राष्ट्रिय अखण्डतामाथि जनमतसंग्रह हुनै सक्दैन   ः  पूर्वप्रम शेरबहादुर देउवा

प्रकाशित मिति : २०७५ चैत्र ३०

काठमाडौं । प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद ओली’ नाम जुराइदिएका छन् । ११ विद्यार्थी संगठनहरुद्वारा शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा देउवाले ओलीलाई उक्त नाम जुरादिएका हुन् ।

देशमा विकास र समृद्धिका कुरा गर्ने ओलीले जनतालाई जन्म, मृत्युदेखि कुखुराको चल्लासम्मको कर लगाएपछि उनले ओलीको सरकार कर असुलीको गरेर जनतााई दुःख दिने ‘करप्रसाद ओली’ सरकारको रुपमा चित्रित गरे ।आफू कुनै कारणबस संवैधानिक समितिको मिटिङमा उपस्थित हुन नसकेको लिखित पत्राचार गरी जानकारी दिँदा पनि प्रतिपक्षी उपस्थिति विना परिषदको मिटिङ राखी संवैधानिक समितिहरुमा प्रमुख तथा सदस्यहरु नियुक्त गरिरहेको सरकारी कामप्रति घोर आपत्ति जनाए ।

उनले नेपालको संप्रभुता र राष्ट्रिय अखण्डतामाथि कुनै प्रकारका राजनीति र जनमतसंग्रह हुनै नसक्ने कुरामा जोड दिए । देशको राष्ट्रिय सेना नोकर होइन, यो राष्ट्रको गौरव, रक्षक र खम्बा हो । यसलाई ओलीले आफ्नो व्यक्तिगत सेना कसरी बनाउन सक्छन् भनी प्रति प्रश्न पनि गरेका थिए ।