इन्टरनेट प्लेटफर्मको डरलाग्दो पाटो

इन्टरनेट प्लेटफर्मको डरलाग्दो पाटो

हामीलाई चेतावनी दिइएको थियो । उद्यमी पुँजीपति तथा नेटस्केपका संस्थापक मार्क एन्ड्रिसनले सन् २०११ मा ‘सफ्टवेयरले कसरी विश्वलाई निल्दै छ’ भन्ने शीर्षकको निबन्ध लेखेका थिए । त्यतिवेला सो निबन्ध निकै पढिएको थियो । यद्यपि, हामीले एन्ड्रिसनलाई गम्भीरतापूर्वक लिएनौँ । उनको लेखनलाई एउटा भ्रमका रूपमा मात्र लियौँ । तर वास्तविकता, अहिले इन्टरनेट प्लेटफर्म एकाधिकारको मुखबाट विश्वलाई बाहिर निकाल्ने कठोर चुनौतीको सामना हामीले गर्नु परिरहेको छ ।

एक समय म प्रविधिप्रति निकै आशावादी हुने गर्थें । मैले ३५ वर्षसम्म सिलिकन भ्यालीमा आफ्नो करिअर लगानी गर्ने अवसर पाएँ । पर्सनल कम्प्युटर, मोबाइल कम्युनिकेसन, इन्टरनेट र सोसल नेटवर्किङ उद्योगमा काम गर्ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । करिअरको सुरुवाती दिनमा गुगल र अमेजनमा काम गर्ने मौका पाएँ । सन् २००६ देखि २०१० सम्म फेसबुकका संस्थापक मार्क जुकरबर्गको मेन्टरका जिम्मेवारी वहन गरेँ । प्रविधिको प्रत्येक नयाँ लहरले उत्पादन र ज्ञानप्रतिको पहँुच बढाएको छ । हरेक नयाँ प्लेटफर्म प्रयोग गर्न सहज र सुविधाजनक थिए । प्रविधिले विश्वव्यापीकरण र अर्थतन्त्रलाई ऊर्जावान् बनायो । दशकौँसम्म, प्रविधिले विश्वलाई अझ राम्रो स्थान बनाएकै थियो । प्रविधिले विश्वलाई सदैव सहज बनाउने अपेक्षा हाम्रो थियो ।

तर, सन् २०१६ मा इन्टरनेटले हामीसामु दुइटा डरलाग्दो पक्ष देखाइदियो । पहिलो पक्ष, व्यक्तिगत प्रयोगकर्तासँग सम्बन्धित छ । एलटिई मोबाइल पूर्वाधारले पहिलोपटक ‘कन्टेन्ट डेलिभरी प्लेटफर्म’ बनाइदियो, जुन प्रयोगकर्ताका लागि हरक्षण उपलब्ध हुन थाल्यो । परिणामस्वरूप, यस्तो प्लेटफर्मले प्रविधि उद्योग र विश्वका दुई अर्ब मोबाइल प्रयोगकर्ताको जीवनलाई नयाँ स्वरूपमा रूपान्तरण ग¥यो । विश्वस्तरमा थोरै वा शून्य नियमन संयन्त्र भएको स्थितिमा प्रयोगकर्तालाई मानसिक लतमा फसाउन फेसबुक, गुगल, अमेजन, अलिबाबा र टेन्सेन्टजस्ता प्रविधि कम्पनीले प्रोपगान्डा तथा क्यासिनोमा प्रयोग हुने टेक्निक्सको प्रयोग गर्न थाले ।

उनीहरूले नियमित नोटिफिकेसन र विभिन्न ‘रिवार्ड’का माध्यमबाट प्रयोगकर्तालाई आफ्नो प्लेटर्ममा अल्झाइरहेका छन् । यसैगरी, भूराजनीतिका रूपमा अर्को डरलाग्दो पक्ष देखिएको छ । अमेरिका, पश्चिमी युरोप र एसियामा इन्टरनेट प्लेटफर्म (विशेषतः फेसबुक) शक्ति सम्पन्नका लागि कम राजनीतिक शक्ति भएकालाई दबाउन तथा शक्तिमा रहेकाको स्वार्थअनुरूप विदेश नीति लागू गर्न तथा व्यापार बढाउन हतियारका रूपमा प्रयोग भएका छन् ।

प्रजातन्त्रलाई अवमूल्यन गर्न कुन हदसम्म सामाजिक सञ्जालको दुरुपयोग हुन सक्छ भन्ने उदाहरण युरोप र अमेरिकामा सम्पन्न पछिल्ला निर्वाचनले छर्लंग देखाइदिएका छन् । सन् २०१६ मा सम्पन्न संयुक्त अधिराज्य बेलायतको ब्रेक्जिट जनमत संग्रह र अमेरिकी राष्ट्रपति निर्वाचन अभियानका सन्दर्भमा फेसबुकले सकारात्मक सन्देशभन्दा नकारात्मक सन्देशलाई बढी प्रोत्साहन गरेको पाइयो । यस अर्थमा अधिनायकवादी सरकारले दमनकारी नीतिमाथि जनसमर्थन हासिल गर्न फेसबुकको प्रयोग गर्न सक्ने खतरा देखिएका छन् । बर्मा, कम्बोडिया, फिलिपिन्सलगायत अधिनायकवादी सत्ताले यस हिसाबमा फेसबुकको दुरुपयोग गरेका उदाहरणलाई लिन सकिन्छ । कुनै अवस्थामा त फेसबुकले आफ्ना ठूला क्लाइन्टलाई विज्ञापन वा अन्य माध्यमबाट सहयोग गरेझैँ यस्ता अधिनायकवादी सरकारलाई पनि सहयोग उपलब्ध गराउँदै आएको छ ।

फेसबुक, गुगल र अन्य मुख्य इन्टरनेट प्लेटफर्मका संस्थापकले आफ्नो प्लेटफर्मको सञ्चालन थाल्दै गर्दा र बिजनेस मोडल अपनाउँदै गर्दा उनीहरूको प्लेटफर्मले समाजलाई यसरी हानि पु¥याउला भन्ने कोणबाट पक्कै सोचेका थिएनन् । सम्बन्धित प्लेटमर्फ सुरु गर्दा संस्थापकहरू युवा उद्यमी थिए, जो सफलताका भोका थिए ।

अनलाइन विश्वलाई संगठित गरेर विशाल अडियन्स बनाउन उनीहरूले वर्षौं समय खर्च गरे । आफ्ना अग्रजको प्लेटफर्मभन्दा अझ व्यक्तिगत र सुविधाजनक एप्लिकेसन बनाउन उनीहरू लागिपरे । र, अन्ततः बल्छीमा माछो परेझैँ प्रयोगकर्ताहरू उनीहरूका प्लेटफर्ममा फसेपछि प्लेटफर्मलाई पैसा कमाउने भाँडोका रूपमा प्रयोग गर्न थाले । उनीहरूले रोजेको विज्ञापन बिजनेस मोडल ‘पर्सनलाइजेसन’मा आधारित थियो । यसरी विज्ञापनदाताले आफ्नो विज्ञापनलाई व्यापक लक्षित वर्गसम्म पु(याउन सक्ने भए ।

यसपछि, स्मार्टफोनको प्रयोग सुरु भयो । स्मार्टफोनले सबै मिडियालाई रूपान्तरित गरिदियो भने फेसबुक, ट्विटर र गुगलजस्ता प्लेटफर्ममा हुने सूचना प्रवाहलाई प्रयोगकर्ताले नियन्त्रण गर्न थाले । इन्टरनेट प्लेटफर्म्भित्र हुने सूचना प्रवाहमाथि प्रयोगकर्ताको नियन्त्रण बढेसँगै यसले जनसंख्याको ध्रुवीकरणलाई बढावा दियो भने आधारभूत प्रजातान्त्रिक निकाय (मुख्यतया स्वतन्त्र प्रेस) को औचित्यलाई कमजोर बनाइदियो । यसकारण, प्रजातन्त्रका दुस्मन अधिनायकवादी सरकार मात्र नभई समाजका लागि हानिकारक तत्वहरूले समेत इन्टरनेट प्लेटफर्मको दुरुपयोग गर्न थाले ।

एन्ड्रिसनले दिएको चेतावनीजस्तै यी इन्टरनेट कम्पनीले विश्वव्यापी महत्वाकांक्षा र पहुँचका आडमा विश्व अर्थतन्त्रलार्ई समेत निलिरहेका छन् । यस प्रक्रियाका लागि इन्टरनेट कम्पनीले फेसबुकको कर्पोरेट आदर्शलाई पछ्याएका छन् । तर, उनीहरूको कदमले जनमानस, सामाजिक निकाय र प्रजातन्त्रलाई कस्तो असर गर्छ भन्ने हेक्का बिल्कुलै राखेका छैनन् ।

विकसित विश्वका अल्पसंख्यक नागरिक यस्ता प्लेटफर्मले सिर्जना गरेका झुटा डिजिटल वास्तविकतामा अल्झिएका छन् भने यहाँ देखिएको आस्था झनै संकुचित र उग्र भन्दै गएको छ । पूर्वगुगल नीतिशास्त्री ट्रिस्टन ह्यारिसका अनुसार इन्टरनेट प्लेटफर्मले अमेरिकाको एकतिहाई युवा जनसंख्याको ‘ब्रेन ह्याकिङ’ गरेका छन् ।

यसर्थ, ब्रेन ह्याकिङमा पर्ने युवाको मस्तिष्कलाई इन्टरनेट प्लेटफर्मले आफ्नो स्वार्थमा प्रयोग गरिरहेका छन् । यो खतराको सामना गर्न पश्चिमा प्रजातन्त्रले अहिलेसम्म पनि कुनै तयारी थालेको छैन । इन्टरनेट प्लेटफर्म नियमन गर्न अमेरिकासँग एकातर्फ कुनै नियमन संयन्त्र छैन भने अर्कातर्फ आवश्यक संयन्त्र विकास गर्ने राजनीतिक इच्छाशक्ति पनि देखिएको छैन ।

युरोपेली युनियनले चाहिँ इन्टरनेट प्लेटफर्म नियमनको संयन्त्र बनाएको छ भने त्यहाँ राजनीतिक इच्छाशक्ति पनि देखिएको छ । यद्यपि, विद्यमान चुनौती सामना गर्न युरोपेली संयन्त्र पनि पर्याप्त छैन । गुगलले अस्वस्थ प्रतिस्पर्धा गरेको ठहर गर्दै युरोपेली युनियनले केही महिनाअघि गुगललाई दुई अर्ब ७० करोड अमेरिकी डलर जरिवाना घोषणा गरेको थियो । यद्यपि, इयूको जरिवानामाथि पुनरावेदनको माग गुगलले गरेको छ । यो सकारात्मक सुरुवात थियो, तर पर्याप्त थिएन ।

अहिले हामी गम्भीर घडीमा छौँ । इन्टरनेट प्लेटफर्मले ल्याउन सक्ने खतराबारेको जनचेतना सानो जगबाट बढ्न थालेको छ । तर, यी प्लेटफर्ममाथिको लतको खाडल यति गहिरिएको छ कि यसबाट निस्कन अर्को पुस्ताको प्रयोकर्तासम्म पर्खनुपर्ने हुन सक्छ । धूम्रपानविरुद्धको अभियानले लिने समय यस लतबाट बाहिर निस्कन लाग्नेछ । तर, लोकतन्त्रका लागि इन्टरनेट प्लेटफर्म कति खतरनाक हुन सक्छन् भन्ने तथ्यहरू बाहिर आइरहँदा लोकतन्त्र रक्षार्थ पश्चिमा सरकारले रक्षात्मक तथा नियमन संयन्त्र विकास गर्न सकेका छैनन् ।

यसर्थ, इन्टरनेट प्लेटफर्मको एकाधिकारविरुद्ध कदम चाल्न ठोस प्रयास गरिनु आवश्यक छ । इन्टरनेट प्लेटफर्मले सार्वजनिक स्वास्थ्यमाथि गर्न सक्ने हानिलाई पनि मध्यनजरमा राख्न उत्तिकै जरुरी छ । यसैगरी, सोसल मिडियालाई धूम्रपान तथा मद्यपानको कुलतकै रूपमा लिएर प्रयोकर्तालाई जागरुक गर्न चेतनामूलक शिक्षा र नियमनकारी व्यवस्थाको प्रत्याभूति गरिनुपर्छ । (इनयाँपत्रिका डटकमबाट)