संघर्षका कार्यहरुको निरन्तरता जस्तो मात्र नभई केही सापेक्षिक क्रमभंगता पनि ल्याएको महसुस भएको छ ।
पहिलो कुरा, चैत्र २९ गते शुक्रवार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ११ विद्यार्थी संगठनहरुले गरेको संयुक्त कार्यक्रमलाई ओली सरकारविरोधी प्रतिपक्षीय वृहद् मोर्चा निर्माणको संयुक्त अभ्यास र कार्यक्रमका रुपमा अथ्र्याइयो । त्यसमा यतिसम्म पनि पनि भनियो कि मोहन वैद्य किरण र उनको पार्टी (क्रान्तिकारी माओवादी) पनि उक्त मोर्चामा सामेल हुने र ओलीको सरकार ढलाउने निर्णय गरी संघर्षका कार्यक्रमहरु समेत् सहभागी हुने भएको छ । यी र यस्ता समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निकै नै चर्चा पाए ।
मञ्चमा त यतिसम्म पनि उद्घोषण गरिएको थियो कि अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले मसक्क आँटेर ओली सरकार ढाल्ने योजना बनाउनु पर्छ । त्यसै दिनदेखि नै उनीहरु दुईनेताका बीचमा छलफल र सहकार्य हुनु पर्छ ।
यसले केही प्रश्नहरु कोण⁄प्रतिकोण दुवै तिरबाट गम्भीर रुपमा जबर्जस्त उठाएको थियो । एउटा त उक्त कार्यक्रम संयुक्त रुपमा ११ विद्यार्थी संगठनहरुको थियो र अखिल (क्रान्तिकारी) त्यो कार्यक्रमको आयोजकमा सामेल भएकाले यसको माऊ पार्टीका नेताहरु त्यहाँ बोलाइँदा मोहन वैद्य ‘किरण’को उपस्थिति केही स्वभाविक पनि थियो । तर नेविसंघका माऊ पार्टीका सभापति शेरबहादुर देउवाको उपस्थितिलाई लिएर प्रतिपक्षीहरुको संयुक्त मोर्चाका रुपमा यसलाई व्याख्या विश्लेषण गरी देशविदेशमा बयानबाजी गरियो । प्रधानमन्त्री ओलीले त यो उपस्थितिलाई ओलीकै सरकार ढाल्ने ‘नन्दी र भ्रिंगीहरुको जमघट’ सम्मको संज्ञा दिएर सार्वजनिक रुपमै तिक्तता समेत् पनि पोखे ।
यसका पछाडि नेपालको भूराजनीतिक संवेदनशीलतामा पछिल्लो चरणमा अमेरिकाको लगभग एकलौटी वर्चस्व रहने गरी उत्पन्न हुन गएको अन्तर्राष्ट्रिय साम्राज्यवादी हैकम र त्यो पनि नेपालकै राष्ट्रिय शक्तिसन्तुलन जस्तो देखिने गरी अभिव्यक्त हुन पुगेको अन्तरविरोधले ठूलो काम गरेको छ । ओली अमेरिकाले कतै म र दाहाललाई छोडेर शेरबहादुर देउवालाई अगाडी सार्न पो लाग्यो कि त्यो पनि मोहन वैद्य ‘किरण’को काँधमा बोकाएर भन्ने कुरामा निकै सशंकित देखिए पनि ।
ओलीको फासीवादउन्मुख सरकार ढाल्ने नै हो । यो दलाल, माफिया, तस्कर, गुण्डा, बिचौलिया र बलात्कारी तथा हत्याराको सरकार फ्याँक्ने नै हो । यसमा दुविधा पटक्कै छैन र रहन पनि हुँदैन । तर विजातीय तत्व, जो सारमा उही हो, उसैसँग वा उसैको अर्को रुप वा पक्षसँग सहकार्य र सहसंघर्ष गरेर वैद्य माओवादी अघि बढ्न खोज्दै छ भनेर जे प्रचार गरियो, यसका भित्रीतहमा नदेखिने ग्य्राण्ड डिजाइन लुकेको छ । विद्यार्थीहरुको सामान्य प्रचारात्मक कार्यक्रमलाई यति फरक र डरलाग्दो आवरण दिई प्रचार गरियो कि अब नेपालमा जनवादी तथा समाजवादी व्यवस्था स्थापना गर्ने र गर्न चाहने शक्ति र व्यक्तिहरु नै आजका दिनदेखि हराए, सकिए ।
यस्तो खाले प्रचारको असर अवसरवादी, सत्ताचुइँया, निम्नपुँजीवादी अधैर्यतावादी, नवप्रतिक्रियावादी तथा प्रतिक्रियावादीहरुमा केही आशाको सञ्चार गराउने गरी पर्न गएको देखियो, तर क्रान्तिकारी र उत्पीडितहरुका बीचमा स्वभाविकै रुपमा यसले थप निराशा र भ्रमले छायाँ फिँजाउन पुग्यो । यो जटिलखाले भ्रमको यथासमयमै र क्रियात्मक रुपमै जवाफ क्रान्तिकारीहरुले दिनु थियो । अहिलेको पाँच दलीय मोर्चाले यो काम गरेको छ ।
क्रान्तिकारी र अग्रगामीहरुको विकल्प भनेको ओली सरकार ढलाएर त्यसको ठाउँमा शेरबहादुर देउवा वा अन्य अमुक नेताको सरकार बनाइदिने होइन । क्रान्तिकारीहरुको विकल्प भनेको ओलीको वर्तमान फासीवादोन्मुख दलाल तथा माफियाहरुको सत्ताका ठाउँमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्नु हो ।
तर, कहिलेकाँहीं, क्रान्तिकारीहरु नै पानीमाथि तैरिएको पानी सेंवाली (स्पाइरोगाइरा) जस्तो परिस्थितिले जता लैजान्छ, त्यतै बग्ने बनिदिंदा ‘होचोको मुखमा घोचो’ पर्न गइदिन्छ । यस्तो आपद्विपदबाट समयमा नै होशियार रहन विकसित परिस्थिति र अन्तरविरोधको ठीक आँकलन गरेर कार्यनीतिक स्टेपहरु चाल्न क्रान्तिकारीहरु माहिर बन्नै पर्छ ।
यसका लागि मजाक होइन, वर्गसंघर्ष, अन्तरसंघर्ष र आत्म संघर्षका कुराहरुलाई गहिरो गरी आत्मसात् गरी क्रान्तिकारी पथतिर सोझ्याउनु जरुरी छ । ‘म परे मितज्युको भर, मितज्यूले पारे मुखभर’ गर्नु हुँदैन । ख्यालख्यालमा स्याल पल्टन बेर पनि लाग्दैन । बेलाबेलामा टुप्लुकिने आत्मप्रचारक खुवाबदेखि हदैसम्म सावधान रहनै पर्छ ।
केवल गल्ती सच्याउने कामले मात्र गति पैदा गर्दैन । नेपालको बाह्य तथा आन्तरिक अन्तरविरोधहरु निकै विकसित भएका र भिन्नभिन्न रुप र रङमा देखा परिरहेका छन् । तदनुरुप आफूलाई ‘अपडेट’ गरिरहनु जरुरी छ । यसको सञ्जीवनी बुटी भनेको सामूहिकता नै हो । प्राधिकार होइन ।