
सुनसरी । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियान सुनसरीको धरान बजारमा पुग्दा यसले निकै रौनकता ल्याएको थियो । स्थानीय जनताको बाक्लो जमघट केी क्षणपछि कोणसभामा परिणत भएको थियो ।
सभामा उपस्थित जनतालाई देजमो नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्दै कम्युनिष्टको नाममा स्थापना भएको केपी ओलीको दुईतिहाई बहुमतको सरकारले देशलाई अन्यौलता, दिग्भ्रम र अन्धकारतिर धकेलिरहेको बताए । उनले यसैको संकेत र प्रमाणहरु फेला पारेपछि आफूहरुले देशव्यापी मेचीमहाकाली जनजागरण अभियान सञ्चालन गरेको कुरा खुलस्त गरे ।
देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरु निकै संगीन र कठीन हुँदै जानु, दलालहरु तथा माफियाहरुको बिगबिगी हुँदै जानु, बिचौलियाहरुको मारमा जनता पर्दै जानु, महंगीले आकाश छुनु तथा दुईतिहाईको सरकार कहाँ छ भनी बत्ती बालेर खोज्नु आश्चर्यजनक अवस्थाका कारण देशको समग्र स्थिति भयावह बन्दै गएको नेता गजुरेलले बताए । उनले मेचीमहाकाली राष्टिय जनजागरण अभियानले यसै कुरालाई संन्देशका रुपमा जनताका माझमा दिन खोजेको बताए ।
विगतमा लादिएका निरंकुश शासनहरुका विरुद्ध जनताले आन्दोलन गरेका, रगतको खोलो बगाएका तर तिनै पार्टीहरुले धोखा दिएका कारण आजको स्थिति पैदा भएको भन्दै अब यसलाई जनताका पक्षमा टुंगोमा पुर्याउनु पर्ने कुरामा जोड दिए । उनका अनुसार ओली सरकारले लगाएको तुवाँलो चिर्नै पर्छ र भ्रमबाट अघि बढ्नै पर्छ ।
जानकारी अनुसार उक्त कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा प्रदेश नम्बर १ का इञ्चार्ज हरिभक्त कडेंल प्रतिक, पोलिटव्यूरो सदस्य, पार्टी तथा देजमोका केन्द्रीय सदस्यहरु तथा विभिन्न जनवर्गीय संगठनका जिम्मेवार नेताहरुको उपस्थिति रहेको थियो ।






























