
मिस्टर उखानप्रसादको सरकारले यतिखेर नेपाल मण्डलमा लगानी सम्मेलनको आयोजना गरेको छ । हिजैबाट काठमाण्डु खाल्टोमा रहेको पाँचतारे सोल्टीमा यो सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन पृथ्वी मण्डलका चालीस देशका साढे छ सय अरब खरबपति पैसावालहरू आउने कुरो सरकारको कमण्डलु बोर्ड (उर्फ लगानी बोर्ड)का कट्वालेबाट थाहा हुन आएको छ ।
पृथ्वी मण्डलका दातामाताहर्ले पैसा ल्याएर यहाँ लगानी खन्याएर उद्योग कारखाना घन्काएर बन्दव्यापार चम्काएर पैसा जति लुँड्याएर आआफ्ना मुलुकतिर गुइँठ्याए भने नेपाल मण्डल समृद्ध हुनेछ । पृथ्वी मण्डलका अरू मुलुकमा समृद्धि ल्याउन आफैँले विकास निर्माण गर्न पर्च तर नेपाल मण्डलमा भने अरूले विकास गरिदिएपछि देश समृद्ध हुन्छ । यो बडो गजबको काइदा छ । यो हो एक्काइसौँ शताब्दीको विकासे काइदा । कस्तो मज्जाको काइदा । बनैको चरो बनैको ढुङ्गो ।
अर्कालाई कज्याएर आपूm समृद्ध हुने । नेपाली शाषकका वुद्धिको करामत पनि हो यो । यसलाई एक्काइसौँ शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादको फ्युजनबाट पैदा भएको कन्फ्युजनको अर्थनीति पनि भनिन्छ । फ्युजनबाट कन्फ्युजन गरेर कमिसन कमाउने काइदा । यसमा हुन्छ पार्टी र नेतालाई फाइदै फाइदा ।
पृथ्वी मण्डलका धेरै विकसित मुलुकहर्ले आफ्नो देशको विकास गर्दा गर्दा आफ्नो देशका नदीनाला, हिमालपाहाड, खोलाखोल्सी, ढुङ्गामाटो, खानीखनिज, बनजङ्गल, जडिबुटी, पेट्रोलियम खानी, मनुखेका गिदी र पाखुरा आदि इत्यादि सबै रित्याएर खोक्रो पारिसके । हुँदा हुँदा तिनका देशमा लाग्ने घामपानी, हावाहुरीलाई पनि कमारो बनाएर विकासमा लगाइसके । नेपाल मण्डलमा त यी सबै पर्कितिले दिएका साधन स्रोत सबै जसका तस छन् ।
अब तिनलाई दुहुने काम मात्रै बाँकी छ । त्यसैले नेपाल मण्डलको सरखारले पटक पटक लगानी लगाऊ तिनको हुर्मत लिएर आफ्नो देश पाल, अलिअलि चारो हाम्लाई पनि हाल भनेर आह्वान गरिरन्च । पैला पैलाका सरखारले पनि यस्तो आग्रह अनुरोध या हारगुहार गरेकै हो । त्यै भएर ऐलेको उखाने सरखारले पनि लगानी सम्मेलन गर्दै छ ।
नेपाल मण्डलको सरखारले यसरी लगानी लगाउन आउने दातामाताहर्लाई केकेमा लगानी लगाउने हो त भनेर योजना बनाउनका लागि कमण्डलु बोर्ड पनि गठन गरेको छ । निज कमण्डलु बोर्डले सतहत्तर वटा कमण्डलु छुट्टाएको छ । त्यसलाई लगानीको भाषामा पैसा खन्याउने धोक्रो भनेपनि हुन्च । पानीविजुली, उडन्ते कार (उर्फ केवुल कार), यो पशुपतिनाथको मुलुक भएकाले उनलाई चढाउने सोमरस (उर्फ रक्सी, वियर) चुरोट, सुर्ती (किनकि पशुपति भोलेनाथलाई भाङधतुरो चाहिने भएकाले), होटल रिसोट (नेताहर्लाई वेलावखत बैठक गोष्ठि आदि इत्यादि गर्न आवश्यक पर्ने भएकाले), सिमेन्टी कारखाना, दुकानहरू जस्ता अति उत्तम पैसा कमाउने थलोमा लगानी गर्ने व्यवस्था सरखारी कमण्डलु बोर्ड अर्थात् यसलाई सरखारले लगानी बोर्ड पनि भन्च, हो त्यसले छुट्टाएको छ ।
यस्ता नाना प्रकारका नन्दी भ्रिङ्गी क्षेत्रमा लगानी लगाएर नेपाल मण्डलका नदीनाला, बनजङ्गल, खानीखनिज, जडिबुटी, ढुङ्गामाटो, आदि इत्यादि सबै सबै रित्याएर धुलीधङ्कड पारेर पैसासैसा सबै सोहरेर लैजान नेपाल सरखारले विशेष आग्रह, अनुरोध र अनुनय विनय गरेको छ । यसरी नेपालमा थोरै लगानी लगाएर धेरै लुटेर लैजाने सुवर्णाती सुवर्ण भन्दा पनि अझ बढ्ता हिरक अवसर प्राप्त छ । यसरी विदेशी दातामाताहर्ले जति छिटो जति धेरै लुट्न सक्यो त्यति छिटो नेपाल मण्डल समृद्ध हुने र त्यो समृद्धिले नेपालमा बसोबास गर्ने रैथाने मनुवाहरू सुखी रहने छन् । यो हाम्रा सम्मान्ने पर्धानमन्तरी मिस्टर उखानप्रसादको घोषणा हो ।
नेपालमा लगानी लगाएर उद्योग ब्यापार गर्ने पैसावाल मनुखे पनि छैनन् । पूँजीवादी जमानामा सरखारले लगानी लगाएर उद्योगधन्दा र बन्द ब्यापार गर्ने कुरो पनि भएन । सरखारको काम त कमिसन खाने, विदेश भ्रमण गर्ने, विभन्न कार्यक्रमको उद्घाटन गर्ने, रिबन काट्ने, पाटीका बैठक चलाउने, किचलो मच्चाउने आदि इत्यादि गर्ने हो । पाखुरा भएका र वुद्धि भएका ठिटाठिटीहरू सबै विदेश गए । बचेखुचेका ठिटाठिटीहरू कोही थानीय सरखारका मुखिया भएका छन्, कोही घरघडेरी कारोबारमा लागेको हुनाले उनीहर्लाई अरू क्यै गर्ने फुर्सदै छैन । त्यै भएर लगानी गर्न विदेशी दातामाताहर्लाई बोलाउनु परेको कुरा सरखारका ढिकुटीमन्तरीले बताएका छन् ।
नेपाल मण्डलमा पर्कितीले अथाह उपहार दिएका सबै साधन स्रोत उपयोग नभएको हुनाले तिनको दोहन गरेर पैसा हसुर्ने राम्रो अवसर छ । हामी नेपालीहर्लाई काम नलागेका यस्ता साधन स्रोत जस्ले सक्छ उस्ले लुटे हुन्च । अहिले उदारवादी जुग भएको र नेपाल सरखारले उदारवादलाई समृद्धिको गायत्री मन्त्र बनाएको हुनाले पृथ्वी मण्डलका जो कसैलाई पनि यहाँ आएर लुटेर लैजान खुला छुट छ । त्यसैले ‘लगानी लगाऊ सकेको लैजाऊ’ भन्ने नारा का साथ नेपाल सरखारले लगानी सम्मेलनको आयोजना गरेको छ । आगे लुट्नेहर्को मर्जी ।
१६ चैत २०७५



























