श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले फिक्स विङस (स्थिर पंखा जडित) जहाजमार्फत आफ्नो अन्तर्राष्ट्रिय उडान गर्ने इजाजतपत्र (लाइसेन्स)पाएको छ । यस वायुसेवाले सीआजे जेट नामक जहाजबाट आफ्नो अन्तर्राष्ट्रिय उडान अनुमति पाएको हो । तर यो वायुसेवाले हेलिकप्टरबाट चार्टर उडान अनुमति भने पहिले नै पाइसकेको छ ।

श्री ले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चार्टर उडान गर्ने गरी अन्तर्राष्ट्रिय इजाजत पाएको हो । श्री एयरलाई यसअघि २०६७ सालमा जुन प्रकृतिको लाइसेन्स दिएको थियो त्यसैमा सीआरजे जेट नामक जहाजको फ्लिट थप गरिदिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

हालको स्थितिमा यो वायुसेवाले हवाई सेवा सम्झौता नभएका मुलुकमा पनि चार्टर उडान गर्न पाउँछ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तोकिएको सर्त पूरा गर्ने र क्षमता विकास गरेर आएपछि हवाई सेवा सम्झौता भएका मुलुकसँग नियमित उडान गर्न पाउनेछ । यो वायुसेवालाई हेलिकप्टरसँगै नियमति उडानमा रहेको सीआरजे ७०० वा २०० नामका जहाजबाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने गरी अनुमतिपत्र दिएको हो । मन्त्रालयको अनुमतिपछि अब यो वायुसेवाले उडान अनुमति (एओसी)का निम्ति नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिन पाउँछ ।

प्राधिकरणले तोकेको सर्तअनुसार प्रक्रिया पूरा गरेपछि यो वायुसेवाले (एओसी) पाउँछ । प्राधिकरणबाट आगामी तीन महिनाभित्रै एओसी पाउनेगरी आवश्यक तयारी गरिने श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धर बताएका छन् । मानन्धरका अनुसार, ‘हामीसँग हेलिकप्टर उडानको अन्तर्राष्ट्रिय अनुमति पहिल्यै थियो । यही लाइसेन्समा जहाज थपेको (फ्लिट थप) भएको अनुमति पाएका हौं । आवश्यक प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय उडानको अनुमति लिने, जहाज थप गर्ने काम गर्दै जाने प्रक्रियामा छौं ।’

हाललाई अन्तर्राष्ट्रिय चार्टर उडानमा कतिवटा जहाज चलाउन पाउने भन्ने विषयमा मन्त्रालयले वायुसेवाले तीन वटा जहान चलाउन पाउने भन्ने निर्णय गरेको छ । एयरलाइन्ससँग नियमित उडानमा रहेको सीआरजे ७०० नामक ७० सिटर र २०० नामक ५० सिट क्षमताको २–२ वटा जहाज छ । फिक्स वीङसबाट अन्तर्राष्ट्रिय चार्टर सुरु गरेको केही समयमा नै छिमेकी देश भारतका विभिन्न गन्तव्यमा नियमित उडान गर्ने योजना यो वायुसेवाको छ ।

यो वायुसेवाले वम्बाडियर कम्पनीको क्यु ४०० नामक ७८ सिटरका तीन वटा थप जहाज पनि भित्र्याउँदै छ । फागुनभित्र दुईवटा र त्यसको केही समयपछि अर्को एक जहाज भित्र्याउने गरी काम भइरहेको मानन्धरले जानकारी दिए । यो जहाजमार्फत श्रीले पोखरा र भरतरपुरसहितको यो वायुसेवाले भारतका विभिन्न सहरलाई गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान सेवा दिने भएको छ । सरकारले भारतबाट पर्यटक ल्याउनलाई प्राथमिकतामा राखेको र नेपालबाट भारतका हैदरावाद, मुम्बई, दिल्लीसहितका गन्तव्यमा नियमित उडान गर्ने योजना श्रीको छ ।

यो वायुसेवाले चारवटा आन्तरिक उडानका जहाजमार्फत माउन्टेन फ्लाइटसहित काठमाडौंबाट भैरहवा, विराटनगर, भद्रपुर, नेपालगन्ज, धनगढी र राजविराजमा उडान गरिरहेको छ।