काठमाडौं । विदेशी लगानीका लागि दुईदिने लगानी सम्मेलन भइरहेका बखत सम्मेलनस्थलमै तयारी पूरा नभएको लगानीकर्ताहरुको टिप्पणी आएपछि ओली सरकार रातारात ‘एकल विन्दु सेवा केन्द्र’ स्थापनाको तयारीमा जुटेको छ । तोकिएको समयमा कर्मचारीतन्त्रद्वारा दिइने सबै सेवाहरु एकै ठाउँबाट उपलब्ध नगराउँदासम्म विदेशीहरुले लगानी प्रतिबद्धता नजनाउने भनेपछि ओली सरकार यो तयारीमा रातारात लागेको हो ।
यसका लागि आवश्यक पर्ने कानुन रातारात भए पनि अध्यादेशद्वारा निर्माण गरिने ओली सरकारले लगानीकर्ताहरुलाई आश्वासन दिएको छ । सरकारका तर्फबाट हालसम्म कर्मचारीतन्त्रमा ब्याप्त सहस्रद्वार प्रणालीले लगानीका सबै कामहरु अबरुद्ध गरी नोक्सानी मात्र बेहोर्नु पर्ने भएकाले यसलाई रातारात परिवर्तन गरी एकद्वार प्रणालीमा ल्याउनु पर्ने लगानीकर्ताको माग रहेको छ ।
अर्कोतर्फ राजनीतिक स्थिरताका बारेमा पनि प्रश्न उठाइएको छ । राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाएर प्रहरी तथा फौज परिचालन गरी देशमा जबर्जस्त युद्ध थोपरेको अवस्थामा लगानी सुनिस्चित हुन र गरिन नसक्ने पनि लगानीकर्ताहरुले सुझावका रुपमा राखेका छन् ।
सरकारले नेपाल प्रतिस्पर्धात्मक रुपमा बढी मुनाफामुखी देश भनेर लगानीकर्तालाई हौस्याउन खोजे पनि प्रधानमन्त्री ओलीले नेपालको सेना परिचालनको अख्तियारी आफ्नो हातमा लिन खोजेको प्रति लगानीकर्ता सशंकित रहेका छन् ।
अर्कोतिर, नेपालको कर्मचारीतन्त्रको लम्बेथान र वर्षौसमय लिने प्रक्रिया रातारात एकल विन्दु सेवा केन्द्रमा आउला भनेर लगानीकर्ता आश्वस्त देखिएका छैनन् । उनीहरुले यही कारणले पनि लगानी सुरक्षित देखिरहेका छैनन् ।