नेवाः राष्ट्रिय मुक्ति मोर्चाको महासचिवमा निर्वाचित हुनु भएकोमा बधाइ । संगठनको यो जिम्मेवारी लिंदा कस्तो महसुस गरिरहनु भएको छ ?

हार्दिक शुभकामना !

सर्वप्रथम त तपाईलाई पनि धन्यवाद । हाम्रो गौरवशाली मोर्चाकोे सांगठनिक जिम्मेवारी लिन पाउँदा खुशी त हुने नै भैहाल्यो । विगत लामो समयदेखि मोर्चामा नै छु । केही समय पार्टीको विभाजनको कारण यताउता भइयो । यो जिम्मेवारीले केही महत्वपूर्ण र उच्च दायित्वबोध गराएको छ । उत्पीडित नेवाः जाति तथा जनताको अग्रगामी कदममा जानका लागि चुनौती त छन् नै । त्यसलाई सामना गर्दै जाने प्रण गरेको छु ।

यसरी मोर्चाको सांगठानिक नेताको हैसियतमा रहँदा के गरेमा संगठनको आन्तरिक जीवनमा गति आउला भन्ने सोच्नु भएको छ ?

विशेषतः हाम्रो मुलुकको शासन दलाल पुँजीपति वर्गको हातमा छ । अर्को नाम मात्रको कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । कम्युनिस्ट पार्टीको सरकार रहँदा जनतामा केही आशाहरु थिए । त्यो आशामा आज जनतामा निराशा थपिएको छ । वास्तवमा जनताहरु पछुताएका छन् । मत फिर्ता माग्न मिल्ने भए माग्ने थिए । जनताले अब विकल्पको खोजी गरिरहेका छन् । विस्तारै जनता फेरि सडकमा आउन बाध्य हुने अवस्था छ ।

यस्तो आवस्थामा हामी जिम्मेवारीमा रहेका नेताकार्यकर्ता विचार सिद्धान्तमा एकरुपता कायम गरी जनतामा जानु पर्छ । कार्यकर्ताहरुमा उत्साह थपिदै छ । सरकार एकपछि अर्को गरी असफलतातिर गैसकेको छ । जस्तो सिण्डिकेट, सुन तस्करी, वाइडबडी, निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण, बढ्दो हत्या, हिंसा, बलात्कार, महंगी, स्थानीय, प्रदेश र केन्द्र सरकारबाट थोपरिएको करको भारी, बढ्दो बेरोजगारी समस्याहरुलाई समाधान गर्न नसकेका कारण पनि असफल भएको छ ।

यिनै मुद्दाहरु र जनजातिमाथि भएको उत्पीडनको मुद्दाले संगठन विस्तारमा र संघर्षको आवश्यकता पूरा गर्नु पर्ने दायित्व थपेको छ । संगठनको आन्तरिक अवस्थालाई सुदृढीकरण गर्दै जान आवश्यक छ । आम नेवाः समुदायमा संगठन विस्तार गर्दै संगठनको अवस्थालाई सुदृढ र जुझारु बनाएर नलगेसम्म हामीले अधिकार प्राप्त गर्न सक्दैनौं । अब संगठन र संघर्षको द्वन्द्वात्मकतालाई ध्यान दिंदै अभियानकै रुपमा जनतामा जान आवश्यक छ । मोर्चा यस विषयमा स्पष्ट नै छ । र, संघर्ष गर्दै पनि आएको छ । यो झन् जनतामा स्थापित हुँदै जानेछ ।
मोर्चा संगठनको विस्तारका लागि स्थानीय जनता र नेवाः समुदायलाई भित्रैदेखि जुरुक्क उठाउने त्यस्ता के कस्ता कार्यक्रमहरु हुन सक्छन् ?

यो अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभयो । निश्चितै रुपमा हाम्रो मोर्चाले त्यस्तो खालको योजना विस्तार गर्दै जान आवश्यक छ । अब जनतालाई छुने योजनाहरु त हामीले खोज्ने र बनाउनै पर्ने भएको छ । अहिलेको सरकार आफैले पनि हामीलाई त्यस्ता योजनाहरु बनाउन सजिलो बनाइदिएको छ । अर्को, संघर्षको लागि मैदान खाली छ । हामीसित संघर्षका योजनाहरु प्रशस्तै छन् । खाली हामीमा साहस र आत्मगत तयारीको खाँचो छ । वस्तुतः संघर्षका लागि अवस्था त परिपक्व बन्दै गएको छ ।

दशवर्षे जनयुद्धका मुद्दाहरु जस्ताको तस्तै अवस्थामा छन् । महंगी त्यत्तिकै बढेको छ । बेरोजगारको संख्या डरलाग्दो गरी वृद्धि भइराखेको छ । वर्गीय, लिङ्गीय, जातीय उत्पीडन कायमै छ । यसमा केही फेरबदल आएको छैन । जातिहरुको आत्मनिर्णयको अधिकारसहितको पहिचानको मुद्दा बाँकी नै छ ।

मुलुकमा अहिले जनगणतन्त्रका लागि सिंगै संघर्ष बाँकी छ । पूर्ण समानुपातिक र समावेशीकरणको मुद्दा समेत सत्ताधारीहरुले छाडिसकेका छन् । अर्कोतिर, राष्ट्रिय स्वाधीनता, आन्तरिक राष्ट्रियता, जनजीविकाका समस्याहरु हिजोभन्दा आज झन् गम्भीर भएर गएका छन् । यस्तो स्थितिले जनता साह«ै निराश र आक्रोशित समेत हुँदै गएका छन् । अब हाम्रो नेवाः मोर्चा यो स्थितिको ठोस विश्लेषण गर्दै जवाफदेहीपूर्ण रुपमा संघर्षमा जानेछ ।

एकातिर भारतीय विस्तारवादसँग दलाल सरकारले गरेका राष्ट्रघाती सन्धिसझौताहरुको खरेजी, जस्तै कर्णाली, अरुण तेस्रो, कोशी उच्च बाँध, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई दिने, बिप्पालगायत सन् पचासको सन्धि सम्झौताहरु खारेज गर्ने र अनाधिकृत रुपमा भारतीयहरुलाई नेपाली नागरिकता दिने काम तत्काल बन्द गराउनुपर्ने जस्ता मागहरु लिएर जनतामा जान जरुरी छ भने अर्कोतिर जातीय स्वशासन र आत्मनिर्णयको अधिकारलाई सिद्धान्ततः स्वीकार गरी सबै उत्पीडित जाति तथा क्षेत्रका आधारमा संघीय प्रदेशहरु निर्माण गर्ने, पूर्ण समावेशी तथा समानुपातिक प्रणालीको ग्यारेन्टी गर्ने, महिला, दलित र मुस्लिमलाई विशेषाधिकार दिने उद्घोषसहित संगठन विस्तार र संघर्ष उठानमा अब नेवाः मोर्चाले विशेष जोड दिन्छ ।

काठमाडौंमा त सेटलाइट सिटी निर्माण गरिने भनी निकै प्रचार गरिएको छ । बाहिरी चक्रपथ, फास्टट्रयाक, सडक विस्तारलगायतका ओली सरकारले गरेको कामको उपत्यकाको नेवाः समुदायले विरोध गर्दै आएको छ । त्यसको समाधान कसरी होला ?

यो सरकारको नियतमा खोट छ । किनभने आज काठमाडौं शहरमा जनघनत्व बढी भैसकेको छ । यहाँका खेतीयोग्य जमिनमा घरहरुले भरिसक्यो । फोहरमैला डम्पिङ गर्ने ठाउँ नभएर समस्या जटिल बनेको छ । खानेपानीको समस्या छ । चारैतिर पहाडले घेरिएको उपत्यका छ । स्वच्छ हावाको कमी छ । सडकमा ट्राफिक जाम छ । आधा घण्टाको बाटोमा ३ घण्टा समयमा पनि पुग्न सकिन्न । अस्तव्यस्त भएर उकुसमुकुस अवस्थामा सहरी जीवन विताउन परेको छ । यहाा दिनदिनै बलात्कार, चोरी, डकैतीका घटनाहरु घटिरहेका छन् । यस्ता अनगिन्ति समस्या व्यहोर्नु परिरहेको छ ।

यस्ता समस्याको समाधान तथा व्यवस्थापन गर्न नसकिरहेके सरकारले फेरि सेटेलाइट सिटी निर्माण गरेर हजारौंलाई काठमाडौं भित्र्याउने र यहाँका नेवाः जातिको पहचान तथा अस्तित्व मेटाउने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुलाई मटियामेट पार्ने जस्ता नेवाः समुदायविरोधी हर्कत गर्ने प्रयत्न गरिरहेको छ । यसको घोर भर्त्सना र विरोध नेवाः मोर्चाले गर्दै आएको छ ।

जहाँसम्म ८ लेनको बाहिरी चक्रपथ बनाउँदा स्थानीय जनताको खेतीयोग्य जमिन अधिकरण गर्ने र उनीहरुलाई विस्थापित गर्ने काम हुन जान्छ । उपत्यकाका नेवाः किसान समुदायको एक मात्र गरिखाने पेशा भनेको कृषि हो, त्यही खेतीयोग्य जमिन हो । यो उनीहरुको घरबास उठिबास लगाउने षड्यन्त्र हो । हामी त यो राजधानी नै अन्यन्त्र सार्न सरकारलाई भनिराखेका छौं । उपत्यकाबासीलाई राजधानी र स्मार्ट सिटी तथा सेटलाइट सिटीको आवश्यकता छैन । फास्टट्रयाट बनाउने भए जनतालाई मुआब्जा दिइनु पर्दछ । नेवाः समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण हुने गरी बनाउन हामीले भनिरहेका छौं । स्थानीय जनताको मागलाई सरकारले बेवास्ता गर्न पाउँदैन । जनतासँग परामर्श आवश्यक छ ।

संघीयताको संरचना र सरकार निर्माण सँगसँगै उठेको पहिचान र अग्राधिकारको प्रश्नलाई कसरी लिनु भएको छ ?

हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को र हाम्रो नेवाः राष्ट्रिय मुक्ति मोर्चाको विगत सरकार निर्माण संविधान जारी हुनुभन्दा अगाडि मात्र होइन कि स्थापनाकालदेखि नै पहिचानसहितको संघीयता र अग्राधिकारको प्रश्नलाई उठाउँदै आएको छ । यही मुद्दालाई लिएर दोस्रो जनआन्दोलन, त्यो पनि दशवर्षे जनयुद्धको जगमा सबै उत्पीडित जातजातिहरु सडकमा आएकै हुन् । अहिलेको तथाकथित संघीय गणतन्त्र त्यही बलमा आएको स्पष्ट नै छ ।

तर जनयुद्ध, जनआन्दोलन, मधेश तथा आदिवासी जनजाति आन्दोलनको जनादेशअनुसार मुलुकमा संघीयता स्थापना हुन सकेन, अग्राधिकारको त कुरै छाडौं । अहिले जनताको शक्ति एकातिर र जनविरोधी शक्तिहरु अर्कोतिर ध्रुवीकृत हुँदै गएको छ । संसदवादी दलहरुले एजेण्डाहरु छाडे पनि जनताले छाडेका छैनन् । अहिले आन्दोलन केही सुस्ताएजस्तो भएपनि अब विस्तारै यो आन्दोलन उठ्दै जानेछ ।

हामीलाई दृढ विश्वास छ । हामीले उठाएका मागहरु जनताकै मागहरु हुन् । पहिचानसहितको संघीयता र अग्राधिकारको व्यवस्था नगरेसम्म नेपालका उत्पीडित जाति जनजातिहरुको मुक्ति सम्भव छैन । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गि उत्पीडनबाट मुक्तिका निम्ति संघर्षको विकल्प छैन । हामीले यो मुद्दा छाडेको छैन, अब व्यवस्थित रुपमा उठ्छ, उठाउँछौं ।

तपाईले सत्तारुढ नेकपा परित्याग गरी क्रान्तिकारी माओवादी प्रवेश गर्दा पाउनु भएको अन्तरविरोधलाई राखिदिनुस् न ।

महत्वपूर्ण प्रश्न गर्नुभयो । मैले किन त्यसो गर्नुप¥यो भन्दा हामी पार्टी फुट्नु हुँदैनथ्यो भन्नेमा नै थियौं । मालेमावादी पार्टी फुट्नु हुँदैन, विचार सिद्धान्तमा एकरुपता ल्याउनु पर्छ भन्दा भन्दै हामी कहाँबाट कहाँ पुग्यौं । यो कुरा असान्दर्भिक जस्तै भइसक्यो । हामी त किरण, बादल, प्रचण्ड, बाबुराम जुन ढंगबाट जे जसरी भए पनि एकरुपता कायम गरी जनतामा जानुपर्छ, जनयुद्ध लड्ने पार्टीहरुबीचको यो दरार वस्तुगत हो कि मनोगत हो भन्दै खोजी गर्दै जाँदा यो फुट केही वस्तुगत र केही मनोगत रुपमा भयो भन्ने गथ्र्यौं ।

एक खालका साथीहरु गर्न सक्ने जति गरिसक्यौं, अब प्राप्त अधिकार प्रयोग गरेर जानुपर्छ भन्ने भए, अर्काखाले साथीहरुको जनताले अधिकार पाएका छैनन्, जनयुद्ध र आन्दोलनका मुद्दाहरु ज्युँका त्युँ छन्, जनतालाई के जवाफ दिने भन्ने थियो । प्रश्न यहींनेर थियो । प्राप्त अधिकार बाँडीचुँडी खाऔं भन्नेहरु सत्तासिन भए । सबै संसदवादीहरु अहिले यही लाइनमा छन् । जनताको अधिकार प्राप्त भएन, फेरि संघर्षमा जानु पर्छ भन्नेहरु सत्ताविरोधी जस्तो भएर जनवादी तथा समाजवादी क्रान्तिकै तयारीमा जुटेका छन् ।

यो जनताको सुनिश्चित भविष्य र आत्मनिर्णयको अधिकारसहितको मुद्दाभित्र पर्दछ । प्रचण्ड, बादल, बाबुरामसँग मेरो विचार मिलेन । मिलिजुली सत्तामा जाने र बाँडीचँुडी खाने अवसरवादी लाइनको विरोध गर्दै म क्रान्तिकारी धारामा फर्केको छु । कमरेड किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नै एक मात्र क्रान्तिकारी पार्टी हो । जनताले राम्रोसँग बुझेका छन्– को को के के गर्दैछन् भन्ने । गद्दार नेताहरुको विश्वमा के के भयो, इतिहास साक्षी छ । जहिले पनि जनताको पक्षमा उभिनेहरुको शीर उँचो र भविष्य उज्ज्वल हुन्छ ।

अबको जातिय तथा वर्गीय मुक्तिको भविष्य कस्तो देख्नु हुन्छ ।

हाम्रो देश अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देश हो । यहाँ बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । नेपाली जनता एकातिर सामन्तवाद, साम्राज्यवाद र विस्तारवादबाट उत्पीडित हुनुपरेको छ । हाम्रो समाज ऐतिहासिक रुपले विकसित वर्गीय, जातिय, क्षेत्रिय, लिङ्गिय तथा जात व्यवस्थामा आधारित थुप्रै अन्तरविरोधहरुमा जेलिएको छ । जातिय मुक्ति आन्दोलन यसै प्रकारका अन्तरविरोध अन्तरर्गत पर्दछ ।

जाति भनेको मानव समुदायहरुबीच ऐकेवद्धताको विकसित रुप हो । एकताको प्रतिक हो । समानताको झल्काउने उपाय हो । अर्को शब्दमा भन्नुपर्दा राष्ट्र पनि हो । जाति भनेको साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन र साझा सांस्कृतिक मनोविज्ञानमा आधारित स्थिर मानव समुदाय हो । यो समाजवादी चरित्र पनि हो भन्ने देखिन्छ ।

जाति पुँजीवादी जनवादी युगको ऐतिहासिक अवधारण पनि हो । यो जातिय मुक्ति आन्दोलन र आत्म निर्णयको अधिकारको प्रश्नसित जोडिएको हुन्छ भनेर लेनिनले भन्नु पनि भएको छ । जुन देशहरुमा पुँजीवादले साम्राज्यवादको रुप लिइसकेको र साम्राज्यवादद्वारा सामन्तवादी अवस्था रहेका अविकसित देशहरुमा उत्पीडनको प्रक्रिया अगाडि बढाइरहेको देखिन्छ । त्यस्तो देशमा पुँजीवादको स्वभाविक विकासको मार्ग अवरुद्ध भएको हुन्छ ।

त्यस्तो देशमा साम्राज्यवादी शक्ति र सर्वहारावादी शक्तिबीचको आन्दोलन सुरु हुन्छ । जति नेपाल जस्तो देशमा जहाँ जाति जनजातिहरुकै बाहुल्यता रहेको देशहरुमा यसको असर आदिवासी जनजातिहरुमा सिधैपर्ने भएकोले यहाँका जनजातिहरुको संघर्ष भनेको दोहोरो प्रकारको हुने देखिन्छ । आन्तरिक रुपमा सामन्तवादीसित वाह्यरुपमा साम्राज्यवादी तथा विस्तारवादीसित आन्दोलन केन्द्रीकृत हुने गर्दछ ।

यस्तो अवस्थामा सिङ्गो देश साम्राज्यवादी र विस्तारवादी शक्तिहरुसित संघर्ष गर्नुपर्दा राष्ट्रियताको प्रश्नसित यसको घनिष्टता देखिन्छ । अर्कोतिर देशभित्रै सामन्तवाद र उच्च जातीय अहंकारवाद र एकाधिकारवादीबीच वर्गसंघर्ष चलिरहँदा वर्गसंघर्षको मातहतमा भनेको सर्वहारावर्गको मातहतमा जातिय संघर्ष पनि सँगसँगै लानुपर्ने भएकोले वर्ग संघर्षसित जातियसंघर्ष पनि जोडिने भएकोले सँगै लानुपर्ने हुन्छ ।

हाम्रो जस्तो देशमा जहाँ उच्चजात र उत्पीडित जातजातिहरुको उपस्थिति रहेको छ । एकातिर जातिय रुपमा आदिवासी जसले राष्ट्रनिर्माण गर्दैआएको छ । उनीहरुनै जातिय उत्पीडनमा परिरहेका नेवाः आदिभूमिमा नेवाहरु नै विस्थापित र उत्पीडित देखिन्छ । त्यस्तै मधेसमा मधेसी, तमुवानमा तमुहरु नै, मगरातमा मगरहरु नै, किराँतीमा किराँतहरुनै, लिम्बूवानमा लिम्बूहरुनै उच्च खसब्राह्मणवादी एकाधिकारवादीहरुबाट उत्पीडित छन् ।

त्यसैले उनीहरुको मुक्ति भनेको पहिचान सहितको संघीयता हुनुपथ्र्यो । तर हाम्रो देशमा त्यस्तो भएन नाम मात्रको संघियता भयो पहिचानसहितको संघीयता भनेको जनतन्त्र नै हो । त्यो जनसंविधान जनगणतन्त्र भनेको नयाँ जनवादी समाजवादी क्रान्तिसित जोडिएको हुनाले वर्गीय मुक्तिबिना समाजवादी कल्पना गर्न सकिदैन । र जनवादी समाजवादी क्रान्तिको जसरी सुनिश्चित छ । त्यसरी नै जातिय तथा वर्गीय मुक्तिको सुनिश्चित देखिन्छ । यो प्रश्न नयाँ जनवादी क्रान्तिसित जोडिएको हुन्छ । भविष्य उज्ज्वल छ ।

जातिय तथा वर्गीय मुक्ति बीचका समानता र अन्तरहरु के के छन् जस्तो लाग्छ ?

मार्क्स वादी दृष्टिकोण भनेको द्वन्द्वात्मक भौतिकवाद नै विश्वदृष्टिकोण हो । यस दृष्टिकोणले हेर्दा सर्वहारावर्गको एवम् उत्पीडित जनसमुदायको हकहितको रक्षाको पक्षबाट नै वर्ग संघर्षको विकास हुने गर्दछ । ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारबाट हेर्दा हाम्रोजस्तो जातजाति विशेषले बनेको राष्ट्रियतामाथि ध्यानदिँदा एउटा जाति विशेष उच्च जातिय अहंकार तथा एकाधिकारवादी तथा जातिय ब्राह्मणवादी दृष्टिकोणबाट उत्पीडनमा परेका अन्य आदिवासी जनजातिहरु आन्तरिक रुपमा देशभित्र जातिय दृष्टिकोणबाट प्रताडित हुनुपरेको छ ।

अर्को तिरबाट हेर्दा सामन्तवादी वर्गबाट वर्गीय रुपमा किसान, मजदुर, श्रमजीवी वर्ग शोषित पीडित झै वर्गीयरुपमा नै उत्पीडन परेका छन् । वाह्य रुपबाट हेर्ने हो भने साम्राज्यवादी विस्तारवादी देशहरुबाट अन्य साना साना राज्यहरु कम विकसित देशहरु उत्पीडनमा परिरहेका छन् । यसरी हेर्दा हाम्रो जस्तो देशमा दोहोरो रुपमा उत्पीडनमा परेकाहरुले मुख्यरुपमा वर्गीय रुपमा नै हेर्नुपर्ने हुन्छ । किनभने वर्गीय रुपबाट नहेरी विशुद्ध जातियवादी दृष्टिकोणबाट हेर्दा वर्गीय मुद्रा कमजोर हुँदै जानि खतरा देखिन्छ । र, अन्धजातियवादी खतरामा पनि संकट देखापर्दछ । वर्गीय रुपमा हेर्दा जरी जनताको आधारभूत आवश्यकताहरु पूरा हुन सक्दैन भने जाति पनि व्यवस्था प्रणाली परिवर्तन भएपनि जस्तो सुकै व्यवस्थामा परिवर्तन आएपनि केही हुनेवाला छैन ।

त्यसो भएको हुनाले जातीय मुक्ति आन्दोलनलाई आजको युग, समाज तथा देश विशेष काल र परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक आर्थिक पक्षको समग्रतामा हेर्न सक्नुपर्दछ र ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा जातिय आन्दोलनको पनि अध्ययन गर्नुपर्दछ ।
जाति भनेको पुँजीवादी–जनवादी युगको ऐतिहासिक अवधारणा पनि हो भन्न सकिन्छ । जातिय मुक्ति आन्दोलन आत्मनिर्णयको अधिकारसित जोडिएको हुन्छ भनी क.लेनिनले भन्नु पनि भएको छ । जस्तै लेनिन तीन प्रकारका जातिय आत्मनिर्णको अधिकारको व्याख्या गर्नुभएको देखिन्छ ।

जस्तैः जुन देशमा सामन्तवादी बढी कमजोर छ । पुँजीवादी शक्ति बढी मजबुत भएको हुन्छ र विकसित देश छ भने त्यस्ता देशहरुको क्रान्ति विद्रोहात्मक हुन्छ । अर्काे जहाँ बहुजातीय राज्यहरुको निर्माण भएको हुन्छ र सामन्तवादी बलियो छ र पुँजीवादी शक्ति कमजोर छ भने त्यहाँको वर्गसंघर्ष दीर्घकालीन हुने देखिन्छ । अर्काे तेस्रोमा पुँजीवादले साम्राज्यवादको रुप लिइसकेको साम्राज्यवादद्वारा सामन्तवादी देश रहेका अविकसित देशहरुमा उत्पीडन प्रक्रिया अगाडि बढाइरहेका देशहरुमा पुँजीवादको स्वाभाविक विकासको मार्ग अवरुद्ध गरेको हुन्छ भने त्यस्ता देशहरुमा जातीय मुक्ति आन्दोलन अविकसित देशहरुमा दोहोरो कार्यभार बन्न जान्छ । जस्तै, आन्तरिक रुपमा सामन्तवादी उत्पीडकविरुद्ध बाह्य रुपमा साम्राज्यवादका विरुद्ध आन्दोलन हुने गर्दछ ।

हाम्रोजस्तो देशमा यही आन्दोलन हुने देखिन्छ । हामी हाम्रोजस्तो देश जहाँ साम्राज्यवादी शक्ति र विस्तारवादी शक्तिहरुबाट बाह्य रुपमा मुख्य उत्पीडनमा छन् । आन्तरिक रुपमा यहाँका आदिवासी, जनजातिहरु जातीय रुपमा उत्पीडनमा पनि परेका छन् भने आन्दोलन दोहोरो भूमिकामा लामो समयसम्म जाने खालको हुन्छ र दीर्घकालीन हुने गर्दछ । र, साम्राज्यवाद शक्ति र सामन्तवाद दुवै शक्तिसित परिलक्षित हुने गर्दछ । हामी हाम्रो देशमा त्यही खालको वर्गीय तथा जातीय मुक्ति आन्दोलनको विकास गर्दै जानु पर्दछ । जातीय तथा वर्गीय मुक्ति आन्दोलन सँगसँगै समान रुपमा विकसित हुँदै दीर्घकालीन बन्दै जानेछ भन्ने लाग्छ ।

अन्तमा, छुटेका कुरा जनताका माझ राखिदिनुस् न ?

हामी आज दशवर्षे जनयुद्धको माध्यमबाट र दोस्रो आन्दोलन, मधेसी आन्दोलनबाट प्राप्त सीमित अधिकारको रक्षा गर्दै दशवर्षे जनयुद्धका बाँकी कार्यभारहरु पूरा गर्न नयाँ जनवादी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने बाटोमा निरन्तरता दिंदै जानु पर्दछ । युद्धका नेताहरु खलनायकमा रुपान्तरण भए पनि सबै जनता सचेत भएर संगठित हुँदै जानुपर्दछ ।

मोर्चाप्रति प्रतिबद्धता रहने हामी सबै नेता कार्यकर्ताहरु जनतामा गएर आन्दोलनको प्रचार गर्ने, जनताको बाँच्न पाउने अधिकार र आधारभूत आवश्यकताको लागि, हामी हाम्रै लागि, मुक्ति र अमन चयनका लागि, राष्ट्रको स्वाधीनताको लागि, समानताको लागि संगठित भै राष्ट्रलाई उन्नति, प्रगति र समृद्धिको लागि अर्काे क्रान्तिको परिर्वतनको लागि सबै नेवाः जातिलगायत सबै जनसमुदायको बीचमा जस्तोसुकै कठिनाइलाई सहज रुपमा ग्रहण गर्दै जानका लागि हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर