मुलुक संकटग्रस्त बाटोमा :

नेपालमा विगत आठ महिनादेखि कथित कम्युनिष्ट पार्टी नेकपा (नेकपा) को दुईतिहाई बहुमतको सरकार चलिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका साथ आर्थिक क्रान्ति सम्पन्न गरी समाजवादमा पुग्ने लक्ष्य यो सरकारले घोषणा गरेको छ । तराइमा उठेको मधेसीको आन्दोलनको समर्थनमा भारतले गरेको ६ महिने नाकाबन्दीमा खड्गप्रसाद ओलीले आफूलाई कथित राष्ट्रवादीका रुपमा प्रस्तुत गरेर संसदमा दुईतिहाई पुर्याउन सफल भएका थिए ।

तर सरकार गठनपछि प्रम खड्गप्रसाद ओलीले आठ महिनाको सुरुआती कार्यकालमा नै उनको राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि खेलेको भूमिकाले यो सरकारको प्रतिगामी अनुहार छर्लंग भएको छ र अरु हुनेवाला छ ।

राष्ट्रिय स्वाधीनता :

कथित राष्ट्रवादी नेता खड्गप्रसाद ओलीले भारत भ्रमणमा जाँदा कोशी नदीमा उच्च बाँधबाँध्ने र अरुण तेस्रो आयोजना भारतलाई सुम्पने काम गरे । योसँगै अरुण तेस्रो परियोजना निर्माणका लागि ओली–मोदी संयुक्त उद्घाटन गर्ने सहमतिसमेत गरे । भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा यी दुई नेताले काठमाडौंस्थित होटेल द्वारिकामा स्वीच थिचेर पूरा गरेका थिए ।

उक्त संझौताले बिजुली उत्पादन भएपछि बिजुली सञ्चालनको ग्रिड भारतीय भूमिमा राख्ने काम गरेको छ । यसले नेपालमा उत्पादित विजुली भातले सञ्चालन गर्ने अधिकार दिएको छ । भारतीय प्रधानमन्त्री नेपालको जनकपुर भ्रमणमा आउँदा नेपाली सेनाको सुरक्षालाई हाँक दिंदै आफ्नै भारतीय ‘कमाण्डो फोर्स’ जकपुरमा तारिएको थियो ।

नेपालको नक्सा हालसम्म भारतले बनाउने गरको छ । अहिले नेपालमा ल्याइएको पछिल्लो नक्सा, जो नेपालको कालापानीको मुहान लिम्पियाधुरा र लिपुलेकको भागलाई भारतमा गाभेर बनाइएको छ । राष्ट्रपति, प्रधानमन्त्री कार्यालयदेखि सेना, प्रहरी र स्थानीय निकायका कार्यालयहरुसम्म इज्जतपूर्वक टाँसिएका छन् । यसरी कथित राष्ट्रवादी सरकारले देशभक्तिलाई उपहासको विवषय बनाएको छ ।
लोकतन्त्र :

२०६२,०६३ को ऐतिहासिक जनआन्दोलनको राप र तापबाट निर्माण गरिएको अन्तरिम संविधानको भावना र मर्मलाई उल्ट्याउन पहिलो संविधानसभामाथि ‘कु’ गरी २०७२ मा ल्याइएको कथित संविधानभा दुईद्वारा निर्मित संविधान आफैंमा पश्चगामी संविधान हो । यो संविधानले धर्म निरपेक्षता, पहिचानको संघीयता र समानुपातिक समावेशितालाई नाम मात्रको तर उल्लुको रुपमा प्रस्तुत गरेको छ । यतिले मात्र नपुगेर यो संविधानले दिएको धर्मनिरपेक्षता, र संघीयतालाई सिध्याउने अभिव्यक्ति खुदै प्रधानमन्त्रीले बेलाबखत दिने गरेका छन् ।

हिन्दु राज्यमा राजाले गर्ने व्यवहार धर्म निरपेक्षका राष्ट्रपतिले गर्दै आएका छन् । दसैंमा दुर्गाा भवानीको प्रसाद ‘टीका’ राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रहरी प्रमुख, सचिव आदिले लगाई निरन्तरता दिने काम गरेका छन् । नेपाली जनताको पेट काटेर उठाएको करबाट कर्मचारीलाई दसैं खर्चवापत् एक महिनाको तलव भनेर ६अर्ब ५० करोड रुपैयाँ वितरण गरिएको छ । प्रधानमन्त्रीले दसैं खर्चका नाममा ५० करोड रुपैयाँ बाँडेका छन् । तसर्थ, यो संविधान र त्यसलाई लागु गर्ने सरकारले वास्तवमा लोकतन्त्रलाई उपहास गरेको अवस्था छ ।

जनजीविकाको प्रश्न :

कथित कम्युनिष्टको सरकारले देशमा निजीकरण, व्यापारीकरणलाई प्रोत्साहन गरिरहेको छ । साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीलाई भित्र्याएको भूमण्डलीकरणको नीतिले मुलुकमा उद्योग धन्दाको विकास हुन सकेको छैन । बेरोजगारी बढेको कारण युवा शक्ति विदेशिन परेको अवस्था, व्यापार घाटा बढेको, मूल्यवृद्धि भएको, करवृद्धि भएको, भूमाफियातन्त्र चलेको र सिण्डिकेटका कारणले नेपाली जनता आक्रान्त बनेको अवस्था कायम छ ।

देशमा दुईतिहाईको दम्भसहित चलिरहेको सरकार यसका नेताहरु अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद आदि शक्तिहरुको चलखेल र निर्देशनमा रमाइरहेको छ । यो आफैंमा पश्चगामी र जनविरोधी सरकार भएकाले यसले देशघाती र जनविरोधी गतिविधिहरुलाई प्रोत्साहन गरिरहेको छ ।

वैकल्पिक शक्तिका रुपमा क्रान्तिकारी माओवादी :

हाम्रो पार्टीले नेपालको वर्तमान सामाजिक–आर्थिक संरचनालाई अर्धसामन्ती अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्थामा रहेको ठहर गरेको छ । यो अवस्थाको राज्यसत्ता साम्राज्यवादी तथा विस्तारवादी शक्तिका दलाल तथा नोकरशाही पुँजीपति वर्ग र पराजित सामन्त वर्गको हातमा रहेको छ । कथित कम्युनिष्ट एमाले र माके र कथित डेमोक्र्याट नेपाली कांगे्रसले बनाएको संविधान २०७२ संसद र नेकपाको सरकारले त्यही वर्गको सेवा गर्दछ ।

तसर्थ, अहिलेको नेपालको प्रजातन्त्र भनेको भारतीय प्रसिद्ध वाम लेखिका अरुन्धती रोयको शब्दमा ‘डेमन क्रेसी’ अर्थात् ‘राक्षसको राज’ हो । यस प्रकारको राजमा मजदुर, किसान, आदिवासी, जनजाति, दलित, महिला, मधेसी, हली, गोठाला, सुकुम्बासी आदिका हकहितका कुरा कहाँबाट आउँछ ? जनताको प्रजातन्त्रले मात्र वास्तविक जनताको र मुलुकको हकहितको रक्षा गर्न सक्छ । त्यस प्रकारको प्रजातन्त्र ल्याउनका लागि नेकपा (क्रान्तिकारी माओवादी) प्रयत्नरत छ ।

विद्यमान दलाल तथा नोकरशाही पुँजीपति वर्गको राज्यसत्तालाई सशस्त्र विद्रोहबाट फ्याँकेर नयाँ जनवादी राज्यसत्ता कायम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्नलाई हल गर्ने र समाजवादी समाज निर्माण गर्नेतर्फ अघि बढ्ने लक्ष्य र कार्यक्रम हाम्रो पार्टीको भएकाले यसलाई क्रान्तिकारी पार्टी भनिएको हो । त्यसैले यो पार्टी संसदको पक्ष वा प्रतिपक्ष पार्टी नभएर विद्यमान राज्यसत्ताकै विकल्प पार्टी हो ।

यो पार्टीले अहिले के गर्न सक्छ ? :

साम्राज्यवाद र विस्तारवादको दलाल बनेको यो सरकारबाट आठ महिनाभित्रै नेपाली जनता नराश हुन पुगेका छन् । उनीहरुले यसको विकल्प खाजिरहेका पनि छन् । संसदमा प्रतिपक्ष रहेका पार्टीहरुको पनि कुनै काम छैन र देखिदैन । यो लोकतन्त्र मजदुर, हली, गोठाला, सुकुम्बासी, किसान, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिला र दति लगायत्का उत्पीडित वर्ग र जनसमुदायको लोकतन्त्र नभएको कुरामा उनीहरु प्रष्ट हुँदै गएका छन् । यो अवस्थामा हाम्रो पार्टीको केन्द्रीय समितिको यो वैठकबाट नेपाली जनताले के आशा गर्न सक्दछन् ? खुदै पार्टीले विकल्प कसरी प्रस्तुत गर्ला ? यो अत्यन्त महत्वको प्रश्नको जवाफ दिनसके पार्टीको भविष्य छ, नत्र जुन जोगी आए पनि कानै चिरेका हुने छ ।

तर अहिले बस्दै गरको केन्द्रीय समितिको वैठकले प्रश्नको जवाफ दिने प्रयास गरेको छ । अहिलेसम्म यो पार्टीले संगठन–संगठन–संगठन अर्थात् संगठन निर्माणमा मात्र जोड दिंदै आएको थियो । अब राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित आधारभूत जल्दाबल्दा सस्याहरुलाई लिएर जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षलाई अघि बढाउने निर्णय लिएको छ ।

सैद्धाान्तिक रुपमा मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीको मूल नीति, कार्यक्रम तथा कार्यदिशा र जनवादी क्रान्तिको तयारीको काममा केन्द्रित रही वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र सरकारको विरोध तथा भण्डाफोरको राजनीतिक कार्यक्रम अघि बढाउनु पर्छ ।

उक्त सैद्धान्तिक राजनीतिक कार्यदिशालाई अघि बढाउन संयुक्त मोर्चा तथा जनवर्गीय मोर्चाहरुले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको समस्यालाई लिएर संघर्ष सञ्चालन गर्ने र पार्टीद्वारा मूलतः वर्गसंघर्ष र प्रतिरोध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । संगठन र संघर्षसम्बन्धी कामको आगामी ६ महिने कार्य तालिका बनेको छ । उक्त तालिकाभित्र युवा शक्तिको विशेष प्रदर्शन र देजमोको जनशक्ति प्रदर्शनसहितको राष्ट्रिय सम्मेलन र आम हडताल दिनेसम्मको कार्यक्रम बनेको छ ।

आज जनताले नेकपा (क्रान्तिकारी माओवादी) प्रति आशा जगाएको अवस्था तर खुदै पार्टीले संघर्षका ठूला कार्यक्रमहरु दिन नसकेको स्थिति अब तोडिने छ । संघर्षद्वारा संगठन विस्तार र संगठनको बलमा संघर्ष दिने काम हुने छन् । वर्तमान राज्यसत्ताको विकल्प तर्फको यो पाइला प्रभाकारी र जनअपेक्षाअनुरुप हुँदै जाने कुरामा पार्टी कार्यकर्ताहरुको गंभीर प्रयासको खाँचो अबको आवश्यकता बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर