क्रान्तिकारी माओवादीद्वारा क.कृष्णदास श्रेष्ठको निधनप्रति शोक वक्तव्य जारी

क्रान्तिकारी माओवादीद्वारा क.कृष्णदास श्रेष्ठको निधनप्रति शोक वक्तव्य जारी

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हार्दिक श्रद्धासुमन व्यक्त गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’द्वारा शनिवार जारी गरिएको शोक वक्तव्यमा उक्त कुरा जनाइएको हो ।

विज्ञप्तिको सुरुमा भनिएको छ– ‘नेपालको कम्युनिस्ट आन्दोलनका एउटा नेता, मार्क्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक तथा अनुवादक क. कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा आज दिउसो १ बजेर ४० मिनट जाँदा आफ्नै निवास शंखमूलमा निधन भएको छ । उहाँको निधनले हाम्रो पार्टीलाई स्तब्ध तुल्याएको छ । वहाँको निधनले नेपालको जनवादी तथा कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ । पार्टीका सल्लाहकार समेत रहनु भएका सम्मानित बरिष्ठ नेता क. कृष्णदास श्रेष्ठप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोक सन्तप्त परिवारजन तथा शुभेच्छुकहरु सबैमा हार्दिक समवेदना प्रकट गर्दछ ।’

स्व. कृष्णदास श्रेष्ठको योगदानको कदर गर्दै विज्ञप्तिमा थप भनिएको छ– ‘सर्वहारावर्ग, वर्गसंघर्ष, राष्ट्रिय स्वाधीनता, सर्वहारा क्रान्ति, वर्ग प्रतिबद्धता र जनमुक्तिप्रति अटुट आस्था क. कृष्णदासका जीवनका अनुकरणीय गुण हुन् ।’

कृष्णदास श्रेष्ठ आफैमा एक सैद्धान्तिक, सांगठनिक तथा दार्शनिक स्कुलिङ भएको र उनीबाट पछिल्लो पुस्ताले सिक्नुपर्ने शिक्षमाथि प्रकाश पार्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ–‘मानव मुक्तिको महान् तथा उच्च लक्ष्यमा सम्पूर्ण जीवनको समर्पण गर्नु नै जीवनको सार्थकता रहेको कुरालाई आत्मसात गरी कम्युनिस्ट आदर्श र सर्वहारावर्गीय उदात्तताका पक्षमा उभिनुभएका क.कृष्णदास श्रेष्ठ क्रान्तिकारी कम्युनिस्ट र वर्गसंघर्षका पक्षमा लाग्ने मानिसहरुका निम्ति एक आदर्श व्यक्तित्व हुनुहुन्छ ।’

शोक वक्तव्य जारी गरिएसँगै श्रेष्ठको पार्थिव शरीर बुद्धनगरस्थित नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय कार्यालयमा ल्याई हार्दिक श्रद्धाअर्पण गरिसकिएको छ । श्रेष्ठको काठमाडौंको शंखमूलस्थित आफ्नै घरमा शनिवार दिउँसो १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो ।
दर्शन, राजनीति र सिर्जनालाई संगसंगै लिएर हिंड्नसक्ने वरिष्ठ नेता तथा सर्जक श्रेष्ठ आफैमा दार्शनिक तथा राजनीतिक चिन्तक थिए । लामो समय नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै र सहभागी हुँदै आएका श्रेष्ठको जन्म बि.सं. १९८८ मा भएको थियो ।