उत्तर आधुनिक/उत्तर संरचनावादी दृष्टिमा अर्थको सौन्दर्य भन्नु शब्दको सामाजिक दायित्वबाट उद्भूत यथार्थलाई व्यक्त गर्ने निश्चित अर्थको सौन्दर्य होइन, बरु सामाजिक दायित्वबाट मुक्त अर्थको अनिश्चितता र समाधानातीत विरोधाभासको आनन्द हो जो बार्थका शब्दमा रत्यात्मक आनन्दका समकक्षी हुन्छ– माथिको छलफलबाट यस्तो निष्कर्ष निकाल्न सकिन्छ ।

हार्दिक शुभकामना !

सामाजिक दायित्वबाट मुक्त केवल रत्यात्मक खेलका स्तरमा अर्थको विद्रूपीकरण गर्नु अथवा अर्थलाई भ्रान्तिमय अवस्थामा पु¥याएर आनन्द बोध गर्नु उत्तर आधुनिकतावादी सौन्दर्यशास्त्रको पहिचान हो र वैशिष्ट्य पनि हो । वास्तवमा यो एक प्रकारले सत्यविरोधी चिन्तन मात्र होइन, शिवत्व र सुन्दरता विरोधी चिन्तन पनि हो र अन्ततः यो शून्यवाद (निहिलिज्म) नै हो । नकारात्मक ध्वंश नै यसका लागि सौन्दर्यको आधार हो भन्ने स्पष्ट हुन्छ ।

क्रान्ति र प्रगतिको महाख्यानामा यसले सौन्दर्य बोध गर्दैन । नायकीय उदात्तता र मूल्यगत आदर्श पनि यसका लागि सुन्दर छैन । यसले हरेक महानतालाई विदा गर्छ र सामान्यता तथा न्यूनतालाई सम्भव बनाउँदै त्यसमा आनन्द देख्छ । प्रातिनिधिकता, प्रारुपीकरण र उदात्ततामा यसका लागि सौन्दर्य छैन ।

दार्शनिक दृष्टिले विपरीतहरुको एकत्वमा यसले सौन्दर्य देख्दैन अपितु अनन्त विरोधमा मात्र सौन्दर्य देख्छ । विरोधको यस्तो अनन्तता जहाँ सामाजिक अन्तर्विरोधका केन्द्रहरु भत्किन्छन् र विरोधको मूर्तन होइन, अमूर्तन हुन पुग्छ, त्यसको भौतिकता उपेक्षित हुन्छ र केवल दार्शनिक अवधारणा मात्र बाँकी रहन्छ । अन्ततः ‘नेति नेति’को अवस्थामा पुर्याएर यसले रचना/पाठ/कलालाई कामुक वस्तुमा रुपान्तरित गर्दछ जसको उपयोगितात्मक मूल्य बाँकी रहँदैन, उपभोक्तावादी मूल्य मात्र बाँकी रहन्छ ।

अर्को शब्दमा उत्तर आधुनिक कला अन्य वस्तु झैं बिक्रीको/उपभोगको वस्तु बन्न पुग्छ । त्यसको अन्तर्वस्तु होइन, बिक्री र नाफाको परिमाण त्यसको उत्कृष्टता/सफलताको आधार बन्न पुग्छ । अर्थात् कलको कमोडिफिकेसन सौन्दर्यको आधार बन्न पुग्छ । स्वभावतः त्यसका लागि लेखनमा/सिर्जनामा कामुक उत्तेजना आवश्यक पर्छ । अहिलेको उपभोक्तावादी समाजमा ‘अपोलिनियन’ सङ्गति र शौम्यता होइन, डायोनिसियन कामुकता, उत्तेजना, स्वच्छन्दता र सङ्गतिहीनता बढी काम्य र बिकाउ छ । यही अहिलेको उत्तर आधुनिक लेखनको प्रवृत्ति हो र पहिचान पनि हो ।

आधुनिकता र उत्तर आधुनिकता बिच मुख्यतः बन्द र खुला रूप विधान अथवा विधा र विधा भञ्जन, उद्देय र खेल, योजना र संयोग, श्रेणीबद्धता र अराजकता, कलात्मक आङ्गिक पूर्णता र प्रक्रिया/प्रदर्शन, उपस्थिति र अनुपस्थिति, केन्द्रण र विकेन्द्रण, गहिराइ र सतह, विधागत निर्माण र पाठ–अन्तर्पाठ रचना, मूल–कारण र भिन्नता– भेद, निश्चितता र अनिश्चितता, संश्लेषण र विश्लेषण, महाख्यान र महाख्यानहीनता, पठन र विपठन लगायतका द्विचर विरोधी युग्मकमा भिन्नता देख्न सकिन्छ । यी द्विचरमा आएका उत्तर पदहरू उत्तर आधुनिकताका अभिलक्षक सूचकहरू हुन् ।

उपसंहार : कला एवं कला चिन्तनको नेपाली समकालीनता र सत्यम्, शिवम् तथा सुन्दरम्

कलाले सत्य मात्र व्यक्त गर्दैन, त्यसले सुन्दरम्का तत्वको साहचर्यमा शिवम् (अर्थात् शुभम्, कल्याण, लोकहित, परिवर्तनको आदर्श को कार्य पनि गर्दछ । कलाको प्रयोजन केवल आनन्द (अझ स्वान्तः सुखाय) मात्र हुँदैन । मार्क्सका भनाइलाई सम्झिँदा संसारको संज्ञान मात्र होइन, त्यसलाई बदल्नका लागि सहयोगी हुनु पनि कलाको प्रयोजन हो । यसरी हेर्दा कलाले सुन्दर कुरुप यथार्थको बोध मात्र गराएर शान्त हुनु हुँदैन, त्यसले कुरुपतालाई बदल्नका लागि सुन्दरका साहचर्यमा वैचारिक ऊर्जा पनि सम्पे्रषण गर्नु पर्दछ ।

यसो गर्दा त्यस्तो कलामा इतिहासका महत्तम प्रगति र प्राप्तिप्रति गौरव बोध र वर्तमानका अन्तर्विरोधको भेदन अनि द्वन्द्वजन्य यथार्थको पुनः सिर्जनसँगै परिघटना र पात्रको उदात्तीकरण आवश्यक पर्छ । त्यस्तो कलामा द्वन्द्व र विरोधको केन्द्रण हुन्छ र सङ्गति हुन्छ । त्यसले समाजको निश्चित वर्गीय संरचनालाई उद्घाटित गर्दछ र त्यसमा चल्ने /चलि रहेका द्वन्द्वहरुको अमूर्त होइन, मूर्त र प्रातिनिधिक अभिव्यक्ति गर्दछ । आजको कलाले यो दायित्व निर्वाह गरेर मात्र साँचो अर्थमा सुन्दर र सार्थक हुन सक्दछ ।

उत्तर आधुनिक कला यसका प्रतिध्रुवमा उभिएको छ । इतिहासका महानता र भव्यताको विदाइ गर्दै अनन्त विरोधका नाममा यसले सामाजिक आर्थिक अन्तर्विरोध र उत्पीडन तथा वर्ग द्वन्द्वको मूल पक्षलाई अमूर्त बनाएर अथवा त्यसका समानान्तरमा खण्डित स्थानिक द्वन्द्वलाई महत्व दिएर द्वन्द्वको मूल पक्षलाई स्थानापन्न गर्छन् । उत्तर आधुनिकतावादी र उत्तर मार्क्सवादी दुवैले पहिचान र स्थानीयताको मुद्दालाई महत्व दिएर उत्पादन सम्बन्धमा चलि रहेको मूल द्वन्द्वलाई या त पुरै उपेक्षा गर्छन् या त त्यसको विद्रूपीकरण गर्छन् ।

समकालीन नेपाली आख्यानको कुरा गर्दा आकाश गङ्गाको तीरैतीर, दुर्भिक्ष, सुकरातका पाइला, घनचक्कर, पल्पसा क्याफे, छापामाारको छोरो आदि त्यस्तै प्रकृतिका आख्यानहरु हुन् । प्रतिनिधित्व र पहिचानको सन्दर्भ प्रस्तुत गरेर यिनले यथार्थको निकै रोमाञ्चक प्रस्तुति गरेको दावी त गर्छन् तर बौद्रिलार्दले भने झैं ती कपी विदाउट ओरिजनल हुन् । तिनले गतिशील यथार्थको मूल पक्षलाई उपेक्षा या विद्रूपीकरण गरेका छन् । अनि त्यसमा पनि जे प्रस्तुत गरिएको छ, त्यसलाई बजारमा अधिकतम बिक्रीयोग्य माल बनाएर प्रस्तुत गरिएको छ ।

कला रचना र कला चिन्तनका क्षेत्रमा आजको मूल सङ्घर्ष यसै धार र प्रवृत्तिसँग छ । नेपाली कला साहित्य र सिङ्गो सांस्कृतिक आन्दोलनभित्र एकातिर सामाजिक दायित्व बोधी सिर्जना र चिन्तनको धार (मार्क्सवादी/यथार्थवादी धार) क्रियाशील छ भने त्यसका समानान्तरमा कलाको बजारीकरण गर्दै यथार्थको विद्रूपीकरण गर्ने र सामाजिक द्वन्द्व तथा अन्तर्विरोधको मूल पक्षलाई ओझेलमा पार्ने उत्तर आधुनिक/उत्तर मार्क्सवादी धार पनि क्रियाशील छ र त्यसलाई बिग हाउसहरुले कमोडिटीको राम्रै वस्तु बनाएर पस्किने कम समेत गरि रहेका छन् ।

कला सिर्जना र चिन्तनका क्षेत्रमा आजको मुख्य सङ्घर्ष कलाको बजारीकरणको प्रवृत्ति लिएर सक्रिय रहेको जीवन र कलाकै विरोधी यही उत्तर आधुनिकतावादी चिन्तन र संस्कृतिका विरुद्ध जारी छ र सँगसँगै मार्क्सवादका आवरणमा मार्क्सवादी शिविरभित्रै पसेर मार्क्सवादलाई ध्वस्त पार्ने प्रयत्न जसरी भइ रहेको छ र त्यसका अगाडि समर्पणको जुन प्रवृत्ति देखा पर्दै छ, त्यसका विरुद्ध पनि सङ्घर्ष आवश्यक छ ।

सत्य, शिव र सुन्दरको स्थापना र रक्षाका लागि असत्य, अशिव र कुरुपका विरुद्ध यो दोहोरो सङ्घर्ष गर्नै पर्ने छ । सिर्जना र चिन्तनका क्षेत्रमा यस प्रकारको सङ्घर्षद्वारा समग्र सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनु आजको आवश्यकता र दायित्व दुवै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर