जेलभित्र मेरा साथी

प्रकाशित मिति : २०७५ पुस ९

- मेरी टाइलर

५ अप्रिल सन् १९७१ को कुरा हो । बन्दीहरु अरु बेला झैं उपवास बसेका थिए । आज कुराकानी र भेटघाटको दिन पनि थियो । कल्पना र मैले गाउँले तरिकाबाट खाना बनाउने अभ्यास गरेका थियौं । सबेरै म अगेनुको छेउँमा तहतह पारेर राखिएको कम्बलमाथि बसेर मटरदानाको पुआ बनाइरहेकी थिए । यो पुरुष बन्दी साथीहरुकहाँ लिएर जानु थियो । चुल्होको वरिपरि ढुङ्गामा लेदो बनाइएको मटर टाँसिएको थियो । मेरो साडीमा तेलको धब्बा लागेको थियो । अचानक मेटिन दौड्दै आइन् “दिदी ! तपाईंसँग कोही मानिस भेट्न आएको छ । तपाईं अफिसमा आउनुहोस् ।” पहिले त मलाई विश्वास नै लागेन । हामी एक अर्कासँग यस्तो ठट्टामजाक गर्दथ्यौं । चिफ हेड वार्डर मलाई लिन नै आएपछि मेटिनले साँचो बोलेकी थाह पाएँ । एघार महिना जेल बसेपछि पहिलो पटक ब्रिटिस वाणिज्य दूतावासको कर्मचारी बाहेक अरु कसैसँग भेट्न जाँदै छु । काँधसम्म आएको लामो कपाल काइँयोले कोरे । फेर्ने दोस्रो साडी नभएकाले तेलको धब्बा लागेको साडी नै लगाए । यो पनि कल्पनाको आमाले दिएकी थिइन् । मेरो आफ्नो टी शर्ट र स्ल्याक्स पहिल्यै फाटिसकेका थिए । म अब भारतीय पोसाक लगाउन बानी परेकी थिएँ ।

चारैतिर छरिएका कागजपत्र तथा फाइलहरु र कैदीहरुको नाम लेखिएको अस्तव्यस्त अफिसमा अमलेन्दुका बूढा बाआमा सागरमा शान्ति र गरिमाको रुपमा टक्क देखिने द्वीप जस्तै बसेका थिए । उनीहरुले मलाई बस्ने इशारा गरे । म एक कर्तव्य परायण बुहारीको जस्तो गरी उनीहरुको पाउ छुन झुकेन । यो देखेर त्यहाँ बसेका मानिसहरु हैरान भए । अमलेन्दु र उनको भाइसँग उनीहरुले भेटिसकेका थिए । तर हामी तीनजनालाई कहिल्यै भेट्न दिइएन । हामीहरुलाई भेट्न उनीहरु पाँच सय माइलको यात्रा गरेर आएका थिए । यो सोचेर मेरो हृदय भारी भएर आयो । उनीहरुले आफ्नो साथमा कपडा, घरमा बनाइएको मिठाइहरु, सुगन्धित साबुन र गर्मीमा चिसो बनाउन खजुरको पातबाट बनाइएको पङ्खा लिएर आएका थिए । उनीहरु मेरो स्वास्थ्य र कुशल क्षमताको बारेमा चिन्तित देखिन्थे । मैले यिनीहरुको चिन्तालाई भगाउन खुबै नै कोसिस गरेँ । उनीहरुसँग कुराकानी गर्न मात्र दस मिनेट पाइयो । यसपछि म महिला वार्डमा फर्केर आएँ ।

बाँकी समय मैले आफ्नो कोठरीमा बेचैन भएर सोच्दासोच्दै बिताए । अचानक भेट्न जाँदा मैले गरुँला भनेका सबै कुरा भुले । उनीहरुलाई देखेर म खुसी पनि भएँ । अपराधबोध पनि भयो कि उनीहरुले निकै दुःख गरी पैसा खर्च गरेर भेट्न आए । अमलेन्दुलाई देख्न र भेट्न नपाउनु मेरो लागि दुःखको कुरा थियो । यो सोंच्दा सधैंभरि बेचैनको अनुभूति हुन्छ । भेटघाटपछि बाहिरको संसारको याद आउँछ । आफ्ना प्रियजनको याद आउँछ । ती कुराहरुको याद आउँछ, जुन हामीहरुले गुमाइसकेका छौं । यसपछि मलाई ‘सामान्य’ अवस्थामा आउन दुई दिन लाग्यो ।

नरिवलको मिठाइले एउटा समस्या ल्याइदियो । कल्पना र मैले यो मिठाइ अरु बन्दीहरुलाई बाडौं भनेका थियौं । यो मिठाइ धेरै नै थियो । अरु महिलाहरुले घरबाट धेरै/थोरै जे आउँथ्यो, त्यो तुरुन्तै बाँड्दथे । उनीहरुले खुसीको खबर सबैबीच बाँड्दथे । बाँड्दा कसैलाई कम/बढी नपरोस् भनेर ख्याल राख्यौं । अत्याधिक कठिनाइ रहेको जेलको वातावरणमा कसैलाई कम वा बढि दिनुले इर्ष्यालु भावनाको विकास हुन्थ्यो । यो एकअर्कालाई अपमानित गर्ने हदसम्म प्रकट हुन सक्दथ्यो ।

कठिन परिस्थितिले गर्दा साथसाथै रहेका महिलाहरुबीचको आपसी कटुता ससाना कुरामा हुने गर्दथ्यो । कल्पनाले रोहिनीलाई पढाउनाले मेटिन निकै इर्ष्याले जलेकी थिइन् । उनले सोच्दथिन् कि उनलाई हरेक मामलामा प्राथमिकता दिइनुपर्दथ्यो । उनले रोहिनी शिक्षित हुनुलाई आफूमाथि आइपरेको चुनौतीको रुपमा सम्झिइन् । रातमा हामीहरुलाई अलग अलग कोठरीमा बन्द गरिइए पछि मेटिन रोहिनीसँग रस्साकस्सी गर्दथिन् । यो अपमानले गर्दा उनी हरेक दिन रुँदै हाम्रो साथमा आउँथिन् । एकदिन मेटिनलाई यस्तो नीच काम नगर्न चेतावनी दियौं । हामीहरुले यस्तो भनेर धेरै ठूलो गल्ती गरेका रहेछौं । उनले हामीहरुसँग बदला लिने योजना बनाउन लागिन् ।

बगैंचाको एक छेउमा कल्पनाले केही कुरा छिपाएको देखेकी भनेर उनले चिफ हेड वार्डरसँग चुक्ली लगाइन् । विशेष विभागका पुलिसले विना ढिलाइ नक्सलवादी कैदीहरुले जेलबाट निस्केर भाग्नका लागि केही हर्कत गरेको सूचना प्राप्त भएको जानकारी दिए । सुरक्षा व्यवस्था एकदमै कडा गरियो । अब तीन जना महिला कैदी हामीसँगै सुत्ने छन् । वार्डरको सामु अरु बाँकी उपाय केही थिएन । मेटिनले जे भनिन् त्यही कुरा अधिकारीहरु समक्ष पुर्यायो । आफ्नो कर्तव्यनिष्ठताको कारणले उसले हामीहरुसँग केही पनि बताएन । साँझमा कोठरी बन्द गर्ने बेला उसको अनुहार गम्भीर भएको थियो । पूरै एकवर्ष जेलमा बिताएकाले वार्डरको सामान्य हाउचाउमा आउने फरक तुरुन्तै थाह हुन्थ्यो । हाम्रो विरुद्धमा केही कुरा पकाइँदै छ भनेर हामीले सहजै अनुमान गर्यौं ।

वार्डर गएपछि हाम्रो ताला जाँच गर्ने निहुँमा एक महिला वार्डर आइन् । हामीहरुलाई विस्तारै बोलाइन् । जेलर र जेल निरीक्षक हामीहरुको कोठा खानतलासी गर्न आइरहेको बताइन् । साथै लुकाउनुपर्ने कुरा छ भने उनलाई दिन भनिन् । केही पैसा र गैरकानुनी रुपमा मगाएको पत्रिका हामीले दियौं । त्यसपछि हामी केही नजाने झैं शान्त भएर बस्यौं । गर्मीको रात भएकाले हामी साडी फुकाएर पेटीकोट र ब्लाउजसँग मात्र ढुङ्गे भुइँमा सुत्यौं । रातको दश बजे ढुङ्गे पर्खालबाट अचानक उज्यालो आयो । मानिसहरुको खलबल गरेको आवाज सुनियो । विना कुनै चेतावनी अफिसर आएको थियो । उसले हामीहरुलाई आश्चर्यचकित पार्नका लागि घण्टी पनि बजाएन । महिला वार्डमा पस्नुभन्दा पहिले घण्टी बजाउने सामान्य नियम थियो । ऊ सिधै हाम्रो कोठरीसम्म आयो । हामीहरुले तुरन्त कपडा लगायौं । उनीहरुले टर्चको उज्यालो प्रकाश हामीमाथि फ्याँके र बाहिर निस्कन आदेश दिए । म र कल्पनालाई छेउको कोठरीमा बन्द गरिदिए । हाम्रा सरसामानहरु एकेक गरी छानबिन गरे । बीस मिनेटपछि हाम्रो कोठरीमा जाने सिढीमा चिट्ठीहरु, तेलको शिशी, साबुन, कपास, किताब र पत्रपत्रिका यत्रतत्र छरिएका थिए । हामीहरु भयभित भएनौ ।

हामीहरुले कोठरीमा भएको आल्मुनियमको थाल ठटाउँदै कराइकराई गीत गाउन थाल्यौं । महिला वार्डरले भनिन् कि हाम्रो गीतले सुपरिन्टेन्डेन्ट एकदमै हतोत्साहित भइरहेको थियो । सारा कुराहरु लगेपछि उनीहरुले हाम्रो जामा तलासी गर्न एक महिला वार्डरलाई पठाए । तर एउटा पेन्सिलबाहेक अरु केही भेट्न सकिनन् । कल्पनाले पेटीको इजारा लगाउने ठाउँमा लुकाएर राखेकी थिइन् । उनीहरुले हाम्रो सारा कोइराला जमिनभरि छरिदिएर फर्किए । हामीहरु शान्त हुन प्रयास गर्यौं तथापि आराम गर्न सकेनौं ।

जेल अधिकारीद्वारा चलाएको सुधारका कामहरु पूरा हुन पाएका थिएनन् । त्यसदिन बिहान हाम्रो कोठाको ताला खोलिएन । हामीहरुलाई आफ्नै पिंजडामा बन्द हुन दिइयो । जेलका धेरै वार्डरसहित कम्तीमा २० जना कैदीहरु हाम्रो कोठरीको हाताभित्र पसे । उनीहरुले ससाना झाडीहरु उखेली दिए । रुखहरु काटेर ढालिदिए । सबै बगैंचा खनेर सिध्याए । उनीहरुको विध्वंस सकियो । हाम्रो प्यारो निमको रुखमाथि सारा ढुङ्गामाटो र उखेलिएका रुखविरुवा थुपारिएका थिए । त्यहाँ १२ फिट अग्लो मूर्ति जस्तो बनाइएको थियो । चमेलीका सारा विरुवाहरु चट पारिएका थिए । बगनबेली, अम्बा, आँप, कागती र मीठो वासना आउने फूलहरुको विरुवाहरुलाई यही हालतमा पुर्याइएको थियो । हामीहरु बाहिर निस्केपछि दुखी मन लिएर क्षतबिक्षत रातो धूलेमैदानमा यताउति घुमिरह्यौं । आफ्नो प्यारो साथी गुमाएपछि भएको दुखी मन जस्तै भयो । रुख, विरुवा र बागबगैंचाको अतिरिक्त प्रकृतिसँग हाम्रो सम्बन्ध सुमधुर थियो । यसले जेलजीवनलाई पाच्य बनाएको थियो । यी सबै हाम्रो माझबाट खोसेर लगियो ।

यो घटनाले जेल रातारात युद्धकिल्लामा परिणत भइसकेको थियो । त्यो दिन अप्रत्यक्ष सूचनाले भरियो । हामीप्रति सद्भाव राख्ने बन्दीहरु तथा वार्डरलाई हामीकहाँ नआउन चेतावनी दिइएको थियो । हामीहरुलाई जेलको भित्र र बाहिरको खबर दिनेलई पिट्ने धम्की दिइएको थियो । क्रोध, बदला र असहाय स्थितिबाट घेरिएका थियौं । चारैतिर रिसराग तथा सन्देहको सागरले घेरिएका थियौं । हामीहरुले निकै दुःखका साथ दिन काट्यौं । केही काम गर्न मन लाग्दैनथ्यो । हामीलाई हाम्रो कोठरी बाहिर के भइरहेछ भन्ने थाहै थिएन । नक्सलवादी कैदीहरुमाथि चेकजाँच तथा तलासी कडाइका साथ लिइयो भन्ने खबर आयो । मैले अमलेन्दुको बारेमा सोच्न लागे । उनी अझै पनि एकान्त कारावासमा थिए । बाहिरको यो घटनाबारे उनलाई जानकारी छैन होला । उनी मेरो बारेमा कति चिन्तित होलान् । तर म सञ्चै छु भनेर उनीकहाँ खबर पठाउन सकेकी थिएन । वार्डरहरुले निगरानी कडा पारेका थिए । केही सूचनाको आशा गर्नु भनेको अर्थ नै थिएन ।

फेरि हामीहरुलाई अलग अलग कोठरीमा बन्द गर्न थालियो । महिला वार्डरहरुले हाम्रो किताव, पत्रपत्रिका र खाने कुरा जाँच गर्दथे । पहिलेको जस्तो मायालु व्यवहार र साथित्वको सङ्केतसम्म पनि मिल्दैनथ्यो । उजाड बगैंचाको सुनसान सन्नाटा हाम्रो मानसपटलमा प्र्रतिबिम्बित हुन्थ्यो । गीत गाउने, हाँसो मजाक गर्ने र सूचीपत्रमा नयाँ नयाँ खानाको परिकार मगाउन हामीहरु निकै असमर्थ थियौं । हामीहरु पूरै पराजित, थकित र असुरक्षित थियौं । हामीहरु सोच्न सक्तैनथ्यौं कि अब के हुन्छ होला ? हरेक साँझ वार्डरहरुले निगरानीका साथ निरीक्षण गर्दथे । एकदिन उनीहरुले नरिवल तथा तोरीको तेल लगिदिए । यी तेल खान तथा कपालमा घस्नका लागि थियो ।

उनीहरुले बोतल राख्न अनुमति छैन भन्दै जेलरकहाँ देखाउन लगे । यस्तो कुरा निकै हाँस्यास्पद थियो । यो बोतल पहिलेदेखि नै यहाँ थियो जसमाथि उनीहरुको ध्यान पुगेको थिएन । अहिले ममाथि नियमभङ्ग गरेको आरोप लगाइयो । भनियो कि मैले जानेबुझेर नै यसो गरेकी हुँ । मलाई जादै रिस उठ्यो, तर के गर्ने !

हाम्रो साथमा केही साथीहरु बचेकै थिए । यिनीमध्ये सुकरी एक थिइन् । उनी हरिजन महिला थिइन् । हजारीबागभन्दा केही टाढा एउटा कारखानामा जमदारनीको काम गर्दथिन् । उनी र उनको लोग्नेमाथि तामा चोरी गरेको आरोप थियो । यो सानो आरोपमा तारेख दिई छाड्न सकिन्थ्यो । यो त्यति ठूलो अपराध पनि होइन । उनीहरुको जायजेथा नहुनु र वकलिको बेइमानीको कारणले जेल परेका थिए । भएको पैसा सबै सकिएको थियो । उनको वकिलले उनीहरुलाई ठगिरहेको थियो । वकिललाई पैसा नदिन तिम्रो श्रीमान्लाई भन भनेर मैले सुकरीलाई भने । तर नोकरी नसकिँदै जेल बाहिर निस्कन पाउने आशाका साथ आफ्नो हातमा भएको पैसा नसकिँदा सम्म दिइराखे ।

हाम्रा दुःखका दिनहरुमा सुकरीले दिएको सल्लाहले काम गर्यो । उनी हाम्रो साथी बनिन् । हरेक १५ दिनमा आफ्नो श्रीमानलाई जान दिइने कचहरीमा जान्थिन् । उनको पति गाउँको नक्सलवादी पार्टी सेलमा काम गर्दथे । उनलाई अरु नक्सलवादीसरह खुट्टामा नेल हालिएको थियो । उनी दिनभर आफ्नो कोठरीमा बसिरहन्थिन् । कचहरीबाट फर्केपछि मौका मिल्नासाथ कैदी नक्सलवादीहरुको स्थितिबारे बताउँथिन् । पुरुष वार्डमा महिला वार्डभन्दा पनि जबर्जस्त तरिकाले खानतलासी लिइएको थियो । यस्तो हरेक रात गरिन्थ्यो । पुरुष वार्डको एकातिरको भित्तामा डाइनामाइट फेला परेको हल्ला फैलाइएको थियो । नक्सलवादीहरुले विशेष प्रहरीको आँखा छलेर डाइनामाइट जेल भित्र ल्याएका थिए भनिएको थियो । कैयौं रातसम्म त सुपरिटेन्डेन्टले जेल कर्मचारीहरुलाई रेखदेखमा खटिखटाउ गर्न नाम लगातार बोलाइ रहन्थ्यो । मैले यी भ्रमबारेका स्रोतहरु निकै खोजे, तर त्यो कतैबाट पुष्टि भएन ।

एकदिन सुकरीले हाम्रो एउटा सहप्रतिवादीको पत्र लुकाएर ल्याइन् । यसमा हामीहरुलाई सतर्क रहन चेतावनी दिइएको थियो । हामीहरु कुनै पनि उक्साहटमा नआऔं । एउटा वार्डरले भनेका थिए– हरेक महिना खतराको घण्टी बज्दा नक्सलवादी वार्डमा हमला गर्नसक्ने योजना बनेको छ । उनले यो कुरा जेलका अधिकारीहरुबीच भएको गोप्य कुराकानीबाट थाह पाएका थिए । हामीहरु हरेक दिन पहिले भन्दा बढी नै सतर्क रहन्थ्यौं ।