२०५२ साल पूर्वको कुरा हो । जनयुद्धको तयारी गर्ने भनेर निकै उत्साहमा भूमिगत सञ्चार फैलिएको थियो । गाउँगाउँका सचेत समूह तथा युवाहरुमा यसले केही नयाँ तरंग र कौतुहलता ल्याएको थियो । खुलेर प्रचारप्रसार र होहल्ला पनि गर्न निषेध थियो । तर मानिसहरुलाई यो नयाँ कुराले कतै न कतै भने कुत्कुत्याएको थियो । निरन्तर काउकुती लगाएको थियो । मन मिल्ने र तात्कालीन जनमोर्चा नेपाल तथा नेकपा (माओवादी) सँग जोडिएका मानिसहरुसँग जनताले जनयुद्धको प्रसंग अलि बढी कोट्याउँथे ।

हार्दिक शुभकामना !

यसो गोप्य भेटघाट र जानेसुनेका कुराहरुमा बढाइचढाइ गरेर गफ पनि दिने गर्दथे एकअर्कालाई । नौलोनौलो र रहस्यरहस्य लाग्ने यी कुराले गाउँघरमा निकै नै खासखासखुसखुस चलाएको पनि थियो । मानिसहरु कसैले सुने कि भनेर यसो बाहिरफेर मुन्टो तानेर हेर्ने, केटाकेटीहरुलाई ड्युटी गर्न लगाउने, सतर्क रहने, विचार मिल्नेहरु कुराकानी गर्नथालने र संगठित हुने प्रक्रिया झांगिन थाल्यो ।

तात्कालिन कांग्रेसी सरकार र जनमोर्चाका बीचमा स्थानीय स्तरमा शत्रुता निकै चुलिएर गयो । कांग्रेसले जनमोर्चालाई ‘उग्रवादी तत्व’ भनेर हमला गर्ने गर्दथ्यो भने जनमोर्चाले ‘भारतीय दलाल र शोषक फटाह’ भनेर कांग्रेसी हमलाको प्रतिवाद गर्ने गर्दथे । पछि त नेपाली कांग्रेसले सैयौंको समूहमा सार्वजनिक झुट्ठा मुद्दा लगाएर जनमोर्चाको वनवास लगाउने अभियान थाल्यो । रोल्पा जिल्लामा यो निकै चर्को बनेर गयो । मुद्दा लगाइएका शिक्षक, विद्यार्थी र गाउँका किसानहरु भूमिगत हुन बाध्य भए । नेकपा (माओवादी) पार्टीले सोचेको के थियो र कसरी थियो, तर गाउँघरमा एकखाले ग्रामीण वर्गसंघर्षको अवस्था सिर्जना हुन पुग्यो । जनयुद्ध पूर्व नै ग्रामीण वर्गसंघर्ष चलिहाल्यो ।

लडाइँ स्थानीय विशिष्टितामा हुन थाल्यो । स्थानीय संघर्षका कतिपय कुराहरु विचार र जनयुद्धको सैद्धान्तिक रेडिमेड सोचसँग मेल नखाएको पनि देखियो । तर त्यसै नगरी स्थानीय लडाइँ पनि नलडिने र स्थानीय नेपाली कांग्रेसका मानिसहरु पनि पछि नहट्ने । सोच्दै र लड्दै जाँदा नयाँ नयाँ तर स्थानीय काइदाका लडाइँका स्वरुपहरु विकास भए ।

लेटर एक्सन
सुरुको अवस्था भएकाले कसरी अघि बढ्ने भन्ने प्रश्न उब्जिएको थियो । के, कहाँ, कसरी आदि ठोस हुन बाँकी थिए । उता कांग्रेसी सरकारले गर्नुनगर्नु गरिरहेको थियो । दमन निकै बढाएको थियो । हामीहरूलाई यति पीडा भयो कि रोल्पाली जनताले पाएको दुःख असह्यै थियो । हामीले बारम्बार सुनेको र देखेका थियौं कि महिलाहरूलाई नङ्ग्याएर लाइन लगाई बलात्कार गर्ने समेत गरेको थियो । कुटपिट र यातनाको त कुनै सीमा नै थिएन । त्यसैले हामीले लेटर बम पठाउने निर्णय ग¥यौं । तर त्यो साच्चिकै पड्कने बम चाही थिएन ।

त्यतिबेला डीएसपीले गरेका हरेक कुकृत्यहरूको फेहरिस्त तयार पारेर ‘तैले यो यो गरेको छस् र हाम्रो टार्जेटमा छस्’ भनेर पत्र पठायौं । त्यो चिठ्ठीले उसको नैतिक बलमा यति ह्रास ल्याइदियो कि उनीहरूबीच एउटा आतङ्क नै छायो । त्यसबारे चारैतिर होहल्ला फैलियो । तिनीहरूले त्यो चिठ्ठी गृहमन्त्रालयमा समेत पठाएका थिए ।

त्यसपछि हामीहरू प्रतिरोध सङ्घर्षमा जुट्यौं । त्यतिबेला हाम्रो वाईसीएलले राम्रो भूमिका निर्वाह गरिरहेको थियो । यो सङ्गठनले युवाहरूलाई सङ्गठित गर्दै लडाकुपनको विकास गरिरहेको थियो । हाम्रो प्रतिरोधको अग्रमोर्चामा वाईसीएलले नै भूमिका निर्वाह गरेको थियो । विशेषतः स्थानीय गुण्डा र फटाह तथा जालीहरू, जसले गाउँमा जनतालाई दुःख दिने गरेका थिए, तीमाथि चेतावनी स्वरूप कुटपिटका सामान्य कार्वाहीहरू सुरु गरियो। ग्रामीण बेल्टहरूमा वाईसीएलले कार्वाहीलाई निरन्तरता दिँदै गयो ।

रोमियो अपरेशन

यो अवस्थालाई राजनीतिक रूपमा र शान्तिपूर्ण किसिमले सम्बोधन गर्नुभन्दा पनि सरकार भीषण दमनमा उत्रियो र रोमियो (रोल्पा मेजर अपरेशन) अपरेशन चलायो– विशेषतः रोल्पाको पूर्वी बेल्टमा । काङ्ग्रेस र एमालेको मिलेमतोमा नेताहरू पुलिस लिएर गाउँगाउँ जाने र घेरा हाल्ने तथा स्थानीय स्तरमा गुण्डा र भिजिलान्तेहरू व्यापक मात्रामा परिचालन गर्ने काम गरी जनतालाई अझै असीम पीडामा धकेल्न थाले । विभिन्न षड्यन्त्रहरू भए, गाउँगाउँमा मान्छेहरू कुटिन थाले । कुखुरा काटेर रगतमा हात चोबाउने जस्ता एकदमै निर्मम, अप्रजातान्त्रिक र पासविक कामहरु अभियानका रुपमा लगिन थाले, रोल्पा, रुकुमजस्ता जिल्लाहरुमा ।

यसको विरुद्धमा प्रतिरोध सङ्घर्षमा आन्दोलनको केन्द्र त्यही ठाउँ नै बन्नु र पार्टीले आफ्नो ध्यान त्यहाँ केन्द्रित गर्नु स्वाभाविक थियो । ठीक यसै ठाउँमा केन्द्रित ग¥यो रोमियो अपरेशन र त्यसको विरुद्धमा जनता अझैं सशक्त प्रतिरोधमा उत्रिए । किनकि उनीहरूको अत्याचारको सीमा नै थिएन । गाउँका गाउँ जलाउने, घरगोठ सबै जलाउने, महिलाहरूलाई सामूहिक बलात्कारपश्चात् योनीमा लाठी कोची यातना दिने, जनताका धनमाल लूट्ने, पैसा र गरगहना लैजाने आदि अत्यन्तै असैह्य र अमानुषिक घटनाहरू तीव्रतामा अघि बढाइए । जनमोर्चा भन्नेबित्तिकै झुठ्ठामुद्दा लगाउने, ज्यानकेश लगाउने काम तात्कालीन सरकारले गरियो, जसको प्रतिरोधको विकल्प नै थिएन । हामी अब प्रचारात्मक मात्र होइन, कार्वाही कार्यान्वयनकै प्रक्रियामा अघि बढ्नु पर्नेभयो ।

तयार भयो जनयुद्धको पृष्ठभूमि

पार्टीले क्रान्तिकारी कार्यदिशा तय गरिसकेको र योजनाहरू तथा कार्यक्रमहरू बनिसकेको अवस्थामा अब देशको केन्द्रीय सत्ताद्वारा उपेक्षित र स्थानीय जाली फटाहद्वारा सताइएका क्षेत्रका जनताहरू सङ्गठित र सशक्त बन्ने वातावरण बन्यो । त्यो आक्रोश र निकासको खोजीको बेलामा पार्टीको यो परिपक्व निर्णय भोकालाई खीर साबित भयो । यसले नयाँ तरङ्ग र उभार ल्यायो । तर यसलाई बुझ्ने र मनन गर्ने भन्दा पनि काङ्ग्रेस एमाले पार्टीहरू माओवादीलाई घेराबन्दी गर्ने र संवैधानिक कामकार्यहरू समेत गर्न प्रतिबन्धित हुनेगरी झुठा मुद्दा र गिरफ्तारीको लागि पुर्जी थमाउन थाले ।

यसका साथै फौजी रूपमा तात्कालीन खुल्ला मोर्चा जनमोर्चामाथि समेत जाइलागे । आम धरपकड्, यातना र हत्याका घटनाहरू तीव्र भए । महिलाहरूमाथि बलात्कार र यातनाका अनगिन्ती श्रृङ्खलाहरू सुरु भए । अब जनताको लागि आत्मरक्षा र स्वाभिमानी रक्षाको लागि प्रतिरोध सङ्घर्ष बाहेक अर्काे विकल्प नै बाँकी रहेन । आम जनतालाई समेत साँच्चै अब आफ्नै राज्यसत्ता स्थापना नगरेर हुँदैन भन्ने लागिसकेको थियो ।

प्रारम्भमा सेनाको स्वरुप

जनयुद्ध सुरुगर्ने निर्णय भयो । पार्टीले लडाकु दल, स्वयंसेवक दल र प्रचार दल खडा गरियो । सेनाको विकासको भ्रुणको रूपमा यी तीन दलहरू निर्माण गरिए । कामको प्रकृतिको हिसाबले प्रचार दलले आफ्नो निश्चित इलाकाहरूमा प्रचार गर्दथ्यो, स्वयंसेवक दलले गाउँघरमा जनताको र पार्टी तथा पार्टी कार्यक्रमको स्वंसवेकको काम गर्दथ्यो । लडाकू दलले फटाहाहरूबाट जनतामाथि हुने अत्याचार, कुटपिट, लूटपाट र हिंसाबाट बचाउने काम गर्दथ्यो ।

जनयुद्धको सुरुवात गर्दा लडाकू दलहरूले नै रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमाथि गरियो । यो सामन्तवादी सत्ताको मुख्य शक्तिमाथि भएको अभ्यास थियो । दलाल पुँजीपतिहरूमाथिको आक्रमण पेप्सीकोलामाथि भयो । स्थानीय फटाहाहरूमाथिको आक्रमण सामन्तवादका स्थानीय सत्तामाथिको आक्रमण थियो । यी प्रायः लडाकूदलले गरेको थियो । यसले अलि जोखिमपूर्ण कामहरूको जिम्मा लिने गर्दथ्यो ।

युद्धको सुरुआतसँगै हरेकका कामहरूमा बढोत्तरी भयो । लडाकु दलले सेनाको भूमिका निर्वाह गर्न थाल्यो । स्वयंसेवक दलले पूरै युद्धको लागि आवश्यक सरसामान जुटाउने र आवश्यक व्यवस्थापन गर्नतिर लाग्यो । प्रचार दलबाट पूरै युद्धको प्रचारप्रसार गरियो । हुन त त्यतिबेला परिस्थिति अनुरूप भूमिका फरकफरक हुने गर्दथ्यो । कुनै एउटा दलले प्रचार, व्यवस्थापन र लडाइ सबैमा भाग लिने गर्दथे । यी सबैको समायोजन सिङ्गो पार्टीले गर्दथ्यो । साथै सिङ्गो पार्टी यी तीनवटा दलहरूमा सम्मिलित हुन्थ्यो । दलहरू पार्टी र पार्टी नै दलहरूमा रूपान्तरण हुन्थ्यो । त्यतिबेला सङ्घर्षको रूप युद्ध र सङ्गठनको रूप सेना भन्ने नीति बन्यो ।

दीर्घकालीन युद्ध विद्रोहात्मक सुरुआत

जनयुद्ध शुरु गर्दा एक हप्ताभित्रै ५ देखि ७ हजार सम्म प्रचारात्मकदेखि एक्सनल कार्वाहीहरू गर्ने भन्ने थियो । जनयुद्धको सुरुआत विद्रोहात्मक थियो, यो नेपालको विशिष्टताअनुसार भएको विद्रोहको स्वरूप थियो र विश्वमा यस्तो कहीं पनि भएको पाइँदैन । जनयुद्ध उद्घाटनको समीक्षागर्दा हामीहरूले देशैभरि ६ हजार भन्दा बढी कार्वाहीहरू गरिएको थियो ।

तत्कालीन सरकारले यो विद्रोहलाई एकदमै सानो स्केलबाट बुझ्यो र ३ दिनमा सिध्याउने घोषणा गरियो । पछि १ महिना, तीन महिनाहुँदै ६ महिनासम्मको पनि भाकारेखा राख्यो । जनयुद्धपूर्व नै ४० सूत्रीय मागमा संविधानसभाको निर्वाचन, नयाँ संविधान निर्माणका कुराहरू उठाएएका थिए । त्यसलाई सरकारले पटक्कै सुनेन । जनयुद्धको सुरुआत गर्नुपर्ने स्थिति बन्यो ।

तात्कालीन सरकारले जनयुद्ध थालनीपूर्व नै रोमियो अपरेशन गर्ने बेला गाउँगाउँमा पुलिसहरू र तिनका पोष्टहरू खडा गरिसकेको थियो । जनयुद्धपश्चात् सरकारले उसको पासविक दमन अभियानलाई यसरी बढायो कि त्यसको सीमारेखा नै रहेन ।

बर्बरताभित्र फूले रक्तकमल

तुरुन्त सामूहिक हत्यामा उभिएर फासीवादी चरित्र ग्रहण गरिहाल्यो । गोरखामा दिलबहादुर रम्तेलको हत्याबाट सुरु गरिएको त्यो दमन अभियान रुकुम मेलगैरीका ६ जना खत्री बन्धुहरूको एकाघरमा भएको हत्याहुँदै देशव्यापी बनाउँदै लग्यो । मिरुलमा आएर सामूहिक हत्या  गरियो।– कुमारी बुढाको आँखा निकालेर छाती चिरेर ज्युँदै आगोमा जलायो । मूलमान, त्यतिबेला लडाकू दलका सक्रिय सदस्यलाई सुराकीहरूको सहयोगमा हत्या गर्न सफल भए ।

त्यतिबेला धेरै ठूलो आतङ्कले छायो, नयाँखाले प्रतिरोधको आवश्यकता भयो । व्यवस्थित प्रतिरोधको आवश्यकता भयो  । त्यसैले लडाकु दलको गुण र फर्मेशनमा बढोत्तरीको आवश्यकता खड्कियो । त्यतिबेला माओवादी पार्टी छापामार स्क्वायडहरू गठन गरेर व्यवस्थित रूपमा छापामार युद्धको थालनी गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो । ७ देखि ९ जनासम्म र कतै कतै ११ जनासम्मको छापामार स्क्वायडहरू गठन गरिए । व्यवस्थित ढङ्गले छापामार प्रतिरोध कार्वाहीहरू सञ्चालन भए ।

त्यतिबेलासम्म व्यापक मात्रामा सीआइडी, सुराकी र गुण्डाहरू परिचालन गरिएका थिए । सीआइडी, सुराकीहरूले खबर दिने र गुण्डाहरू आफैले हत्या गर्ने अभियान नै चलाएका थिए । कतिपय ठाउँहरूमा उनीहरूले जनतालाई छोपेर पुलिस थानामा बुझाउने र पुलिसहरूले हत्यागर्ने गरे । तर प्रतिरोधको सिलसिला जारी नै रह्यो र युद्धले उचाइ ग्रहण गर्दै अघि बढिरह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर