स्वाभिमानको मेरो यात्रामा
बाध्यताको काँढेतार लगाउने धृष्टता नगर
मेरो नवीन विहानीप्रतिको अगाध आस्थामाथि
धेरै गद्दारी र दलालीका फलामे साङ्गलाहरु नफाल
मेरो महासागर तर्ने अनगिन्ति सपनाहरुमाथि
धेरै जाल र बल्छीहरु नफाल
एकदिन तिमीले फालेको बल्छीमा परेर
तिमी आफै
न्यायको कठघरामा फलामे साङलाले बाँधिने छौ
अनि त्यस बखत,

हार्दिक शुभकामना !

तिमीले बिछ्याएका काँढे तार र खडा गरेका पर्खालहरु
बन्ने छन् तिम्रै लागि निशब्द जेल र आधुनिक बन्दीगृह 
हो, मृत्युपथका तिमी यात्री,
जीवनभावका एक नग्न मलामी
तिम्रालागि आर्यघाटतिरको यात्रा र बाटो
जति सजिलो उति नै प्रिय छ

खैर, केही छैन, तिमी त्यतै गयौ र जाऊ
तिमीलाई श्रद्धाञ्जली वा शुभकामना
जे जे भन्छौ, त्यही त्यही दिंदै जाउँला
तर मेरो सगरमाथा चढ्ने महान् अभियानमा
कृपया भ्रमको पहाड र अबरोधको पर्खाल खडा नगर
यी दुबै पहाड र पर्खाल एक दिन अवश्य ढल्ने छन् ।

हो, यी भ्रमका पहाड ढलेका दिन
अनि अबरोधका पर्खाल भत्केका दिन
रहने छैनन् तिम्रा अघिपछि गर्ने मलामीहरु 
न त तिमीलाई तर्पण तार्पण गरी दागबत्ति दिने
न त रहने छन् आर्यघाटका मसानरुपी तिम्रा सन्तती

हो, त्यति बेला,
कोही पनि रहने छैनन् तिमीसँग
केवल एउटा यादले मात्र साथ दिने छ तिमीलाई
त्यो हो, बंकरभित्र हिटलरको विभत्स आत्महत्या
अनि नाजीवाद र फासीवादको मृत्यु कथा
हो, महाशय

तिमी र म
अलग गन्तव्यका फरक यात्री
अलग योजना र फरक उद्देश्यका दुई भन्न सारथी
तसर्थ, तिमी आफ्नो बाटोमा लाग
मलाई मेरै बाटोमा हिंड्न देऊ

किन कि
मलाई मेरै बाटोमा फूल्ने गुराँसका फूलहरुसँग रमाउनु छ
मखमली र लालुपातेको सुगन्धतासँग हाँस्दै हसाउँदै
चाँप र मखमली फुल्ने फाँटहरुमा
भमरा र महुरीहरुसँग हराउँदै … हराउँदै
तराइका फाँटहरु अनि पहाडका खोचहरुमा
नअल्झिइकन अगाडि बढ्नु छ ।
यात्राको निरन्तरतामा बग्दै बग्दै
हिमालको काँखमा हाँस्नु छ
अनि गन्तव्यको मनमोहक शिखर चुम्दै चुम्दै
गतिशील यात्राको मापविहीन उचाइ चुम्नु छ

यसरी यसरी नै,
हाँस्दै गाउँदै, नाच्दै रमाउँदै
प्राकृतिक नवीन सुन्दरतासँग लुकामारी खेल्नु छ
र, यसरी निरन्तरताको बहाबमा
कर्तव्यपथको यात्रालाई छिचोल्दै
जिम्मेवारीको पहाड बोकेर अगाडी बढ्नु छ
अनि गन्तव्यको महान् सगरमाथामा
क्रान्तिको महान् तथा रक्तिम झण्डा फहराउनु छ
हो, यो यात्रामा अब तिम्रो उपस्थिति
नहुनुको अभाव र हुनुको गर्वबोध
हुँदै चीज इतिहासको गर्भमा सिमित भए

त्यसैले त अब
तिमी र म,
अलग गन्तव्यका फरक यात्री !
अलग योजना र उद्देश्यका फरक फरक सारथी !
हो, म सगरमाथाको अविचलित यात्री !
र, तिमी मूर्दाघाटको मलामी !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार