आखिरमा मार्क्सदेखि माओसम्मले मार्क्सवादको विकास यस्तै खालका दक्षिणपन्थी संशोधनवादीहरु र वामखोल ओढेका संकीर्णतावादीहरुसित सम्झौताहीन सङघर्ष गरेर नै मार्क्सवादलाई विजयको शिखरमा पुर्याएको इतिहास हो ।

हार्दिक शुभकामना !

नेकपा (क्रान्तिकारी माओवादी) को मंसिर १२ देखि १७ सम्मको केन्द्रीय समितिको बैठकले गम्भीर छलफलका साथ यो निष्कर्ष निकालेको छ कि वर्तमानमा नेपाली कम्युनिस्ट आन्दोलनमा जुन खालका समस्याहरु देखिएका छन्, ती समस्याहरुको सही समाधानका लागि पार्टीले लिने नीति तथा कार्यक्रम सामान्य प्रकारले अपनाएर पुग्दैन । त्यसबारे विशेष रुपले भूमिका खेल्नु पर्ने आवश्यकता छ । पार्टीको यो निष्कषलार्ई अर्को शब्दमा–अहिलेको अवस्थामा देशको राजनीतिमा एउटा कम्युनिस्ट पार्टीले अवसरवादी आक्रमणविरुद्ध क्रान्तिकारी ज्वारभाटासहितको सङघर्ष उठान गर्न तयार हुनुपर्छ भन्ने हो ।

अहिले एकातिर, अन्तर्राष्ट्रिय रुपमा, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद र अर्कोितर, राष्ट्रिय रुपमा, जबरजस्त रुपले अगाडि आएको विपरीत धारजस्ता देखिने तर सारमा गन्तब्य विन्दु एउटै भएका दुई नेकपा (ओली र दाहाल नेतृत्वको नेकपा र चन्द र विश्वकर्मा नेतृत्वको नेकपा)का गलत नीतिहरुविरुद्ध सम्झौताहीन सङ्घर्षको नीति अपनाउनु पर्ने दायित्व पार्टीका अगाडि छ । देशको वर्तमान राजनीतिक स्थितिमा त्यस प्रकारको भूमिका खेल्ने नेकपा (क्रान्तिकारी माओवादी) एक मात्र पार्टी हो भन्नेमा केन्द्रीय समिति एक मत देखिएको छ । पार्टी नेतृत्व के कुरामा स्पष्ट छ भने पार्टीको यस्तो सम्झौताहीन सङ्घर्षको नीतिका कारणले पार्टीले चौतर्फी आक्रमण वा एक प्रकारको नाकाबन्दीको स्थितिको सामना गर्नु पर्ने हुन्छ ।

ओली र दाहाल नेतृत्वको नेकपा र चन्द र विश्वकर्मा नेतृत्वको नेकपाहरु योजनावद्ध प्रकारले हाम्रो पार्टीलाई देशको राजनीतिक दृश्यबाट पूरै ओझेलमा पार्न प्रयत्नशील छन् । यो भनेको हाम्रा अगाडि अत्यन्त कठिन र प्रतिकूल स्थिति उत्पन्न भएको छ । यो कठिन र प्रतिकूल स्थितिलाई सहज र अनुकूलतामा रुपान्तरण गर्न सामान्य रुपले होइन, ज्वारभाटाका विरुद्ध सङ्घर्षको स्पिरिट अपनाएर नै नेपाली सर्वहारावर्गीय क्रान्तिप्रतिको जिम्मेवारीलाई सशक्त र सफलतापूर्वक अगाडि बढाउन सकिनेछ । माओले भन्नु भएको छ– ‘अवसरवादी ज्वारभाटाका विरुद्ध जानु मार्क्सवादी–लेनिनवादी सिद्धान्त हो ।’ त्यसप्रकारको सिद्धान्तमा टेकेर क्रान्तिकारी स्पिरिटका आधारमा नै वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा उत्पन्न सबै बाधा, विरोध र प्रतिकूल परिस्थितिलाई चिर्दै पार्टी आफ्नो राजनीतिक भूमिकालाई सशक्त रुपले अगाडि बढाउन सफल हुनेछ ।

पार्टीका अगाडिका बैठकहरुमा पार्टीभित्रै चन्द र विश्वकर्मा नेतृत्वको नेकपाप्रति केही नरमपना देखिन्थ्यो तर यो बैठकसम्म आइपुग्दा र उनीहरुमा देखिदै गएको राजनीतिक, सैद्धान्तिक, वैचारिक र कार्यदिशामा देखिएको विचलन र उक्त पार्टीको नेतृत्वमा देखिएको व्यक्तिवादी अराजकतावादी प्रवृत्ति र व्यवहारले यो स्पष्ट पार्दै गयो कि चन्द र विश्वकर्मा नेतृत्वको नेकपा माओवादप्रति, सर्वहारावर्गप्रति, नयाँ नवादी क्रान्तिप्रति इमान्दार छैन र उत्तर साम्राज्यवादलाई अगाडि ल्याएर साम्राज्यवादको अस्तित्व नभएको भन्दै साम्राज्यवादप्रतिको संघर्षलाई कमजोर पार्न चाहन्छ । नयाँ जनवादी क्रान्ति पूरा भएको र अबको नेपाली क्रान्ति समाजवादी क्रान्ति हो भन्दै ओली र दाहालसित कार्यदिशागतरुपमा नजिकिन गइरहेको छ ।

तर उसले आफूलाई क्रान्तिकारी भएको भ्रम दिन अनेकौं झुठहरुको साहारा लिएको छ । कतिसम्म भने नेकपा (क्रान्तिकारी माओवादी) बाट फुटेर गएको दिनको उत्सव मनाउने भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव क. किरणलाई प्रमुख अतिथिका रुपमा आउने भनेर आम कार्यकर्ता र जनतालाई भ्रममा राख्ने काम समेत गरेको पाइयो । यसरी नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको यो वैठकले चन्द र विश्वकर्मा नेतृत्वको नेकपा र सिंहको नेतृत्वको नेकपा (मसाल) सितको एकतालाई खारेज गर्दै समग्रतामा भने एकताका कुरालाई कायमै राखी अहिले ध्रुवीकरणलाई प्रधान बनाएर आवश्यकताअनुसार संयुक्त मोर्चा र कार्यगत एकता गरी सङघर्ष उठान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिले एक मतले फागुन १ को जनयुद्ध दिवसलाई रातो मार्च पास, फागुन ७ देखि २१ सम्म मेची–महाकाली अभियान, जसको उद्घाटन फागुन ७ गते काठमाण्डौ, पोखरा, झापा र कञ्चनपुरगरी ४ ठाउँबाट एकैसाथ गर्ने, चैत्र २४ गते देजमो नेतृत्वमा विसाल आमसभाको आयोजना गर्ने आदि सङ्घर्षका कार्यक्रमहरु निश्चित गरेको छ । केन्द्रीय समिति के मा स्पष्ट छ भने तत्कालिन रुपमा चल्ने यस्ता आन्दोलनहरु नयाँ जनवादी क्रान्तिका लागि आधार तयार पार्ने माध्यमहरु नै हुन् । त्यसैले पार्टीले आन्दोलनको रणनीतिक पक्षका रुपमा नेपालको संविधान २०७२ को खारेजीको लागि र जनगणतान्त्रिक संविधानको निर्माणको लागि सङघर्षलाई केन्द्रित गर्ने छ । जनगणतान्त्रिक संविधानअनुसार संघ र प्रदेशहरुको स्थापनाका लागि जोड दिने छ ।

यसले नेपालमा विद्यमान वर्गीय, क्षेत्रीय, जातिय तथा लिङ्गीय उत्पीडनको अन्त्य गरी नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरोस् । एकाधिकार दलाल पुँजीपति तथा नोकरशाही वर्गको वर्तमान राज्यसत्तामाथि मजदुरवर्ग, गरीब तथा मध्यम किसान, सुकुमवासी, राष्ट्रिय पुँजीपतिवर्ग, दलित, महिला, अल्पसंख्यक मुस्लिम तथा अन्य क्षेत्रीय, जातिय तथा लिङ्गीय उत्पीडनमा परिरहेकाहरुको शासनसत्ता स्थापना गरियोस् । उक्त उल्लेखित रणनीतिक पक्षको उपेक्षा गर्दा आन्दोलनले सुधारवादी वा संसदीयरुप लिने सम्भावना रहन्छ । जो गल्ती वर्तमानमा नेकपा (मसाल) ले गरिरहेको छ । त्यसको अर्थ तत्कालिन रुपमा चल्ने आन्दोलनको उपेक्षा गर्नु पर्छ भन्ने होइन । माक्र्सवादी–लेनिनवादी–माओवादीहरुले तत्कालिन आन्दोलनलाई सही र सशक्त रुपले चलाएर नै आन्दोलनको रणनीतिक उद्देश्य प्राप्त गर्न सकिन्छ ।

पार्टीले यो संविधान निर्माण गर्ने दोस्रो संविधानसभा प्रतिक्रियावादी थियो भनेर किटान गरेको थियो र त्यसको बहिष्कारमा जोड दिएको थियो । त्यसैले त्यसबाट निर्माण गरिएको संविधानले केबल दलाल पुँजीपति तथा नोकरशाहहरुको नै सेवागर्ने स्पष्ट छ भनेर भनेको थियो र यही वर्ग अहिले विभिन्न नाममा (कम्युनिस्टको नाममा समेत) सत्तामा छ । यो संविधानको खारेजीसँगै यो वर्गको पनि अन्त्य आवश्यकछ । हामीलाई थाह छ गत कालमा नेपाली कांग्रेस र नेकपा एमालेको बारम्वार अमेरिकी साम्राज्यवाद वा भारतीय विस्तारवादप्रति सम्झौतापरस्त नीतिको इतिहास रहेको छ । र अहिले दाहालको नेतृत्वमा माओवादी आन्दोलनको एउटा ठूलो शक्ति एमालेमा बिलय भएर सरकार बनाउन सफल भएको छ, जसले आफूलाई कम्युनिस्ट भनिरहेको छ । यी मिलेर देशको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर प्रकारले आँच पुर्याउने काम गरिरहेका छन् ।

देशभित्र सुरक्षाको अवस्था पनि गम्भीर हुँदै गएको छ । हत्या, बलात्कार, लुटपाट, डकैती आदिका घटनाहरु बढ्दै गइरहेका छन् । बहुमतको आडमा सरकार फासिवादी बन्दै गएको छ । ओली–दाहाल सरकार अन्तर्राष्ट्रिय रुपमा कम्युनिस्टलाई सखाप पार्न गठित विवादास्पद एसिया प्यासिफिक सम्मेलन र युनिभर्सल पिस फेडरेसनजस्ता अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुलाई नेपालमा स्वागत गरेर अप्रत्यक्षरुपले नेपालका कम्युनिस्टहरु तथा राष्ट्रवादीमाथि दमनको लागि भिख मागिरहेको छ ।

यसरी नेपाली कम्युनिस्ट आन्दोलनमा अहिले दुईविपरीत धारहरु जबर्जस्त रुपले अगाडि आएका छन् । ती दुई धारमा प्रथम ओली–दाहालको ख्रुश्चेभको संशोधनवादी सिद्धान्तको वकालत गर्ने र त्यसलाई नेपालमा मदनभण्डारीको जनताको बहुदलीय जनवाद (जवज) को संशोधनवादी लाइनलाई कार्यान्वयन गर्ने धार र दोस्रो चन्द–विश्वकर्माको “वामपन्थी” संकीर्णतावादी धार । पहिलो धार जसले आफूलाई डब्बल नेकपा भन्ने गर्दछन्, उनीहरुको नेतृत्वमा सरकार छ । उनीहरुले आफूलाई मार्क्सवादी–लेनिनवादी हौं भन्ने गर्दछन् । तर उनीहरुको लागि नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त मार्क्सवादी–लेनिनवादी होइन, मदनभण्डारीको जनताको बहुदलीय जनवाद (जवज) हो भनेर भन्दछन् । के स्पष्ट हो भने मदनभण्डारीको जनताको बहुदलीय जनवाद (जवज) भनेको मार्क्सवाद–लेनिनवादका विरुद्ध अगाडि आएको ख्रुश्चेभको संशोधनवादी सिद्धान्त हो । त्यसैले ख्रुश्चेभको संशोधनवादी सिद्धान्त मान्नेहरु मार्क्सवाद विरोधी हुन्, कम्युनिस्ट होइनन ।

त्यसकारण, अहिलेको यो सरकार पनि कम्युनिस्ट सरकार होइन । त्यसका हरेक क्रियाकलापले कम्युनिस्टलाई नेपालमा जनताको नजरमा बदनाम गराउनका लागि गठित सरकार हो भन्ने सन्देश दिएको छ । उनीहरुले पार्टीको नामसित कम्युनिस्ट पदावली जोडेका छन्, तर संगसंगै साम्राज्यवाद र विस्तारवादका अगाडि र खासगरी भारतीय विस्तारवादका अगाडि आत्मसमर्पण गरेर संसदीय राजनीतिको अभ्यास गरिरहेका छन् । एकातिर यस्ता कम्युनिस्टको सरकार छ भने अर्कोतिर चन्द–विश्वकर्माको नेतृत्वको नेकपाले आफ्नो पार्टीको सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो भन्ने र बलप्रयोगको आवश्यकतावारे जोड पनि दिने गर्दछन् । त्यसैअनुसार आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाएका छन् ।

यसरी एकथरी जनताको नजरमा ओली–दाहालको डबल नेकपा कम्युनिस्ट हो भन्ने छ भने अर्कोतिर २०५२साल देखिको माओवादी आन्दोलनको विरासत चन्द– विश्वकर्माको नेकपा हो भन्ने छ । सिद्धान्त, विचार, राजनीति र कार्यदिशाको हिसाबले यी दुवै सही मानेमा कम्युनिस्ट होइनन र माओवादी त हुँदै होइनन् । किनभने पहिलोले त मार्क्सवाद–लेनिनवाद छाडिसकेको छ, दोस्रोले पनि माओवादलाई छाडेको छ र माक्र्सवादलाई पनि अहिले अवस्थामा काफी छैन, त्यसमा विकास (संशोधन) गर्ने भनेर मार्क्सवादका केही आधारभूत मूल्य मान्यतामा फेरबदल गर्ने प्रयास गरेको छ ।

यसरी चन्द र विश्वकर्मा नेतृत्वको नेकपामा सैद्धान्तिक हिसाबले काफी विचलनहरु आएका छन् । प्रथम यसले उत्तर साम्राज्यवाद अर्थात् साम्राज्यवादको अन्त्य भयो, अब विश्वमा साम्राज्यवादको अस्त्वि छैन भनेर साम्राज्यवादलाई क्रान्तिको निशानाबाट ओझेलमा पार्ने साम्राज्यवाद परस्त चिन्तन राख्ने काम गरेको छ । जब साम्राज्यवादको अस्तित्व छैन भन्छ भने त्यसले अन्तर्राष्ट्रियस्तरमा प्रधान अन्तरविरोधको बारेमा गलत व्याख्यामा पुर्याउँछ । साथै राष्ट्रिय राजनीतिमा पनि उनीहरुको जोड नेपाली समाजमा परिवर्तन आयो र परिणाम अन्तरविरोध पनि फेरिए भन्दै माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत मान्यता र नेपाली क्रान्तिको आधारभूत सिद्धान्तर दिशाबाट विमुख भएर नेपाली जनतालाई भ्रम दिने र कार्यकर्तालाई गलत मार्गतर्फ हिंडाउने अनेकौं प्रयास भएका छन् ।

मार्क्सवाद–लेनिनवाद–माओवाद र वैज्ञानिक समाजवादको चर्को कुरा गर्ने तर व्यवहारमा यसका आधारभूत मान्यताहरुको विरोध गर्नेहरु सारतः वाम खोलभित्रका दक्षिणपन्थीहरु नै हुन् । नेपाली जनता अहिले कम्युनिस्ट नामका दलाल पुँजीपति वर्गको हितमा कामगर्नेहरुको सरकारको आतङ्कका साथै वाम खोलभित्रका दक्षिणपन्थीहरुको भ्रम–आतंक दुवैको सामना गर्नु परेको स्थिति छ । नामधारी कम्युनिस्ट सरकारका विरुद्ध लडने भनेको सारतः साम्राज्यवाद र विस्तारवादका विरुद्ध लड्नु हो । सत्ताका लागि लडिने वर्गीय लडाइँ हो । वाम खोलभित्रका दक्षिणपन्थीहरुको भ्रम–आतंकका विरुद्ध लडने भनेको उनीहरुका गलत सिद्धान्त, विचार र कार्यदिशाका विरुद्ध भण्डाफोरको लडाइँ हो ।

जबसम्म पार्टीले वर्तमान विश्वको अन्तरविरोध र नेपाली समाजको वर्गविश्लेषण र क्रान्तिको चरित्रबारे सही किसिमले जानकारी राख्दैन, तबसम्म नेपाली क्रान्तिको यात्रा चन्द र विश्वकर्माको जस्तै रहस्यवादीहरुको दिशाहीन र लक्ष्यहीन हुन जान्छ । यो भनेको आजको साम्राज्यवादको सही चरित्र के हो र नेपाली क्रान्तिको आधारभूत सिद्धान्त, क्रान्तिको बाटो र त्यसको चालक शक्तिका सम्वन्धमा सही जानकारीविना कसरी क्रान्तिको मार्ग सही हुन्छ । वर्तमानमा साम्राज्यवादको अन्त्य भयो भन्नु कि त जानाजानी क्रान्तिलाई साम्राज्यवादको विरुद्धको निशानाबाट मुण्टो फर्काउनु हो या त साम्राज्यवादको वारेमा सतही जानकारी हो । अहिलेको नेपाली जनवादी क्रान्तिले यस्ता भ्रमवादीहरुसित पनि निर्मम संघर्षगर्नु परेको छ । के चाही सही हो भने अन्तर साम्राज्यवादी अन्तरविरोध नयाँ किसिमले विकसित भएको छ भन्दैमा साम्राज्यवादको सम्बन्धमा लेनिनले अगाडि सारेको धारणा अहिले पनि सही छैन भन्नु भ्रम सिवाय केही होइन ।

मार्क्सवाद–लेनिनवाद–माओवादको आवरणमा तर्क गर्ने र वैज्ञानिक समाजवाद भन्दै वैज्ञानिक विचारभन्दा बाहिर गएर “उत्तर साम्राज्यवाद”को पक्षमा ओकालत गर्नेहरु आखिरमा साम्राज्यवाद परस्तै हुन र त्यसका पछाडि दुईटा पक्ष छन्– प्रथम, कि त अध्ययन र बुझाइको अभावका कारण आजको साम्राज्यवादका बारेमा सही बुझाइ राख्न सकेको अवस्था छैन् र अन्योलता छ कि त उनीहरुमा पनि प्रचण्डको र बाबुरामको जस्तै राजनीतिक इमान्दारितको अभाव छ । जे भए तापनि क्रान्तिप्रतिको इमान्दारिता रहेमा सबैलाई सुधारको सम्म्भावना रहन्छ र चन्द–विश्वकर्माको नेकपा र मोहनविक्रमको मसाल दुवैवारे पनि सत्य हो । र नेकपा (क्रान्तिकारी माओवादी) का लागि नेपालमा देखिएको दलाल पुँजीपति वर्गको हितमा कामगर्ने कम्युनिस्टहरुको सरकारको आतङकका साथै वाम खोलभित्रका दक्षिणपन्थीहरुको भ्रम–आतंक दुवैको सामना गर्न सबैखाले अवसरवादी ज्वारभाटा विरुद्धको सङ्घर्षको स्पिरिटमा नेपाली क्रान्तिलाई अगाडि बढाउनुको विकल्प छैन ।

आखिरमा मार्क्सदेखि माओसम्मले मार्क्सवादको विकास यस्तै खालका दक्षिणपन्थी संशोधनवादीहरु र वामखोल ओढेका संकीर्णतावादीसित सम्झौताहीन सङघर्ष गरेर नै मार्क्सवादलाई विजयको शिखरमा पुर्याएको इतिहास हो ।

प्रतिक्रिया

सम्बन्धित खवर