आँधीहुरीले घरटहरा भत्काइएको तराइका बस्तीहरु अझै पनि सामान्य रुपमा पनि बस्न लायकका बनाइएका छैनन् । वितरण गरिएका भनिएका कम्मलहरु र त्रिपालहरु पर्याप्त पनि छैनन् । त्रिपालमुनिको बास आफैमा असुरक्षित छन् । हावा चलेको चल्यै छ ।
उसै त चैते हुरी, त्यसमा पनि कच्ची घरहरुसम्म उडाइएका मानिसहरु निकै चिन्तित र आकुल ब्याकुल छन् । तर ठोर र भनेकै जस्तो न त त्यहाँ सहयोगी हातहरु पुगेका छन्, न त राहत सामग्री नै । बरु राहत सामग्री वितरणका नाममा सेल्फी लिने र फेसबुकमा निकै हल्लाखल्ला गर्ने प्रचारमुखी, तर काम केही पनि नहुने कामहरु भइरहेका छन् ।
यसका कारणले स्थानीय जनता पनि वाक्कदिक्क छन् । उनीहरु राहतले घर बन्ने पनि देखेका छैनन् र साँझ विहानको छाक टारिने पनि देखिरहेका छैनन् । उनीहरु त ओली सरकार र यसको जनतालाई हेर्ने गलत नीति देखेर आजित भएका छन् ।
गर्नुपर्ने सरकारले त्यो पनि कही पनि पहल भएको छैन । जान त स्थानीय पीडितहरुका घरमा स्थानीय, प्रदेश तथा संघीय सरकारका घाघडान भनिने नेताहरु पनि नपुगेका होेइनन्, तर राहत र उनीहरुको समस्या भने ज्युँ का त्युँ छन् ।
स्थानीय पीडित जनताको देखाउनका लागि र रमाइलो गर्नका लागि हामीहरुलाई सेल्फीमा नबेचियोस् भन्ने गुनासो रहेको छ । उनीहरु ढुक्क भएर आफ्नो काम गर्न चाहन्छन् । आँधीले निम्त्याएको यो पीडाबाट छिट्टै छुटकारा चाहन्छन् । तर उनीहरुसँग न त बजेट छ, न त सहयोगी हातहरु नै ।
तर दुनियाँ भने उनीहरुलाई देखाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउँमा लागेको छ । यो हामी नेपाली जनताका लागि पाच्य छैन । तर सरकारले आवश्यक र व्यवहारिक कदम अहिलेसम्म चालेको देखिएको छैन । सरकार त आफैमा अलमल परेको देखिन्छ ।
उसका अनुसार सही र नक्कली पीडिहरु छुट्टयाउन गाह्रो भएको कुरा गर्न थालेको छ । यो कुरा गर्दै गर्दा यसलाई राजनीति गर्ने र मागी खाने भाँडो बनाउने संभावना पनि देखिन्छ । अर्को कुरा यदि यही कुरा नै गरिरहने हो भने जनताका लागि राहत लगिने वा पुरयाइने छैन । वास्तविक पीडित जनता मारमा परिरहने छन् । यसको अन्त्य तत्कालै गरिनु जरुरी छ ।
को वास्तविक र को अवास्तविक पीडितहरु हुन् भन्ने कुरा त्यहाँका स्थानीय जनताले थाह पाउँछन् । अहिले स्थानीय सरकार पनि बनेको छ । स्थानीय सकारमार्फत् यी वास्तविक पीडितहरुसम्म पुग्न सकिन्छ । यो मेलोमेसो ओली सरकारले बेलैमा थाह पाउनु पर्छ ।
ओली सरकार उखानटुक्काको जोहोमा होइन, पीडित जनताका आवश्यक सामग्रीहरुको जोहोमा लाग्नु पर्छ । यसका लागि केही एकमुष्ठ रकम तथा स्थानीय सामग्रीको सदुपयोग गरेर विश्वासका साथ पीडितहरुको घर बनाउन लाग्नु पर्छ ।
स्थानीय पीडितहरु यति धेरै आतंकित र त्रसित छन् कि उनीहरु मानौ कमजोर खालको घर र्निाणमा फेरि लागियो भने आँधीले उही हाल बनाइदिने छ । त्यसैले उनीहरु कुन मोडलको घर बनाउने भन्नेमा ढुक्क देखिदैनन् । उनीहरुलाई सरकारले ढुक्कता दिलाउनु पर्छ । राहतका साथै शुन्य व्याजदरमा उनीहरुलाई राहत ऋण पनि उपलब्ध गराउनु पर्छ ।
यसका लागि सरकारले पीडित घर कुरियाको छनौट र गनौट गरी आवश्यक रकम उपलब्ध गराउनु र्छ । यो काम रातातारात मन्त्री परिषदको वैठक बसेर गर्नु गराउनु पर्छ । आफूहरुको सेवा सुविधा बढाउन निविर्वाद रुपमा मध्य रातमा पनि बिल पास गर्ने मन्त्री तथा सांसदहरु आँधी पीडितका लागि भने केही पनि बोलिरहेका छैनन् ।
यो कार्य आम नेपालीका लागि निकै पीडाको विषय बनिरहेको छ । हरेक समस्या आफैमा केही नयाँ गर्नका लागि एक अबसर पनि हो । यही मनन गरेर यो पीडालाई एक नमूनाका रुपमा सम्पन्न गर्न सरकारले ठोस कदम चाल्नु पर्छ । बर्खा अगाबै आँधी पीडितहरुको घरबास बनाइयोस् ।