पार्टी कमजोर भएका बेला विद्यार्थीले संघर्षको झण्डा उठाएका छन् : मोहन वैद्य ‘किरण’

प्रकाशित मिति : २०७५ चैत्र ३०

काठमाडौं । बेलाबेलामा राजनीतिक पार्टीहरु र आन्दोलनहरु कमजोर भएका बेला विद्यार्थीहरुले झण्डा उठाएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले बताएका छन् । ११ विद्यार्थी संगठनहरुद्वारा शुक्रवार राष्ट्रिय सभागृहमा संयुक्त रुपमा आयोजित एक कार्यक्रममा अतिथिका तर्फबाट बोल्दै गर्दा किरणले उक्त कुरा बताएका हुन् ।

विद्यार्थी आन्दोलन आफैमा पूर्ण आन्दोलन नभए पनि यसले राजनीतिक आन्दोलनको प्रमुख सहायकका रुपमा आन्दोलन उठान र गतिदिने काम गरेको किरणले स्मरण गरेका थिए । नेपालका राजनीतिक दलहरु सबैले नै हतियार उठाएर नेपालमा परिवर्तन ल्याएको भन्दै नेपाली कांग्रेसको २००७ सालको हतियारबद्ध आन्दोलन, २०२८ सालको एमालेको झापा विद्रोह, २०५२ सालको माओवादी जनयुद्ध, मधेश, जनजाति तथा महिला तथा अल्पसंख्यकहरुको आन्दोलनको इतिहास स्मरण गर्दै किरणले पछिल्लो चरणमा धोखेबाज नेताहरुका कारण नेपाल र नेपालीहरु ठगिएको कुरा बताए ।

उनका अनुसार जब जनताले प्राप्त गरेका उपलब्धीहरु संश्लेषण गर्नेबेला हुन्छ, त्यसबखत जनता निकै ठगिने गरेका र देशी तथा दिेशी शक्तिहरुले जनताका आँखामा छारो हाल्ने का गरेको बताए ।

पछिल्लो चरणमा आफ्नो एतिहास देखाउँदै र व्याज खाँदै आएका नेताहरुलाई खबरदारी गर्दै किरणले यसो गर्नेहरुलाई अबका सचेत जनताले कठोर दण्ड दिने बताए । पछिल्ला चरणमा ओली सरकारले गरेको सीके राउतसँगको राष्टघाती सहमति, जनमत संग्रह र देश खिडनका कुरा, रेशमचौधरीलगायतका ११ जनालाई आजीवन काराबासको सजाय र विप्लवद्वारा नेतृत्व गरिएको नेकपामाथि राजनीतिक प्रतिबन्ध जस्ता घोर अराजनीतिक क्रियाकलापहरुले नेपालमा विदेशीको इशारामा दलालहरुको शासन चलिरहेको कुरामाथि किरणले प्रकाश पारेका थिए ।

रेशम चौधरीसँग सम्बन्धित कैलालीको घटना राजनीतिक तथा स्वतस्फूर्त देखिएकाले यसको फैसलामा सरकार र अदालत गम्भीर नभई पूर्वाग्रही भएको बताए । सीके राउतलाई अदालतले छाड््ने बित्तिकै सहमति गरी नेताको हैसियत दिने तर तर रेशम चौधरीहरुमाथि अन्याय गर्ने छूट यो सरकारलाई नभएको पनि बताए ।

समाजले रुपान्तरण चाहिरहेको छ । जनताले आमूल परिवर्तन खोजिरहेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु जस्ताको तस्तै छन् । शान्ति प्रक्रियामा आएको भनिए पनि कानुनी मुद्दाहरु जस्ताको तस्तै छन्, यसले आन्दोलनको अवस्था मौजुद रहेको देखाउँछ ।