
कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कञ्चनपुर जिल्लाको आयोजनामा पत्रकार सम्मेलन गरी अभियानको बारेमा ‘ब्रिफिङ’ गरिएको छ । भोलीबाट सुरु हुने मेची–महाकाली अभियानको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अभियानको बारेमा ब्रिफिङ गरिएको हो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाले महेन्द्रनगरको गड्डाचौकीबाट मेची–महाकाली अभियानको उद्घाटन गर्दैछ । अभियानको उद्घाटन भोली दिनको १२ बजे उद्घाटन हुने मोर्चाले जनाएको छ ।
देशमा दलाली, भ्रष्टाचार मैलाएको र भारतले नेपाली भूमिमाथि पटक–पटक हस्तक्षेप गर्ने गरेको हुँदा जनतालाई त्यसबारेमा जानकारी र जागृत बनाउने उद्देश्यले अभियान सुरु गर्न लागिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नम्बर ७ का संयोजक रामबहादुर केसी डायमण्डले बताए ।
अभियानको उद्घाटन समारोहपछि महेन्द्रनगरको झलारी बजारमा कोणसभा गर्ने तयारी रहेको बताइएको छ । अभियानमा अभियान १ सय ५० जना नेता कार्यकर्ताको सहभागिता रहने जनाइएको छ । अभियान सात नम्बर प्रदेशमा कञ्चनपुर र कैलालीमा सञ्चालन गरिसकेपछि बर्दिया जिल्ला हुँदै २१ गते समापनको लागि चितवन पुग्ने प्रदेश संयोजक केसीले जानकारी दिए । मोर्चाका कञ्चनपुर जिल्ला अध्यक्ष बिष्णुराम दमाईको अध्यक्षता तथा सञ्चालनमा भएको पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका स्थायी समिति सदस्य राजवीर, पार्टी पीविएम अटल, केस तथा कञ्चनपुर जिल्ला इन्चार्ज क्षितित, जिल्ला सेक्रेटरी हरि सुवेदी, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रामबहादुर महरालगायतको उपस्थिति रहेको थियो ।





























