माओ जयन्ती र माओवाद

माओ जयन्ती र माओवाद

यस वर्षको २६ डिसेम्बरमा १२६ औं माओ जयन्ती विश्वभर धुमधामसाथ मनाइँदैछ । यस दिन सिंगो मानव जगत परिवर्तनका लागि माओका योगदानको चर्चाका साथै माओलाई एक विलक्षण क्रान्तिकारी प्रतिभाको रुपमा स्मरण गरिन्छ । मानिसले मानिसमाथि गर्ने सबै खाले अन्याय र उत्पीडनको अन्त्यका लागि माओले पुर्याएका योगदानलाई विश्वभरका श्रमजीवी तथा मजदुरहरुले यस दिनमा स्मरण, मनन् र प्रयोगमा लैजाने प्रण पनि गर्दछन् । माओलाई मार्क्सवादी विचारक, एक दार्शनिक, राजनीतिक तथा क्रान्तिकारी सिद्धान्तकारका रुपमा संसारले स्मरण गर्ने गर्दछ ।

यस अर्थमा माओको जन्मजयन्ती मनाउनु भनेको विचारको रक्षा र विकासको कुरा पनि हो । त्यो मूलतः सर्वहारावर्गीय विचार हो । माओले मार्क्सको वर्गसंघर्षको सिद्धान्तलाई चिनियाँ देश, काल र परिस्थितिमा सफलतापूर्वक प्रयोग गरे । प्रयोगका क्रममा मार्क्सवादी विचार सिद्धान्तलाई थप अर्को नयाँ उचाइमा विकसित गरे ।

कार्ल मार्क्स र फ्रेडेरिख एंगेल्सको सहकार्यमा मार्क्सद्वारा प्रतिपादित दुनियाँलाई बदल्ने मार्क्सवादी विचार आफैमा मानव मुक्तिको एकमात्र विचार थियो । यो वर्गसंघर्षमा आधारित थियो । यो विचार मार्क्स स्वयम्को भनाइमा ‘जड’ वस्तु जस्तो नभएर देश, काल, परिस्थिति अनुसार लचकतापूर्वक व्यवहारमा प्रयोग हुने र निरन्तर विकासहुँदै जाने सिर्जनशील विचार हो । मार्क्सका पालामा यो विचारको प्रयोगका लागि मार्क्सले निकै प्रयत्न गरे । तर एक मानवको निकै छोटो जीवनकालमा विचारको खोज, अनुसन्धान, त्यसको संश्लेषण र जीवन व्यवहारमा प्रयोग त्यतिका संभव हुने कुरा पनि होइन । विचारको प्रचार, लक्षित वर्गको अकर्षण, सहभागिता, संघर्षको उठान र नेतृत्व निकै कठीन कुराहरु हुन् । तर पनि मार्क्सले पेरिस कम्युनजस्तो महान् वर्गीय रणसंग्राम आफ्नै आँखाले देख्न र संश्लेषण गर्न पाए ।

मार्क्सपछि एकदेशीय समाजवाद पनि स्थापना हुनसक्ने थप सैद्धान्तिक व्याख्यासहित लेनिनले रुसी भूमिमा वर्गसंघर्षको सफलतापूर्वक प्रयोग गरे । यो मार्क्सले भने झैं रुसी देश, काल र परिस्थितिमा मार्क्सवादी सिद्धान्तको एक नौलो प्रयोग थियो । उनले अक्टोबर क्रान्ति सम्पन्न गरी रुसमा समाजवादी व्यवस्था स्थापना गरे । मानव जातिका लागि यो एक अभूतपूर्व मुक्तिको यात्रा थियो । यसलाई मार्क्सवादको दोस्रो चरणमा विकास अर्थात् लेनिनवाद भनिन्छ । सामाजिक वर्ग संघर्षका हिसाबले यो एक सामन्तवादी राजतन्त्रात्मक पुँजीवादमाथि मजदुर तथा किसानहरुको शानदार विजय थियो ।

रुसमा समाजवाद स्थापनाको नयाँ सन्देशसँगै विश्व समाजवाद निर्माणको बहस र क्रान्तिको चलिरहेका बेला चीनमा तात्कालीन चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिको थालनी गर्यो । तर चीनको सामाजिक परिस्थिति रुसको जस्तो थिएन । रुसको क्रान्तिको मोडल चीनमा हुबहु लागू हुन सक्दैनथ्यो । यसका लागि चिनियाँ विशिष्टतामा केही न केही नयाँ तर मार्क्सवाद–लेनिनवादको विकास हुनसक्ने वर्गसंघर्षको जरुरी थियो । त्यो वर्गसंघर्ष दीर्घकालीन जनयुद्धद्वारा नयाँ जनवाद स्थापनाको संघर्ष थियो । संघर्षका क्रममा माओले यो सिद्धान्तको प्रतिपादन गरे र चीनलाई बाह्यरुपमा जापानी साम्राज्यवाद र आन्तरिक रुपमा क्वोमिन्ताङको जनविरोधी शासनबाट मुक्त गरे ।

माओले मार्क्सवाद–लेनिनवादको थप विकासका क्रममा माओले दर्शनका क्षेत्रमा अन्तरविरोधहरुको नयाँ व्याख्या, दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन, नयाँ जनवादी सत्ताको निर्माण र गुरिल्ला जनसेना निर्माण र नयाँ प्रयोग गरे । यसका साथै, मुख्य दुस्मनका विरुद्ध मोर्चा निर्माण र त्यसको कुशलतापूर्वक प्रयोग, वार्ता र लडाइँको द्वन्द्वात्मकताको सही बोध र सफल प्रयोग गरे । जनवादी राज्य व्यवस्थाको समाजवादी राज्यव्यवस्थामा रुपान्तरणका लागि मुख्य गरी नेतृत्व रुपान्तरणको गहिरो ख्याल गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त प्रतिपादन गरे ।

आजका दिनमा समाजवाद र्निाणका लागि मार्क्सवादी सिद्धान्तको प्रयोग र वर्गसंघर्षका कुरा माओवादलाई नबुझेर वा अस्वीकार गरेर संभव नै छैन । समाजवाद निर्माणको जिम्मेवारी पूरा गर्न मार्क्सवादको थप विकास जरुरी छ, त्यो भनेको सम्बन्धित देशको परिस्थितिअनुसार माओवादी सिद्धान्तको प्रयोगसहित त्यसमा थप विकास गरिनु हो ।

त्यसैले १२६ औं माओ जयन्ती मनाउनुको सार्थकता भनेको माओवादलाई नेपाली धरतीमा कुशलतापूर्वक प्रयोग गरी त्यसमा थप विकास गर्नु हो ।