देजमोको अभियानलाई राज्यले दमन गरेको दिनबाटै अर्को क्रान्ति सुरु हुन्छ : सीपी गजुरेल

मोरङमा जनसभाहरु सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन १०

मोरङ । देशभक्त जनगणतान्त्रिक मोचा नेपाल केन्द्रीय अध्यक्ष सीपी गजुरेलले अब राष्ट्रियताको मुद्दा कार्यनीतिक बनेर आइसकेको लड्नु पर्ने स्थिति निम्तिइसकेको बताएका छन् । मेची महाकाली अभियानको निरन्तरताको क्रममा मोर्चाले झापामा नेपालको अतिक्रमित सीमा क्षेत्रको अनुगमनपछि मोरङ्गको उर्लाबारीमा आयोजित वृहत कोणसभालाई संबोधन गर्नेक्रममा गजुरेलले उक्त कुरा बताएका हुन् ।क्रान्तिका लागि कुनै तिथिमिति जुराइरहनु पर्ने आवश्यकता नभएको भन्दै गजुरेलले देजमोको अभियानलाई राज्यले यदि दमन र हस्तक्षेप गरे त्यही विन्दुबाट अर्को क्रान्तिको उद्घोष हुने कुरा बताएका छन् ।

क्रान्तिकारी माओवादीका जिल्ला सचिव बादलले सञ्चालन गरेको उक्त कार्यक्रममा टिम नेता सीपी गजुरेलले नेपालको सीमा सधैं भारतीय पक्षबाट अतिक्रमित भइरहने र नेपालले दशगजा क्षेत्रमा आफ्नो भूभाग गुमाइरहने कुरा सैह्य नभएकाले यसका विरुद्ध जनजागरण अभियान लिएर आफूहरु सीमावर्ती जनताका माझमा आएको कुरा बताएका हुन् ।

सीमा अनुगमन उर्लाबारीको सभा संबोधनपछि सोही दिन अभियान टोलीले मोरङकै सुनवर्सी नगरपालिकास्थित डायनियामा अर्को कोणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । अभियानका नेता सीपी गजुरेलले उक्त सभालाई संबोधन गरेका थिए भने सभाको सञ्चालन मधेशी मोर्चाका प्रदेश संयोजक सुभिर मण्डलले गरेका थिए । यसलगत्तै मोरङको धनपाल गाउँपालिकास्थित बर्सियामा अर्को सभा सम्पन्न भएको थियो । युवा संगठनका नेताले गरम जोसीकासाथ सञ्चालन गरेका उक्त सभालाई देजमो प्रदेश संयोजक लालबहादुर र देजमो अध्यक्ष सीपी गजुरेलले गरेका थिए ।

देशभक्त जनगणतान्त्रिक मोर्च नेपालद्वारा फागुन ७ गते झापाबाट सुरु गरिएको मेचीमहाकाली अभियान कोणसभा, छलफल, पत्रकार सम्मेलन, जभेटघाट तथा अन्तरक्रिया गर्दै जनसम्बन्ध स्थापित र सुदृढ गर्दै उत्साहका साथ पश्चिमतिर अघि बढिरहेको छ । त्यसै गरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाको नेतृत्वमा अभियान टिम पूर्वतिर अघि बढिरहेको छ ।