२०५२ फागुन १ विश्वमा अग्लो सगरमाथाको देशबाट इतिहासमा जनयुद्धको सुरुआत उल्लासमय वातावरणमा देशका सबै जिल्लाहरुमा प्रचारात्मक तथा भौतिक कारर्वाहीबाट सुरु भयो । सामन्ती तथा दलाल पुँजीपतिहरुलाई नेकपा माओवादीले दृढतापूर्वक चुनौती दिँदै आफ्नो योजना मुताबिक हजारौं कोटाहरु चुक्ता गर्न थाल्यो ।
आजको रातभरि राता योद्धाहरु आफ्नो जिम्मेवारी पूरा गर्दै अरु आउँदा योजना बनाउन लागेका थिए । तत्काल राकस सरकारका प्रवक्ता, विभागीय प्रमुखहरु भने विलासिताका साथ चीर निन्द्रामा मस्त मस्त परिरहेका थिए । चौक–चौकमा न्यायप्रेमी आवाजहरु गुन्जन थाले । “बल्ल माओवादीले सुरु गरेछ ! अब सामन्तीहरुको निन्द्रा हराम हुने भयो ! हिजो अस्ति त बाटामा भेट हुनेहरु पनि भेट हुन छाडे ! अब हामी पनि उतै लाग्नुपर्छ क्यारे ! कहाँ गएर भेट्ने कसैको ठेगाना छैन ! झापातिर लाग्नुपर्छ कि क्या हो, कतै माओवादीसंग भेट भैहाल्छ कि !” यस्तै–यस्तै आवाजहरु सुनिन थाले ।
बिहानको ११ः०० बजेसम्म पत्रिका पढिसकेर कोठा बाहिरै समय बितेको पत्तै भएन । खाना खाएर हिजो राती छुट्टिएका साथिहरुको कोठामा पत्रिका लिएरै गएँ । त्यतिबेला दुबै साथीसँग फोन पनि थिएन । पहिला सुजनको कोठामा पुगेँ । उनि त अघिनै स्कूल जान निस्किसकेका रहेछन् । फेरि प्रधुम्नको कोठातिर लागेँ उनी बिछौनामा पत्रिका पढ्दै रहेछन् ।
कोठामा मलाई देख्ने बित्तिकै औधि खुशी भएर हात मिलाउन उठिहाले । मैले सुजनको बारेमा उनीसँग हात मिलाउँदै सोधेँ । बिहान हामीसँगै थियौँ । स्कूलको प्रशासन कोठाकोे साँचो छाडेर तुरुन्तै फर्कन्छु भन्नु भएको छ । हामी बस्दै गरौँ न अहिले यहीँ भेट भइहालिन्छ नि । प्रधुम्नले यसो भन्ने बित्तिकै मैले पनि हुन्छ भनी उहाँकै खाटको एक छेउमा टुसुक्क बसेँ । देशव्यापी रुपमा माओवादी जनयुद्धको कारबाही चलिरहेको थियो हामीले टाँसेको ठाउँमा प्रहरीहरुले पहरा दिएर बसेको रहेछ । ती पोष्टर हेर्नेहरुलाई पनि समातेर लगेको, लगायत यस्तै कुराकानी भैरहँदा सुजन पनि आइपुगिहाले ।
त्यतिबेला सरकारी सञ्चारमा पनि फोन, रेडियो नेपाल, नेपाल टि.भी. मात्रै थियो । त्यो पनि जिल्ला जिल्लाकोे सदरमुकाममा मात्रै सीमित थियो । ने. काँ., राप्रपा र मधेशी सरकार अन्यौलतापू्र्वक, क्रूरता र विलखबन्धमा परिरहेको थियो । प्रहरीहरु यत्रतत्र जताततै गस्ती गरिरहेका थिए । पत्रपत्रिकामा भने अज्ञात समूहद्वारा घटना घटाइएको भनेर उल्लेख गरिएका खबरहरु हेर्दा, सुन्दा हामीहरु हाँसो थाम्न नसक्ने भयौँ । सचित्र पोष्टरिँग र पर्चाहरुमा नेकपा (माओवादी) बकाइदासाथ उल्लेख गरेकै थियो । त्यतिखेर सरकारले हामीलाई एकदम सानो शक्ति देखेर पत्याउन सकेन ।
हामी तिनैजना यस्तै, यस्तै कुराकानी हँुदै गर्दा कहाँ के के भयो जिज्ञासा लागिरहन्थ्यो । रेडियो नेपालबाट समाचारको क्रममा साँझको जिल्ला समाचार सुन्न थाल्याँै । त्यसपछि घटना विचार कार्यक्रममा अघिल्ला दिनको गतिविधि दिन थाल्यो ।
“अज्ञात समूहद्वारा सिन्धुली प्रहरी चौकी पूरै कब्जा गरेका रहेछन् । गोरखामा सयौँको सँख्यामा साना किसान बँैक कब्जा गरी त्यहाका कागज पत्रहरु जलाएका रहेछन् । रोल्पाको होलेरि प्रहरी चौकीमा २ घण्टासम्म दुवै पक्षबीच गोली हानाहान भएछ । जाजरकोटमा दीपकबहादुर सिंहको घरमा अक्रमण गरी कागजपत्रहरु जलाएका रहेछन् । रुकुमको बाँफिकोट, चौर जहारीका अध्यक्षका मिल कब्जा गरी आगो लगाइदिए छन् ।” त्यस्तै अन्य अघि नै जिल्लाहरुका काम कारवाहीहरुका समाचारहरु आधा घण्टासम्म दिएको दियै थियो । बेलुका हामीहरु तिनैजना छुिट्टयौँ ।
सिन्धुली पोष्ट प्रकाशनको लागि समाचार बनाउन लागिरहेको थिएँ । एक्कासी फोनको घण्टी बज्यो । चट्याङले गर्नुभएको रहेछ । उहाँले एक पटक भेटौँ भन्नु भयो । बटुको एउटा चिया पसलमा भेटेर कामको समीक्षा ग¥यौँ । हाम्रो जिम्मा असन, बाङेमुढा, भेँडासिङमा थियो । बागबजार, रत्नपार्कमा उहाँको जिम्मा रहेछ । त्यहाँको कमिटीका केही साथीहरु उक्त कार्यमा लागि पर्न आनाकानी गरेकाले तत्कालै चट्याङले सस्पेन्स गरिदिएछन् । मलाई दिपकले पछि सुनाएका थिए । त्यतिखेर आफूलाई दिएको जिम्मेवारी पूरा गर्नु नै मुख्य उद्देश्य हुन्थ्यो । त्यस्ता मुख्य स्थानहरुमा मैले बिहान सुरक्षित ती पोष्टर देख्न पाउँदा खुसी लाग्यो । कतिपय क्याम्पसमा भने विहानै भिजलान्तेहरुले च्याते पनि अधिकांश स्थानहरुमा पोष्टर सुरक्षित रहेको र त्यहाँ प्रहरीले नै सुरक्षा दिइरहेका रहेछन् । जानकारी आदान प्रदान गर्यौं ।
त्यतिखेर अहिलेको जस्तो रकम बाहिरी अन्य व्यक्ति, संस्थाहरुसँग चन्दा, आर्थिक सहयोग उठाउने गरिदैन थियो । बाहिरी तप्कासँग उठाउन लाग्दा हाम्रा योजना नै भताभुङ्ग हुन सक्थ्यो । त्यसैले हामीले जनयुद्ध सुरु गर्नको लागि आवश्यक पर्ने सहयोग रकम कमिटीहरुबाटै उठाएर हल गर्ने नीति थियो । हाम्रो कमिटीमा पनि ब्यक्तिगत तवरबाट कस्ले कति सहयोग गर्न सकिन्छ भनि शिखरले प्रस्ताव राख्नु भएको थियो । कमिटीमा हरेकले आफुले सक्दो रकम तोकेका थियौं । त्यतिखेर नेपालमा पहिलो जनयुद्धको सुरुवात हुने भएकोले हामीमा उक्त प्रस्ताव प्रति खुशीको सीमै रहेन । सवैले श्रममा भाग लिन्थे र पैदल हिडेरै दूरदराज सम्म पनि पुग्थे । यहाँसम्म कि साइकल पनि त्यतिखेर कुनै नेतासँग हुदैन थियो ।
नेताहरुले पनि इमान्दार देखाएको र सवै तहका कार्यकर्ताहरु पनि सिद्धान्तनिष्ठ नै थिए । सुरुमै मलाई सहयोगको रकम तोक्न लगाइयो । मैले पनि दिलै खोलेर जनयुद्ध सुरुवातको लागि सहयोग गर्न तत्पर देखाईहालेँ । त्यतिखेर रकम कबोलेकोमा शिखरले मलाई आफ्नो हैसियत भन्दा पनि वढि बोल्यो भनी पत्याएनन् । आज चट्याङलाई त्यहि कबुलेको रकम लिन पठाउनु भएको रहेछ । मलाई खुशी लाग्यो कि मैले पनि जनयुद्धमा लड्ने वीर योद्धाहरुलाई आर्थिक सहयोग गर्न पाएँ र नगद रकम चट्याङलाई हस्तान्तरण गरेर कोठातिर फर्के ।
कोठामा मरहट्ठा सर आएर कुरिरहनु भएको रहेछ । के छ नयाँ खवर मैले उहाँलाई सोधें । यो जनयुद्धले वहाँलाई अलि विचलित भएको जस्तो लाग्यो । उहाँ अखिल नेपाल शिक्षक संघको मोर्चा सम्हाल्नु हुन्थ्यो । केही सामाग्री लिएर घर जानु पर्ने भएकोले शैक्षिक सामान सहित मलाई घरसम्म साथी गइदिनुपर्यो भन्नुभयो । पकेट रेडियो गोजिमा बोकेर उहाँसंगै समाचार सुन्दै उहाँको घर तिर लाग्यौँ । मूल सडक चौकबाट नगई बिष्णुमति फाँटै–फाँट हिड्डै गर्दा पुलिसहरु त्यहाँ पनि गस्ति गरिरहेका रहेछन् । हामी आफ्नै सुरले अघि बड्दै गयौं । उनीहरु आफ्नै सुरमा औपचारिकता साथ डिउटीमा गस्ति गरिरहेका थिए ।
प्र.म. शेरबहादुर भारततिर रहेकाले कार्यवाहक प्र.म. तथा गृह मन्त्रीलाई पत्रकारहरुले विभिन्न प्रश्नहरु सोध्न थाले । प्रत्युत्तरमा गृहमन्त्रीले म ७२ घण्टाभित्र यस्ता गतिविधि नियन्त्रण गरेरै छाड्छु भनी बरबराउन थाले । केही सफलता पाउँछु कि भनेर होला, प्रहरीहरुलाई काठमाडौंका बागमती र विष्णुमती किनारका फाँटहरुमा, सडकका चौकहरुमा २४ सै घण्टा परचिालन गराइरहे । मरहट्ठा सरलाई वहाँको घर पुर्याएर कोठातिरै फर्के । खाना खाई टि.भी. हेरेँ केही समाचार दिएको रहेनछ ।
म पनि सिन्धुली पोष्ट प्रकाशनको लागि समाचार बनाउने कामतिर लागेँ । सँधै सिन्धुलीबाट समाचार पोष्ट अफिसबाट र कुरियरबाट आउँथ्यो । तीन दिन भइसक्यो आइपुगेको छैन । जनयुद्धको बेला नियमित अंक त रोक्नु भएन भनी आफै समाचार तयार पारेर निकाल्न तिर लागेँ । त्यतिखेरसम्म जनयुद्धको जिम्मेवारी पार्टीले लिइसकेको थियो । सरकारको देशव्यापी धरपकड पनि सुरु भैसकेको थियो ।
काठमाडौंमा तत्कालीन संजमोका अध्यक्ष डा. बाबुराम भट्टराइको घरमा ६ र ७ गते लगातार छापा मार्यो । त्यस्तै महासचिव पम्फा भुषालको घरमा पनि ७ गते पुरै खान्तलासी लिएछ । सोही दिन युवराज भुषाल र शालिकराम भुषाललाई गिरफ्तार गरेछ । प्रगतिशील वरिष्ठ साहित्यकार खगेन्द्र सङ्गग्रौलालाई बाटो हिँड्दै गर्दा गिरफ्तार गर्यो । गौशालाबाट धनबहादुर पन्त, सिफलबाट मानबहादुर गुरुङ, धापासीबाट खेम भण्डारी, डल्लुबाट पूर्ण दोङ्ग, चावहिलबाट केशवराज पाठक, भुरुङ्गखेल विद्यार्थी कार्यालयबाट आनन्द सापकोटा, सन्त नेपाली लगायत २० जनालाई गिरफ्तार गरिसकेको थियो ।
रोल्पाका जिल्ला सभापति झक्कु सुवेदीको घरमा पुरा खान्तलासी लिएर गिरफ्तार गरेछ । रेशम बहादुर गुरुङ, बालकराम घर्ति मगर, नरेन्द्र थापा, लगायत १८ जनालाई गिरफ्तार गरेको रहेछ । रुकुमबाट विश्वेश्वर पोखरेल लगायत २० जनालाई गिरफ्तार गरिएछ । भारतका नयाँ डिल्ली, पञ्चाब, जालन्धर खाना, रोपड, पठानकोट, अमृतसर, मैसर, लगायतका शहरहरुमा अखिल नेपाली एकता समाजको आवहानमा नेपाली जनयुद्धको समर्थनमा विभिन्न समुदायहरुले आवाज बुलन्द गर्दै र्याली निकालिरहेका थिए ।
सरकारद्वारा चर्को दमन चलाउदै लाने क्रममा तात्कालिन सयुक्त जनमोर्चा नेपालका कतिपय जिल्ला समितिहरु पनि पुनर्र्गठन हुन पुगे । संजमोद्वारा माओवादी जनयुद्धलाई सर्मथन गर्दै तयारी रहन पुगे । उदयपुर, बाँके, काठमाडौं, लमजुङ्ग, स्याङ्गजा, म्याग्दि, झापा, कास्की, कैलाली, सुनसरी, कपिलबस्तु, चितवन लगायतका संजमो जिल्ला पदाधिकारीहरु जनयुद्धलाई समर्थन गर्दै माओवादीको नयाँ जनवादी क्रान्ति सफल पार्न लामवद्ध भई सकेका रहेछन् ।
माओवादीले सुरु गरेको जनयुद्धप्रति सरकारले देशव्यापी तीब्र दमन गरिरहेको र आफूलाई कम्युनिष्ट भन्ने विभिन्न पार्टीका नेताहरुसंग हामीले प्रतिक्रिया माग्दा यसरी व्यक्त गरेको पाइयो ।
नेकपा मसालका प्रवक्ता दीनानाथ शर्माः “ नयाँ जनवादी क्रान्तिको लागि दीर्घकालीन जनयुद्ध अनिवार्य सर्त हो भन्ने हाम्रो पार्टीको मान्यता हो, तर यसका लागि वस्तुगत र आत्मगत अवस्था दुवै तयार हुनुपर्छ । यति बेला माओवादी पार्टीले जुन ढंगले जनयुद्धको थालनी गरेको भनेको छ, त्यसबारे हाम्रो पार्टीमा सल्लाह नभइसकेकोले प्रतिक्रिया दिन मिल्दैन, त्यसैले अहिले केही नबोलौं ।”
नेकपा मालेमाका महासचिव कृष्णदास श्रेष्ठः “जनताको मुक्तिको निम्ति जनयुद्ध हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो, तर कुन बेला र कसरी गर्ने भन्ने बारे फरक मत हुन सक्छ । यस घटनालाई कसरी हेर्ने र बुझ्ने भन्ने बारेमा साथीहरुको बीच छलफल गरेपछि प्रतिक्रिया दिन उपयुक्त होला ।”
अमिक शेरचन संजमो नेपाल (निरन्जन बैद्य) : “अस्तिसम्म यो घटनालाई कुनै पनि राजनैतिक पार्टीले जिम्मा नलिरहेको सन्दर्भमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा सरकारले वेवास्ता गरीरहेकोले जनताले स्वस्फूर्त आन्दोलन गरेको हुनसक्ने आशंका प्रकट गर्न सकिन्थ्यो, तर आज त्यो अन्यौलको स्थिति समाप्त भएको छ । यसबारे हामी छिट्टै टुङ्गो लगाएर पार्टीको धारणा स्पष्ट पार्ने छौं । अहिले केही नबोलौं ।”
शम्भुराम श्रेष्ठ नेपाल कम्युनिष्ट लिगः “यसबारे प्रतिक्रिया दिन हतार नगर्नु नै उचित हुन्छ ।”
खड्ग प्रसाद ओली पूर्व गृहमन्त्री, एमाले : यसबारे पार्टीले अहिलै कुनै पहल गरिसकेको छैन । त्यसैले मैले व्यक्तिगत तबरबाट यो प्रतिक्रया दिएको छु कि यो घटना तथाकथित माओवादी समूहले बिल्कुलै दुश्साहसिक र कम्युनिष्ट आन्दोलनलाई बदनाम गराउने अभिप्रायले अवसरवादी क्रियाकलाप गरेको छ । यसले कम्युनिष्ट आन्दोलनलाई विस्थापित गर्ने भएकोले तत्कालै रोक्नुपर्छ भन्ने मलाई लागेको छ । वर्तमान सरकारलाई पनि सर्वसाधारण जनतालाई दमन गरेर समस्याको समाधान गर्नेतिर होइन कि राजनैतिक रुपमा समस्या समाधान गरोस् भन्ने माग गर्दछु ।”
यसरी देशमा विभिन्न ठाउँमा धावाबोलेर नयाँ जनवादी क्रान्तिको सुरुआत गर्ने नेकपा माओवादी जनयुद्धप्रति नेपालका आफुलाई कम्युनिष्ट हौं भन्ने पार्टीहरुले ऐक्यवद्धता त के नैतिक समर्थन गर्न पनि आनाकानी गरे । उल्टै माओवादीको यस्तो साहसिलो कदमबाट एमाले पार्टी त्यत्तिखेर तर्सेको पनि आभाष पाइयो । स्मरण रहोस् पार्टी एकता भए पनि एमालेकै पार्टी कार्यालयमा र प्रचण्डकै नेतृत्वमा २४ औँ जनयुद्ध दिवस मनाउने क्रममा एमालेका माधव नेपाल, के.पी. ओली र झलनाथ खनाल जस्ता नेताहरु कोही पनि सहभागि भएनन् ।
विश्वका सर्वहारा महान नेता माओत्सेतुङले भन्नु भए झैं “तिमी तिम्रै तरिकाले लड, हामी हाम्रै तरिकाले लड्छौं” भने झैं माओवादीले पनि छापामार युद्धलाई अझ तिब्र बनाउँदै नियमित सेना निर्माण गर्न तिर लाग्यो । गाउँ–गाउँमा युवालाई जनमिलिसिया टिम बनाउन संगठित गर्न थाल्यो ।
यसैबीच ग्रामिण वर्ग संघर्षलाई सहयोग पु¥याउन शहरी संघर्षहरु विचार गोष्ठी, अन्तरक्रिया, चैत्र २४ को जन आन्दोलन दिवस जस्ता कार्यक्रमहरु मनाउँदै जान थाल्यो । विद्यार्थी, मजदुर, किसान, महिला, आदिवासी, जनजाति लगायतलाई समावेश गरी जुलुश, सम्मेलनहरु एक पछि अर्को कार्यक्रम गर्दै लग्यो । जनयुद्धको प्रचार राजधानी सहरमा पनि व्याप्त हाते पोष्टर, पर्चा वितरण, पत्रकार सम्मेलन गर्दै जनयुद्धको औचित्य प्रष्ट पार्ने कार्यहरु शहरी आन्दोलनबाट तिब्र बनाउन थाल्यो ।





























