प्रलेस बहिष्कार र नयाँ मोर्चा निर्माणबारे

प्रकाशित मिति : २०७६ बैशाख ४

- हिरामणि दुःखी

भर्खरै प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलन सकिएको छ । सो सङ्गठनबाट प्रगतिवादी धाराको मुख्य हिस्सा र सो सम्वद्ध केही स्वतन्त्र लेखकहरूको एउटा हिस्सा अलग्गिएको छ । अहिले उक्त प्रलेसमा सरकारी कम्युनिस्ट पार्टी सम्वद्ध केही लेखक साहित्यकार, केही सङ्गठनात्मक कार्यकर्ता (अलेखक)हरू र सरकारी पक्षको पेरिफेरिमा फन्को मारेको कम्युनिस्ट घटकको मात्र संलग्नता छ । यसरी हेर्दा सारतत्वमा पहिले नै खतम भैसकेको भएता पनि रूपमा अहिले उक्त प्रलेसको साझा मोर्चाको लिगेसी समाप्त भएको छ । अब उक्त सङ्गठन सरकारी कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चाका रूपमा रूपान्तरित भएर उसको भातृ सङ्गठन जस्तो हुन पुगेको छ । जसरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन एमालेको भातृ सङ्गठनका रूपमा बदलिएको थियो । जहाँसम्म मसाल सम्वद्ध साहित्यिक लेखक, अलेखकहरूको समेत संलग्नताको कुरो छ, उक्त पार्टीको सांस्कृतिक सङ्गठनका रूपमा रहेको रक्तिम परिवार अहिले भत्किएको र पार्टीको नजिकको मित्र शक्ति पनि (व्यवहारतः) सरकारी कम्युनिस्ट पार्टी नै भएकाले प्रलेसलाई मसालको पनि सांस्कृतिक सङ्गठन मान्दा उपयुक्त नै देखिन्छ । जे होस् अब प्रलेस साझा मोर्चा रहेन र अब रहने सम्भावना पनि छैन । किनकि प्रलेसको चौथो राष्ट्रिय सम्मेलन बहिष्कार गरेजस्तो अहिलेको बहिष्कार होइन । यो बहिष्कार वैचारिक रूपले नै मतभेद हुन पुगेपछि भएको हो । प्रलेसको स्थापनाकालको विधानअनुसार लेखकीय मोर्चाबाट सङ्घर्ष गर्न नसक्ने र नगर्ने अवस्थामा पुगेपछि वैचारिक रूपले नै प्रलेसको औचित्य समाप्त भएको भन्दै बहिष्कार गरिएको हो ।

यसो भन्दा प्रलेसमा के पहिले वैचारिक रूपले एकरूपता थियो त भन्ने प्रश्न पनि उठ्छ । एमाले पार्टीको वैचारिक, सैद्धान्तिक स्खलनपछि सो पार्टी सम्वद्ध लेखकहरू पनि संसोधनवादी बाटो पकडेको र लेखनकर्म पनि जबजबाट माथि नउठेको पक्कै हो । उनीहरूले साहित्य लेखनमा आलोचनात्मक यथार्थवाद र केही शीर्षतहका लेखकहरूले समाजवादी यथार्थवादलाई प्रस्थानविन्दू बनाएता पनि व्यवहारतः उनीहरूले राजनीतिक रूपमा यथास्थितिवादको पक्षपोषण गर्न पुगेका छन् । उनीहरूमा शब्द र कर्मका बिचमा तादात्म्यता पाइँदैन बरू पर्खाल खडा भएको छ । तसर्थ वैचारिक मतभेद पहिला पनि थियो । तर राजनीतिक परिवर्तनका सन्दर्भमा माओवादी धारा र एमाले धाराका बिचमा नामकै भएपनि गणतन्त्र स्थापनासम्म एक ठाउँमा हुनाले कतिपय सवालमा साझा मोर्चाबाट लड्नु पर्ने मुद्दाहरूमा केही समानता भएकाले विगतमा प्रलेसमा सँगै बसेको कुरा हो । साझा मोर्चाको नेतृत्व त कहिले कस्को कहिले कस्को हुनु स्वाभाविक भएकाले एमालेका लेखकलाई अध्यक्ष मानेर माओवादीहरू तल्लो तहमा बस्नु अन्यथा कसरी हुन्छ र ? साझा मोर्चालाई उपयोग गर्नु प्रमुख कुरा हो । यस्तो त पहिला पनि चलेकै थियो । जनयुद्धको महान् भट्टीबाट आएका लेखक कवि, कलाकार तथा नेपालको प्रगतिवादी आन्दोलनका दोस्रो पुस्ताका लेखकहरूको वर्चस्व माओवादी धारामा हुनुले पनि प्रलेसलाई सांस्कृतिक आन्दोलनको एउटा साधनका रूपमा लिन सकिन्छ भने उपयोग गर्नु ठिक छ भनेर गरिएको कुरा थियो । यस सन्दर्भमा एकजना माओवादी धाराका तर स्वतन्त्र रहेका शीर्षस्थ लेखकले हिज एमालेसँग प्रलेसको नेतृत्वमा रहेर क्रान्तिकारी माओवादीका लेखकहरूले के के गर्न सके भनेर एउटा अनलाइन मार्फत् प्रश्न उठाएका पनि छन् । त्यतिबेला मिल्न सक्ने कतिपय एजेण्डाहरूमा क्रान्तिकारी धारालाई प्रभावी बनाएर लगिएको पनि हो । साझा मोर्चामा सबै कुरा माओवादी आन्दोलनका एजेण्डा मात्रै लागू हुनुपर्छ भन्ने पनि त नहोला । सबैका आआफ्नै पार्टीका बुझाई र एजेण्डा हुनु र त्यसअनुसार पार्टीबाट प्रतिनिधित्व गर्नेले आआफ्ना अडानमा रहनु पनि त स्वाभाविकै होला । जो कुरा आफ्नो टिप्पणीमा ती लेखकले पनि स्वीकार गरेका छन् । सङ्गठनात्मक आन्दोलनमा बसेर गरिने बहस, वादविवाद एवम् सङ्घर्ष र सङ्गठन भन्दा बाहिर किनारामा बसेर सबैतिर औँला ठड्याएर आलोचना गर्ने कुरा एकै हुन सक्दैन । भन्ने बेला मित्र शक्ति र शत्रु शक्ति फरक हुन् भन्ने तर मित्र र शत्रुलाई एउटै डालोमा हालेर समान आलोचना गर्ने कुरा माक्र्सवादी विचारधारा भित्र पर्छ कि पर्दैन यो लेखकले भेउ पाउन सकेको छैन । बरू त्यतिबेला पनि प्रलेसको आयु अब क्रमशः समाप्त हुँदै छ भन्ने छलफल पनि चलेकै थियो । ढिलोचाँडो यसको विघटन हुनुको विकल्प थिएन । किनकि नेपालका कम्युनिस्ट पार्टीहरूमा सिद्धान्त, विचार, राजनीति, सांस्कृतिक चिन्तन र व्यवहार तथा बुझाई दुई विपरित ध्रुवतिर बढ्दै गएको थियो । त्यसको प्रभाव लेखकीय आन्दोलनमा पर्नु स्वाभाविक र आवश्यक नै थियो । यतिखेर झन् जनयुद्धबाट आएको माओवादी धाराको ठूलो सङ्गठनात्मक शक्ति सैद्धान्तिक रूपमा एमालेमा विलय भएपछि प्रलेसमा उनीहरूको वर्चस्व बढ्नु र एमालेको विगतदेखिकै दादागिरी रहनुले अब प्रलेस प्रगतिशील पनि नहुने कुरा स्तहसिद्ध नै छ ।
विशेषतः हामी माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी र सर्वहारा सांस्कृतिक क्रान्तिका पक्षधरहरूले प्रलेस बहिष्कार गरिसकेपछि अब के गर्ने भन्ने प्रश्न सतहमा उठ्नु स्वाभाविक र आवश्यक छ । प्रलेसको बहिष्कार र अबको सांस्कृतिक आन्दोलनको साझा मोर्चा निर्माण बारे नेपाली समाजमा बहस सुरु भएको छ । यो आवश्यक पनि छ । प्रलेसबाट अलग्गिनुलाई हामीले ठूलो विजय प्राप्त गरेको मानेका पनि छैनौँ र मान्न जरुरी पनि छैन । यो कम्युनिस्ट आन्दोलन भित्रको स्वाभाविक पाटो र प्रकृया नै हो । बहिष्कार गर्नेहरूमा हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को सांस्कृतिक सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आवद्ध भएका लेखक साहित्कारहरू सँगै नयाँ जनवादी क्रान्ति पक्षधर पार्टीका तथा केही स्वतन्त्र लेखकहरूको समूह पनि रहेका छन् । सम्मेलनको मुखैमा आएर ढिलै भएपनि विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपा सम्वद्ध लेखकहरूले पनि प्रलेसबाट अलग्गिएका छन् । यो खुसीको कुरा हो । विचारधारात्मक रूपमा नजिक भएका सांस्कृतिक सङ्गठन र लेखकहरूका बिचमा अब व्यापक र गहनतम छलफल हुन जरुरी छ ।
हाम्रो सांस्कृतिक सङ्गठनको नेतृत्व र पहलमा विप्लव र कट्टेल नेतृत्वका नेकपाहरूसम्वद्ध लेखकहरू, मसाल तथा पछिल्लो समयमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाट अलग भएका सङ्गठित असङ्गठित लेखकहरूका बिचमा सम्मेलन पूर्व डेढ महिना अगाडि नै अबको सन्दर्भमा प्रलेसमा सहभागिताका विषयमा छलफल चलाइएकै हो । त्यतिवेला विप्लव नेतृत्व र कट्टेल नेतृत्वको नेकपा र मसालसम्वद्ध लेखकहरूले अहिले नै प्रलेसबाट हट्नु हुँदैन, यो साझा मोर्चाबाट अझै पनि सांस्कृतिक आन्दोलनका एजेण्डा लैजान सकिन्छ र हामी त्यसमा प्रभावकारी भूमिका खेल्ने हैसियतमा हुन्छौँ भनेर दावी पनि गरेकै हुन् । हामी त्यस कुरामा सहमत हुन सकेनौँ । उनीहरूले त आफ्नो पार्टीले प्रलेस नछोड्ने भनेको छ पनि भनेकै हुन् । त्यस मध्य मसाल त प्रलेसमा बस्यो पनि तर ढिलै भए पनि विप्लव र कट्टेल समुहले छोडेर आए, त्यो ठिक नै भयो ।
अब के गर्ने ? यस सम्वन्धमा केही छलफल चलाउनु आवश्यक छ । त्यो भन्दा पहिला हामीले कम्युनिस्ट विचार र आन्दोलनका सन्दर्भमा केही प्रष्ट हुन जरुरी छ । माक्र्सवादले कुनै पनि वस्तु एकअर्कामा रूपान्तरण हुन्छ भन्दछ । हिजको सही बुझाई, दृष्टिकोण, विचार र व्यवहार आज गलत पनि बदलिन्छन् । हिजको गलत बुझाई, दृष्टिकोण, विचार र व्यवहार आज सहीमा पनि बदलिन्छन् बदलिएका पनि छन् । यो समय, परिस्थिति, आन्दोलन र समाजको परिवर्तनमा आउने वदलाव तथा नेताहरूमा सत्ता र शक्तिले पैदा गरेका विचार स्खलनले पार्ने प्रभाव हो । हाम्रा केही अग्रज भनिएका मूर्धन्य माक्र्सवादी लेखकहरूमा भन्ने बेला आपूmलाई मालेमावादका ज्ञाता, प्रखर वक्ता, माक्र्सवादी सांस्कृतिक आन्दोलनका चिन्तक र सक्रिय भएको बताउँदै आपूmलाई आन्दोलनका शीर्ष नेता ठान्दछन् तर व्यवहारमा अधिभूतवादी आग्रह राख्दै निषेधात्मक द्वन्द्ववाद प्रयोग गर्छन् । कसैले आपूmलाई महादुश्मन भन्यो भनेर मनोगत विश्लेषण गर्दै हिँड्छन् । आपूmलाई सोह«ै आना ठिक देख्ने र अरूलाई दुईआना पनि ठिक नेदेख्ने दृष्टिकोणले हामी आन्दोलनका अगुवा कसरी हुन सकौँला ? एक्लेबीर प्रवृत्तिले आन्दोलन कसरी उठाउन सकिएला ? प्रश्न अनगिन्ती उठ्न सक्छन् । कुनै कुरा पनि सापेक्ष र निरपेक्ष हुन्छ भन्ने त हामीले बुझेकै कुरा हो । सङ्घर्ष निरपेक्ष कुरा हो भने एकता सापेक्ष कुरा हो । यसैले विगतबाट शिक्षा लिएर अगाडि बढ््ने कुरा ठिक हो तर विगतलाई जडको रूपमा समातेर दूराग्रह पालेर बस्नु र मोर्चा निर्माणमा सङ्कीर्ण हुनुले आन्दोलन उठाउन र नेतृत्व गर्न किमाथ सकिँदैन । यसले फाइदा कस्लाई पुग्छ ? आलोचक मित्रहरूले बुभ्mन र संयमित हुन जरुरी छ ।
प्रलेसको औचित्य त त्यतिबेलादेखि नै कमजोर बन्दै गएको थियो, जतिबेलादेखि प्रगतिवादी धाराका अहिलेको समयका पुराना पुस्ताका जिम्मेवार लेखकहरू सो सङ्गठनको नेतृत्वमा बस्न छोडे । त्यसैगरी क्षमता, योग्यता, परिपक्वता र अनुभवीहरूको नेतृत्व भन्दा दलीय भागबण्डामा औषत लेखकहरूको वर्चश्व केन्द्रीय तहमा रहन गयो । स्वतन्त्र रहेका पुराना पुस्ताका पाखा लाग्ने स्थिति बन्यो । त्यतिबेलादेखि नै प्रलेसमा सिर्जनात्मक लेखक, सर्जक भन्दा पार्टी कार्यकर्ता भरिन थालेपछि यो सङ्गठन वैचारिक रूपले कमजोर बनेको कुरा पनि त्यत्तिकै सत्य हो । त्यसैले मैले केही पुराना पुस्ताका अग्रज लेखकहरूसँग एउटा वैचारिक रूपले सांस्कृतिक आन्दोलनका विषयमा छलफल, बहस र रूपान्तरणका आन्दोलनमा केही हस्तक्षेपकारी सङ्घर्ष उठान गर्ने गरी विशेषतः प्रगतिवादी धाराको एउटा फोरम बनाउँदा राम्रो हुन्थ्यो भनेर कुराको उठान मात्र गरेको हुँ । त्यो कुरा केके भयो त्यसै सेलाएजस्तो भयो । त्यो छलफल अन्तिम निष्कर्षमा पुगेको थिएन र अमुक अमुक लेखकलाई नेता बनाएर जाउँ भनिएको पनि थिएन । तसर्थ झस्किनु पर्ने विषय कसरी आयो ? यो त मनको बाघले आफैलाई खाएको र हिजका वादविवादलाई जडका रूपमा समातेर कसैप्रति आग्रही भएको बाहेक अरू के भन्न सकिन्छ र ?
त्यसो त हामी क्रान्तिकारी माओवादी पार्टी सम्वद्ध लेखक साहित्यकारहरू तथा विप्लव समूह र पछिल्लो समयमा प्रचण्डको पार्टीबाट अलग भएका लेखकहरूमै पनि राजनीतिक आन्दोलन, कार्यक्रम र कार्यदिशा तथा वर्तमानको राजनीतिक, आर्थिक, सामाजिक अवस्थालाई बुभ्mने सवालमा कैयौ मतभेद छन् । त्यसमा हामी प्रष्ट नै छौँ । तर पनि सामन्तवादी संस्कृति, साम्राज्यवाद तथा विस्तारवादले नेपालमाथि गरेको हस्तक्षेप, सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दू बनाउने सवालमा हामीमा एकरूपता छन् । त्यसैले पनि संस्कृतिकर्मीहरूका बिचमा साझा मोर्चाको आवश्यकता छ । त्यसमा हामी सबैले पहल गरौँ । पहलकर्ता जोसुकै हुन पनि हामी स्वतन्त्र छौँ । कसैप्रति आग्रह पूर्वाग्रह राखेर पन्छिने र अरूले गर्ने कुराको पनि किनारामा बसेर आलोचना गर्नु, दुत्कार्नु र उपदेश छाँट्नुको कुनै मूल्य रहँदैन । नयाँ ढङ्गको साझा मोर्चा बनाउन पहल गर्दा आवश्यक नठान्ने र अरूलाई टाढाको देख्यो वा शत्रु देख्यो भन्नु तथ्यसङ्गत तर्क हुन्छ र ? तसर्थ हामी सबैले स्वस्थ आलोचना र आत्मालोचना सहित प्रलेस इतर सबै पक्षलाई जुटाउँ र वर्तमान सत्ता संस्कृति एवम् कथित कम्यिुनिस्ट सरकारको फासिवादी कदमको भण्डाफोर गर्दै समाजवादी यथार्थवादको साहित्य, कला र संस्कृतिको विकास गर्दै सर्वहारा सांस्कृतिक क्रान्तिलाई अघि बढाउन नयाँ साझा मोर्चा निर्माणमा जुटौँ ।
१, बैशाख २०७६