
काठमाडौं । निर्मला बलात्कार र हत्याप्रकरण अनुसन्धान अहिले सर्वसाधरणका लागि यमराजको अखडा बन्न पुगेको छ । अनुसन्धानका नाममा सर्वसाधरणहरुलाई छोपेर पुलिस कस्टडीमा ल्याउने र निर्मम यातना दिई अपराध कबोल गर्न लगाउने आपराधिक मनोविकारको विकासले गर्दा कञ्चनपुरका स्थानीय जनताबीच सन्त्रासको वातावरण सिर्जना हुन गएको छ ।
अपराध अनुसन्धानमा तानेर केरकार गर्नेहरुलाई विभागीय कारवाहीका नाममा अनुसन्धानबाट अलग्याउने र सर्वसाधरणहरुले अनुसन्धानको माग गरे भनेर बदलाको भावनाले टुपीदेखि पैतलासम्म पूर्वाग्रही बनेर जनताका छोराछोरीलाई उल्टै अपराध कबोल गर्न लगाउने काम न त सैह्य हुन सक्छ न त क्षम्य नै । प्रहरी अनुसन्धानका नाममा असभ्य र असक्षमहरुको जमात खडा गरेर जनतालाई सताउन, तर्साउन, स्थानीय बस्तीमा शान्ति भंग गराउन, प्रहरी श्वेत आतंक खडा गर्न र असुरक्षाको वातावरण खडा गर्न पाइँदैन । यो सरासर एक आपराधिक र दण्डनीय कार्य हो ।
हालसम्म निर्मलाको बलात्कार र हत्या छानबिनका लागि भनेर लिइएका स्थानीय दिलिपसिंह विष्ट, विसाल चौधरी र प्रदीप रावल अहिले मानसिक रुपमा भयाक्रान्त अवस्थामा छन् । उनीहरुमा मानसिक विक्षिप्तता देखा परेको छ । चर्को यातना, अपराध कबोलको दबाब, बाहिर कुरा नभन्नु भन्ने यमराजकालीन निर्देशन र मारिदिने धम्कीले उनीहरु रातमा पनि चिच्याउने र कराउने गरिरहेका छन् ।
जसमाथि जनताको आशंका छ, तिनीहरुलाई विभिन्न बहानामा पन्छाएर सर्वसाधरणहरुलाई त्रसित र आतंकित पार्नु कञ्चनपुरका जनताले अनुसन्धानका लागि आन्दोलन गरे भनेर बदला लिनु मात्र हो । पुलिस र पुलिस अनुसन्धानले आफूभित्रै लुकेकाहरुको खोजी गर्नुपर्ने स्थानीय जनताको जोडदार माग छ ।
यदि उनीहरु सक्दैनन् भने स्वतन्त्र छानबिन समिति निर्माण गरी अनुसन्धानको प्रक्रियालाई अघि बढाउन दिन राजी हुनुपर्छ । अनुसन्धानको नाममा प्रहरी अनुसन्धान यमराजको यातनालय नबनोस् ।






























