विप्लव नेकपाद्वारा चरणबद्ध संघर्षको घोषणा

काठमाडौं । विप्लव नेकपाले चैत्र १६ गते नेपालबन्दका साथै चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको छ । स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित देशभरबाट गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै नेकपाका महाचिव विप्लवद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमार्फत् चैत्र १६ गते नेपालबन्दको घोषणासँगै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

ओली सरकारले नेकपामाथि लगाएको प्रतिवन्धका बारेमा देशका सत्ताइतरका राजनीतिक पार्टीहरु, नागरिक समाज र पत्रकार, विश्लेषक तथा नागरिक अगुवाहरुले सशक्त विरोध जनाइरहेको उल्लेख गर्दै आफूहरुले पनि नेपालबन्दको घोषणा गर्नु परेको बताइएको छ ।

विज्ञप्तिमा ‘‘केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ । हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको” कुरा लल्ल्ेख गर्दै “केपी ओली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ’’ भनिएको छ ।

नेपाल बन्दसहितका कार्यक्रमहरुमाथि प्रकाश पार्दै भनिएको छ– “नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनविरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ । यसैगरी केपी ओलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ ।’

साथै विज्ञप्तिको टुंग्याउनीमा भनिएको छ– ‘अन्त्यमा हामी सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई बन्द सफल पारी केपीको फासीवादलाई प्रतिरोध गर्न विशेष अनुरोध गर्दछौँ ।’