२४ औं जनयुद्ध दिवस, क्रान्तिकारी माओवादी र क्रान्तिकारी आन्दोलन

नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर रेड मार्चपास, मशाल जुलुस, सभा, गोष्ठी लगायत विभिन्न कार्यक्रम गरी २४ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । पार्टी शीर्ष नेतृत्वदेखि आम पार्टी सदस्यलगायत हजारौं जनसमुदाय सहभागितामा कार्यक्रमहरु सम्पन्न गरिएका छन् । सहिद तथा वेपत्ता परिवारदेखि जनयुद्धका घाइतेहरु समेतलाई यसै अवसरमा सम्मान समेत गरिएको छ । जनयुद्ध दिवसकै सन्दर्भ पारेर पार्टी तथा देजमोका जिल्ला भेला तथा सम्मेलनहरु पनि सम्पन्न गरिएका छन् । २७ माघ देखि सुरु गरिएको क्रान्तिकारी युवा लिग, नेपाल ४ नं. प्रदेशको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षण तथा तालिम फागुन १ को जनयुद्ध दिवसकै अवसर पारेर समापन गरिएको छ । कतिपय ठाउँमा निर्मित सहिदहरुका शालिकमा माल्र्यापण गर्ने कामहरु पनि भएका छन् । समग्रमा क्रान्तिकारी माओवादीले देशैभर जनयुद्धको बहुआयामिक मूल्यलाई स्थापित गर्ने कामलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरेको छ । र, राजनीतिक रुपमा यसको विशेष महत्व रहेको रहेको छ ।

तत्कालीन पार्टी नेतृत्वको धोका र गद्दारीका कारण जनयुद्धले ‘सेट ब्याक’ खाएपछि माओवादी टुट फुट विभाजनबाट गुज्रिन पुग्यो । जनयृुद्ध लडेर आएको ठूलो पंक्तिको नेतृत्व गरेका पुष्पकमल दाहाल‘प्रचण्ड’ले ‘माओवादी केन्द्र’ नामको पार्टी एमालेमा लगेर विलय गराए । अर्का नेता बाबुराम भट्टराईले माओवादी आन्दोलनबाट मात्र होइन, कम्युनिस्ट विचार र राजनीतिबाटै सम्बन्ध विच्छेद् गरी नयाँ शक्ति नामको ‘बुर्जुवा’ पार्टी बनाउन पुगे । पार्टीका बरिष्ठ नेता मोहन वैद्य‘किरण’ले पार्टीको विचार र राजनीतिको नेतृत्व गर्दै ०६९ सालमा निर्माण गरेको नेकपा–माओवादी अहिले आएर ‘क्रान्तिकारी माओवादी’को रुपमा रहेको छ । यही पार्टीबाट अलग भई नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा नामको पार्टी बनाएका छन् भने रामबहादुर थापा बादलको नेतृत्वमा एउटा अवसरवादी पंक्ति माके हुँदै अहिले एमालेमा विलिन हुन पुगेको छ । अहिले माओवादी नामको पार्टी भनेको मोहन वैद्य‘किरण’ नेतृत्वको ‘क्रान्तिकारी माओवादी’ मात्र रहेको छ । यही पार्टीले आफूलाई जनयुद्ध र झापा विद्रोहको उत्तराधिकारी रहेको दावी गर्दै आएको छ र यस पटकको २४ औं जनयुद्ध दिवसमा भव्य रुपमा मनाएर उसले त्यसको साबित पनि गरेको छ ।

नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको प्रक्रियाबाट नेपालमा नयाँ जनवादी क्रान्तिको ‘कोर्स’ पूरा गर्न सकिने विश्लेषणसहित अहिले क्रान्तिकारी माओवादी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको छ । ‘नयाँ जनवादी क्रान्ति पूरा भएको छैन’ भन्ने विश्लेषणमा सहमत हुने छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एक ठाउँमा गोलबन्द गरी क्रान्तिको नेतृत्व गर्ने हैसियतसहित अगाडि बढिरहेको यो पार्टीप्रति पछिल्ला दिनमा ध्रवीकरण र आकर्षण पनि बढ्दै गएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई मुख्य जोड दिएर उठाउँदै आएको यो पार्टीले क्रान्तिको तीन जादुगरी हतियारमध्ये संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले यिनै मुद्दाहरु समेटेर वर्तमान ओली सरकारलाई ९५ बुँदे ज्ञापन पत्र बुझाएको छ भने यही विषयलाई लिएर फागुन–७ देखि २१ सम्म मेची–महाकाली अभियानमा निस्कँदै छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले झापाको काँकडभिट्टा र सचिव परि थापाले कञ्चनपुरको गड्डाचौकीबाट अभियानको उद्घाटन गर्दैछन् । मोर्चाको उपत्यकाबाट सुरु हुने अभियानको उद्घाटन पार्टी महासचिव मोहन वैद्य‘किरण’ले गर्दैछन् भने पोखरामा पनि अभियानको एकसाथ उद्घाटन हुँदैछ । ‘मेची–महाकाली अभियान सफल पारौं, अग्रगामी विकल्पकको तयारी गरौं’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको अभियानको क्रममा अतिक्रमित भूमिको अध्ययन तथा अवलोकन, विरोध तथा भण्डाफोर सभाहरु, अन्तक्र्रिया तथा गोष्ठीहरु लगायत जनजागरणसम्बन्धी कार्यक्रमहरु गर्ने तयारी गरिएको छ ।

मुलुक अहिले चौतर्फी रुपमा समस्या ग्रस्त बनेको छ । आफूलाई कम्युनिस्ट तथा बाम बताउने ओली नेतृत्वको सरकार जनताको बीचमा बद्नाम र घृणित बनेर गएको छ । सिंहदरबारदेखि गाउँतहसम्म फैलिएको संस्थागत भ्रष्टाचारको माहामारी, राज्यको स्रोत साधनमाथि भइरहेको ब्रम्हलुट, बढ्दो दण्डहीनता तथा अराजकता, माफियाकरण, हत्या, बलात्कार, अपहरणको डरलाग्दो श्रृङ्खला, महंगी, कालोबजारी, बेरोजगारीको भयावह समस्या, डरलाग्दो व्यापार घाटा, असन्तुलित अर्थतन्त्र, असन्तुलित कुटनीतिक सम्बन्ध आदि स्थितिले आम जनता आजित भएका छन् र वर्तमान सत्ता तथा व्यवस्थाको विकल्प खोज्न थालेका छन् । यही स्थितिको सूक्ष्म विश्लेषण गर्दैै क्रान्तिकारी माओवादीले मोर्चामार्फत् विकल्पको तयारी भन्दै अभियान सञ्चालन गर्न लागेको देखिन्छ । जनआन्दोलनको उत्कर्षको रुपमा ऐतिहासिक रुपले स्थापित चैत्र २४ को दिन पारेर यही मोर्चाको राष्ट्रिय सम्मेलनको तयारी समेत गरिएको छ । मोर्चाको सम्मेलनलाई क्रान्तिकारी माओवादीले आफ्नो शक्ति प्रदर्शनको रुपमा समेत प्रस्तुत गर्ने गरी तयारीमा जुटेको देखिन्छ ।

माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक पथप्रदर्शनमा संगठन र संघर्षको द्वन्द्वात्मकतामाथि ध्यान दिंदै क्रान्तिकारी माओवादीले आफ्ना योजना र कार्यक्रमको निर्माण र कार्यान्वयन गर्दै आएको छ । नेपाली विशिष्टतालाई ख्याल गर्दै क्रान्तिकारी माओवादीले विभिन्न जनवर्गीय संगठन, जातीय क्षेत्रीय मोर्चाको नेतृत्वमा समेत आन्दोलनहरु संगठित गर्दै आएको छ । क्रान्तिकारी युवा लिग, नेपाललाई उसले जुझारु शक्तिको रुपमा विकास गर्ने गरी युवाहरुलाई शारीरिक तालिम समेत दिंदै आएको छ । ‘क्रान्तिकारी जनसेना’ निर्माणको आवश्यकतालाई समेत उच्च प्राथमिकतामा राख्दै आएको क्रान्तिकारी माओवादीले ‘सामरिक कार्यदिशा’को सापेक्षतामा त्यसको विकास गर्ने कुरामा पनि विशेष ध्यान दिएको देखिन्छ ।

यसर्थ, समग्रमा क्रान्तिकारी माओवादीले विगतका जनयुद्ध र जनआन्दोलन, अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा राष्ट्रिय मुक्ति युद्ध र आन्दोलनबाट पाठ सिक्दै र पार्टीलाई सबै किसिमका अनुभवले समृद्ध पार्दै क्रान्तिको अभिभारा पूरा गर्ने दृढताका साथ आफूलाई तयार पारिरहेको देखिन्छ । जनयुद्धले सेटब्याक खाएपछि बढेको चरम निराशा, अन्यौलता र अकर्मयताका बादलहरु पनि विस्तारै हट्दै गएका छन् । क्रान्तिकारी आन्दोलनमा विस्तारै आशा, उत्साह र विश्वासको बातावरण पैदा हुँदै गएको छ । फेरि अब आन्दोलनको आँधिबेहरी उठ्ने, विद्रोहको राँको बल्ने परिस्थिति विकसित हुँदै गएको छ । क्रान्तिकारीहरुले दृढ र उच्च मनोबलका साथ क्रान्तिकारी आन्दोलनमा आफूलाई आन्दोलनमा होम्न तम्तयार पार्न जरुरी छ ।