कैलाली । देशभक्त जनगणतान्त्री मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाले देशमा दलालहरुको शासन व्यवस्था कायम भएकाले जनताले दुख पाएको बताएका छन् । उनले केपी ओलीको सरकारले जनतालाई ठूलाठूला सपना देखाउने तर काम भने केही पनि नगर्ने भएकाले देशव्यापी निराशा छाएको र ओली सरकारको राजमा राष्टघात, जनघात र जनविरोधी गतिविधिहरु निकै चुलिएर गएको कुरा खुलासा गरेका छन् । ओली सरकार दलालहरुको सरकार भएकाले जनताको पक्षमा केही होला भनेर अपेक्षासम्म गर्न नसकिने बताए । उक्त कुरा कैलाली ट्राफिक चोकमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने क्रममा थापाले बताएका हुन् ।
चुनावका बेला आफू मात्र एकमात्र देशभक्त पार्टी भएको दावा गर्ने दुईतिहाईको ओली सरकार अहिले दिल्लीले बनाएर नेपालमा पठाएको नक्कली नक्सा सरकारी कार्यालयमा झुन्ड्याइरहेको छ । यो नक्कली नक्सामा नेपालको दश हजार वर्ग किलोमिटर भूभाग अतिक्रमित गरिएको छ । यसका बारेमा नेपाल सरकार र भारतीयहरुका बारेमा कुनै पनि औपचारिक छलफल भएको छैन । एकताका निर्माण गरिएको प्रवुद्ध व्यक्ति समूह अर्थात् ईपीजी पनि बिघटित भइसकेको छ ।
युवाहरुलाई विदेश पठाएर नेपालमा समृद्धि खोज्ने ओली सरकार उल्टो बाटो हिंडिरहेको छ । यसले देशमा विकास र समृद्धि होइ, संकट र समस्याहरु ल्याउने छ । थापाले भने देशले अग्रगामी कदमहरु र विकासका बाटाहरु खोजिरहेको बेला यथास्थिति तथा अगतिको बाटो सरकारले लिन पुग्दा देश डरलाग्लो संकटमा फस्दै गइरहेको छ । उनका अनुसार जनता अब संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्षको बाटोमा अघि बढ्नु पर्छ ।