कति भित्रिएला युद्धकालीन लगानी ?

प्रकाशित मिति : २०७५ चैत्र १३

काठमाडौं । यही चैत्र १५ र १६ गते ओली सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । यो सम्मेलनको कार्यक्रम सार्वजनिक पनि भइसकेको छ । विश्वका लगानीकर्ताहरुका लागि भनेर आयोजना गरिएको यो सम्मेलनमा देशमा चलिरहेको श्वेत आतंकको कुरालाई लिएर विदेशी लगानीकर्ताहरुले अनिच्छा प्रकट गरिरहेका छन् । तथापि सरकार आफ्नो कार्यक्रम आयोजना गर्ने निर्णयमा नै पुगेको छ ।

केपी शर्मा ओलीको सरकार देशमा गृहयुद्ध थोपरेर विदेशी लगानीकर्ताहरुसँग लगानीका लागि याचना गरिरहेको छ । यो लगानी गृहयुद्ध मच्चाउनका लागि माग गरिएको हो वा विकासका लागि भनेर ? यसका बारेमा गम्भीर प्रश्नहरु उठिरहेका छन् । एकथरिको तर्क छ ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेकाले ओलीले समृद्धिका लागि नै विदेशी लगानीकर्ताहरुसँग लगानीको याचना गरिरहेका होलान् ।

तर विश्लेषकहरुको भनाइ भने अलि केही फरक छ । उनीहरुका अनुसार देशमा धमिलो पानी भएका बेला केपी ओलीले विदेशी शक्तिहरुको युद्ध रणनीतिअनुसार उनीहरुको सहयोगका लागि यही बेलामा लगानीका नाममा अरु केही गर्दै छन् ।

जे होस् ओलीले गरेको गृहयुद्धको घोषणा र लगाानी सम्मेलन संयोगले एकै ठाउँमा आएका होइनन्, यी त योजनाबद्धतामा ल्याइएका हुन् । देशमा रातारात हुने गरेका आश्चर्यजनक घटनाहरुसँग यी सबै कुराहरु अन्तरसम्बन्धित भएर आएका छन् । ओली सरकारको एक वर्ष वाहवाही र चहचहमा बिते । तर एकवर्षपछि जब उनीहरुले जनता आफूहरु र आफ्नो सरकारको पक्षमा नभएमा होस्ल्याङ कानमा पसेको महसुस गरे, तब रातारात विश्व शक्ति केन्द्रहरुको आश्रयमा शरण लिन पुगे । ओली दाहालहरुले क्याम्प फेरे । यो चाचुने कुरा होइन ।

आफ्नो असक्षमता र जनविरोधी अनुहार लुकाउन ओली सरकारले एकतर्फी राजनीतिक दलमाथि नाकाबन्दी लगाएर युद्ध थोपर्न पुगेको छ । यदि यो प्रक्रिया लम्बिने हो भने ओली सरकारका विरुद्धमा देशको जनमत जाने खतरा पनि बढिरहेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले विप्लव नेकपालाई वार्ताका लागि आह्वान पनि गरेको छ ।

यो वार्ताको आह्वानमा, पहिलो कुरा, जनतामा कित्ताबन्दी र ध्रुवीकरण बढ्दै गयो र दोस्रो कुरा, लगानीकर्ताहरुले युद्धको अवस्थामा लगानीका लागि प्रतिबद्धता जाहेर गर्न नसकिने बताए । यसैको चापमा ओली सरकारले वार्ता आह्वान गर्न पुगेको छ ।

तर यो वार्ता तत्काल हुने पनि देखिदैन र लगानीको विश्वसनीय वातावरण सिर्जना हुन पनि सक्दैन । यसका पछाडिका अरु पनि कारणहरु रहेका छन् । ती मध्ये नेपालमा अमेरिकी उपस्थिति, चासो र लगानीका शर्तहरु के हुन् र के के रहेका छन् भनेर अन्य विदेशी लगानीकर्ताहरु जान्न चाहन्छन् ।

स्वयम् छिमेकी देश भारत पनि यसमा आकर्षित देखिदैन । उता चीन पनि मौन रहेको नै देखिन्छ । सबै लगानी कर्ताहरु पछिल्लो चरण नपालमा अमेरिकी उपस्थितिबारे जति जान्न इच्छुक छन्, तयो भन्दा बढी लगानीमा अनिच्छुक रहेका छन् ।

नेपालमा यो श्वेतआतंकको राज चलिरहेका बेला विदेशी लगानी भित्रिने संभावना कम नै छ ।