मेचीमहाकाली अभियान टिमद्वारा प्रदेश नम्बर १ मा कार्यक्रम भव्य रुपमा सम्पन्न

मेचीमहाकाली अभियान टिमद्वारा प्रदेश नम्बर १ मा कार्यक्रम भव्य रुपमा सम्पन्न

इटहरी । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पूर्वको मेचीमहाकाली अभियान टिमले प्रदेश नम्बर १ मा जनजागरण अभियान भव्य रुपमा सम्पन्न गर्दै इटहरी र कोशी ब्यारेजमा अभियानको अन्तिम सम्बोधन गरेको छ ।

प्राप्त खबर अनुसार इटहरीको भव्य जनसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा टिम नेता सीपी गजुरेलले देश र जनतालाई अन्यौलमा पारेर देशमा दलालहरु निकै चलखेल गरिरहेकाले राष्ट्रिय स्वाधीनता र स्वाभिमान रक्षाका लागि आम जनसमुदायका माझमा मेचीमहाकाली अभियान लिएर आफूहरु आएको कुरा बताएका थिए ।

गजुरेलले देश यथास्थितिमा रहन नसक्ने र दलालहरुले देशलाई बिघटनको स्थितिमा धकेल्दै लगिरहने भएकाले अर्को आन्दोलनका लागि जनता तयार रहन अनुरोध पनि गरेका थिए ।

सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का इञ्चार्ज तथा स्थायी समिति सदस्य क. हरिभक्त कँडेल ‘प्रतिक’ ले अब देशका स्वाभिमान तथा न्यायप्रेमी जनता नउठेसम्म देश दलालहरुको हातमा रहिरहने र नेपालीहरुले पीडाबोध गरिरने स्थिति बनिरहने हुनाले मेचीदेखि महाकालीका सबै जनता एक जुट भएर आमूल परिवर्तनका लागि उठिबस्नु पर्ने कुरामा जोड दिएका थिए ।

नेकपा क्रान्तिकारी माओवादीका सीसीएम् गणेश कटुवालले देशमा चलिरहेको माफिया तथा बिचौलियाहरुको दलाल शासनबाट देश र जनताका लागि केही पनि हुन नसक्ने भन्दै अब देशका युवाहरु खाडी मुलुकहरुमा जान छाडेर देश र जनताका लागि लड्नु पर्ने कुरा बताएका थिए ।

शुक्रवार बेलुकी कोशी व्यारेजमा ब्यारेज अबलोकनका लागि पुगेको मेचीमहाकाली जनजागरण अभियान टिमको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कन्द्रीय सदस्य पशुपति आचार्यले सम्बोधन गरेका थिए । राष्ट्रिय स्वाधीनता, जनताको जनजीविका तथा नेपालको प्राकृतिक सम्पदा उपयोगको बारेमा प्रकाश पार्दै आचार्यले कोशी ब्यारेज नेपालभारतबीचको असमानता र हस्तक्षेपको प्रतिकका रुपमा रहेको जनताले हेर्न नचाहेको कुरामा जोड दिएका थिए ।

इटहरीको जनसभा तथा कोशी ब्यारेजको कोणसभा कार्यक्रमको सञ्चालन नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय समित सदस्य मनोज श्रेष्ठले गरेका थिए ।