मर्दै र ब्युँझदै मेलम्ची

मर्दै र ब्युँझदै मेलम्ची

काठमाडौं । काठमाडौंका काकाकुल जनताको सपनाको खानेपानी मेलम्ची फेरि ब्युँझिएको छ । मेलम्चीको खानेपानी ठेक्का लिएर काम पूरा गर्दै गरेको सीएम्सी कम्पनी एक साता अघि ‘लेटर अफ टर्मिनेशन’ सरकारलाई बुझाएर फर्कन थालेपछि यो अन्यौलमा परेको थियो । सरकारले लेटर अफ टर्मिनेशन नबुझी मुख्य ठेकेदारसहितका व्यक्तिहरुको पासपोर्ट लगायतका आवश्यक कागजात कब्जामा लिएको थियो ।

त्यसपछि कर्मचारीहरुको कागजात त्यसरी कब्जामा लिन नपाइने बरु अदालती प्रक्रियामा जानुपर्ने सुझावहरु पनि सरकारलाई लिइएको थियो । सरकारी पक्षको दाबा थियो कि उनीहरुलाई यहीं नरोकेमा काम असरल्ल पर्ने र चौपट हुने छ । त्यसपछि ती ठेकेदारहरुले सरकारविरुद्ध पाटन उच्च अदालतमा मुद्दा हाले । यो कुरा अदालतमा चल्दाचल्दै मेलम्ची खानेपानी र ठेकेदार कम्पनी सीएम्सी बीचमा सम्झौता भई ठेकेदार कम्पनी काममा फर्किएको छ ।

आयो आयो भनेको मेलम्ची खानेपानी एक साता गयो गयो भएको थियो । तर अहिले त्यही खाने पानी फेरि आउला कि भन्नेमा सरेको छ । कम्पनीले काम गर्दा घाटा भएकाले ३७ करोड क्षतिपूर्ति दिएमा मात्र कामलाई अघि बढाउ सकिने माग गरिरहेको थियो । कम्पनीको पनि नेपालका विभिन्न खाताहरुमा रहेको रकम रोक्का गरिएको थियो ।

पछिल्लोपटक आएर सीएम्सी ठेकेदार कम्पनी र मेलम्ची खानेपानीबीचमा काम भनेकै समयमा सिध्याउनका लागि केही शर्तबद्ध सहमति भएको छ । सो सहमतिअनुसार मेलम्ची खाने पानी सुरुङ बेलैमा नसिध्याएमा ठेकेदार कम्पनी सीएम्सीले दैनिक ७० लाख रुपैयाँ मेलम्ची खानेपानीलाई क्षतिपूर्तिवापत् रकम तिर्नुपर्ने छ ।